s

कोरोना प्रभाव : ताक्लाकोटमा डेढ सय नेपाली अलपत्र

संक्रमण फैलने डरले नाका बन्द गरिएपछि कामको खोजीमा चीन पुगेका उनीहरु चाहेर पनि घर फर्कन पाइरहेका छैनन्

छपाल लामा

(हुम्ला) — कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएका कारण अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । कोरोना संक्रमणकै कारण दुवै देशको सहमतिमा हिल्सा नाका बन्द छ ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले ताक्लाकोटमा रहेको कैलाश ट्रेड सोसाइटीका नामबाट चिठी प्राप्त भएको बताइन् । गृह मन्त्रालयसँग यसबारे मौखिक रूपमा आवश्यक निर्देशन माग गरे पनि जवाफ नआएकाले उद्धारको पहल हुन नसकेको उनले बताइन् । चिठीमा नेपाल फर्कन चाहने १ सय ४८ जनाको नाम छ । सोसाइटीका उपाध्यक्ष लामो लामाले पठाएको पत्रमा नाम्खा र सिमकोटका बासिन्दा थुक्तेन लामा, रोक्तान लामा, कार्मा तुन्डुप लामा, राजु लामा, पर्विता लामा, सम्ब श्रेष्ठ, जंगबहादुर शाही, गणेशबहादुर लामा, अणु लामा, छिरिङ म्याम्लो लामा, अनु लामा र संगीता बुढालगायत छन् ।

हुम्लासँग सीमा जोडिएको ताक्लाकोटमा बर्सेनि जेठमा कामका लागि