s

कोरोना प्रकोप : कोरियामा ७ जनाको मृत्यु, ७ सय बढी संक्रमित

देशैभर उच्च सतर्कता घोषणा

गोकुल थोकर

सोल — दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सतर्कता बढाएको छ । राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’ मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन् ।

‘सरकारले विज्ञका सुझावका आधारमा भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता बढाएको छ,’ राष्ट्रपति मुनले भने । सन् २००९ को सार्स महामारीका बेला पनि सरकारी तवरमै सतर्कता बढाइएको थियो । सरकारी घोषणासँगै अस्थायी रूपमा विद्यालय बन्द गर्न र सार्वजनिक यातायातका साधनका साथै उडानका संख्या कटौती गर्नअधिकारीहरुलाई सजिलो हुनेछ। दक्षिण कोरियामा सोमबार बिहानसम्म७ सय६३ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने७ जनाको मृत्यु भएको छ । आइतबार मात्रै थप १६१ जनामा काेराेनाकाे सक्रमण देखिएको छ।

नेपालीको दैनिकी प्रभावित

कोरोना संक्रमण फैलिन थालेदेखि दक्षिण कोरियामा बस्ने नेपालीको दैनिकी प्रभावित भएको छ । चीनबाट कच्चा पदार्थ आयात गर्ने र उत्पादन निर्यात गर्ने केही कम्पनी बन्द भएका छन् भने केही साताको दुई तीन दिन मात्रै सञ्चालित छन् । यस्ता कम्पनीमा काम गर्ने नेपाली दिनभर कोठामै बस्नुपर्दा वाक्क लागेको बताउँछन् । कम्पनीमै दिन कटाउनेमध्येमा पर्छन्, चितवनका शिवशंकर महतो । गाडीमा तेल हाल्ने पाइप निर्माण हुने उनी कार्यरत कम्पनीमा चीनबाट कच्चापदार्थ आयात हुने गरेकामा कोरोना संक्रमण फैलिएसँगै रोकिएको छ ।

कुनै सामान आयात भएका छैनन् । त्यसैले कम्पनीमा काम छैन । ‘काम नगरेको दुई साताभन्दा बढी भइसक्यो । बस्दा बस्दा वाक्क लाग्छ । बाहिर जान पाइएको छैन,’ महतोले भने । कम्पनीले काम नभएका दिनलाई कामदारको भइपरी आउँदा पाउने बिदामा कटौती गर्ने भनेकाले उनलाई चित्त नबुझे पनि उनले केही भनेका छैनन् ।

कोरोना भाइरसको केन्द्र मानिएको छाङ्दोस्थित एउटा कम्पनीमा काम गर्छन्, यम श्रीसमगर । उनको कम्पनी र छाङ्दो थेनम अस्पताल २० मिनेट पैदल दूरीमा छ । केही दिनअघि एकजना कोरोना संक्रमितको मृत्यु भएको उक्त अस्पताल नजिकैको छाङ्दो बजार उनीहरूको सामान किन्ने ठाउँ हो । यसकारण पनि उनको मनमा एक खालको डर प्रवेश गरेको छ । ‘हावा चल्दा पनि रोगको कीटाणु आयो कि जस्तो हुन्छ । वनको बाघले नखाए पनि मनको बाघले खान्छ भनेजस्तै भइरहेको छ ।’

महतोको कम्पनीजस्तो यमको कम्पनी पूर्ण रूपमै बन्द भइसकेको भने छैन, बेसिक काम भइरहेका छन् । कम्पनीले भाइरस नफैलियोस् भनेर रोकथामका विविध उपाय पनि अपनाएको छ । बिहान जाँदा सबैको ज्वरो हेरिन्छ । काम सुरु गर्नुअघि अल्कोहलयुक्त झोलले हात धुनु लगाइन्छ । काम गर्दा माक्स अनिवार्य छ । खाना खाँदा एउटै टेबलमा दुई जनाभन्दा बढी बस्न पाइँदैन । कोठामा पनि अनिवार्य मास्क लगाउनैपर्छ । सातामा एक पटक कोठा र कम्पनीमा भाइरसविरुद्धको ‘ग्यास’ छर्किने गरिएको छ । ‘यो सबै देख्दा रोग नलाग्ला जस्तो लाग्छ तर समाचार हेर्‍यो कि डर लाग्छ,’ उनी बताउँछन् ।

महतोको जस्तै हाल छ, युद्ध सलामीको पनि । बुसान नजिकै रहेको उनको कम्पनीमा गत साता तीन दिन मात्रै काम भयो । ‘हाम्रो कम्पनीलाई चाहिने सामान चीनबाट आउँछ रे । त्यही भएर काम छैन भन्छन् ।’ छुट्टी बसेको दिन कामदारले पाउने भइपरी बिदाबाट कटौती हुन्छ । ‘हामीलाई चाहिएको बेलामा प्रयोग गर्न पाइने बिदा कम्पनीले जबरजस्ती सही गराएर लगेको छ । कहिलेसम्म यसरी चल्छ थाहा छैन,’ सलामीले बताए । दक्षिण कोरियामा कामदारले वार्षिक रूपमा १५ दिन भइपरी बिदा पाउँछन् ।

सुरक्षित बस्न आग्रह

दक्षिण कोरियास्थित नेपाली दूतावासले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सबै नेपालीलाई सुरक्षित तरिकाले बस्न आग्रह गरेको छ । उसले अवैधानिक रूपमा बसेकालाई पनि कोरोनाको शंका लागेमा स्वास्थ्य परीक्षणमा जान भनेको छ ।

‘हामीलाई यहाँको अध्यागमन विभागले अवैधानिक रूपमै बसेको भए पनि कोरोनाको उपचारमा कुनै प्रकारको अप्ठ्यारो नहुने व्यवहोराको पत्र पठाएको थियो । हामीले त्यही आधारमा विज्ञप्ति निकालेका हौं,’ दक्षिण कोरियाका लागि कार्यबाहक नेपाली राजदूत रामसिं थापाले भने, ‘अवैधानिक बसोबास गरेकालाई उपचारमा जाँदा कुनै परिचयपत्र आवश्यक नहुने र उनीहरूलाई कानुनी हैसियतबारे पनि सोधपुछ नहुनेअध्यागमन विभागले हामीलाई जानकारी दिएको छ ।’नेपालीले काम गर्ने कुनै पनि कम्पनीमा हालसम्म कोरोना संक्रमण नफैलिएको दूतावासले जनाएको छ । कुनै नेपाली घर बिदामा जान चाहे दूतावासले सहयोग गर्ने पनि थापाले बताए । ‘अहिलेसम्म कोरियाबाट घर बिदा जान केही समस्या छैन । कम्पनीले जान दिएन भने हामीलाई भन्दा हुन्छ । हामी सकेको सहयोग गर्छौं,’ थापाले भने ।

इरानमा मृत्यु हुनेको संख्या ८ पुग्यो

कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४३ पुगेको छ । भाइरस संक्रमितमध्ये धेरै कोम सहरका रहेका र चीनबाट आउने यात्रु हुँदै संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपोरले राज्य सञ्चालित टेलिभजनलाई बताए । भाइरस नफैलियोस् भनेर कोम सहरका सम्पूर्ण विद्यालय र धार्मिक सभासम्मेलन बन्द गरिएका छन् भने अन्य क्षेत्रका मानिसलाई त्यहाँ नजान भनिएको छ ।

यसैबीच, इटालीमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । राज्य सञ्चालित टेलिभजनका अनुसार कोरोना भाइरसबाट इटालीमा आइतबारसम्म ११५ जना संक्रमित भएका छन् । इटालीको उत्तरी क्षेत्र लम्बार्डीमा मात्रै ८९ जना संक्रमित पाइएको गभर्नर एट्टिलियो फोन्टानाले आइतबार जानकारी दिएका छन् । संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि सरकारले देशको उत्तरी क्षेत्रका लगभग दर्जनभन्दा बढी सहर बन्द गरेको छ।

चीन, दक्षिण कोरिया, इरान र इटालीबाहेक जापानको योकोहामा तटीय क्षेत्रमा रोकिएको क्रु पानीजहाजमा ६९० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन्। आइतबारसम्म कोरोनाका कारण विश्वभर ७८ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा चीनकै मात्र ७६ हजार ९३६ जना संक्रमित छन् । कोरोनाका कारण हालसम्म चीनमा सबैभन्दा धेरै दुई हजार ४४२ जनाको मृत्यु भएको छ ।

साेमबार बिहानसम्‍म चीनमा काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ४२ जना पुगेको छ। चीन बाहिर दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाकाे मृत्यु भएको छ। चीन बाहिर काेराेनाकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २६ जनाकाे मृत्यु भएको छ। अहिलेसम्‍म विश्वभर ७९ हजार १ सय ४० जना कोरोना भाइरसबाट सक्रमित बनेका छन् भने चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना सक्रमित बनेका छन्।

Published on: 25 February 2020 | Kantipur

Link

Back to list

;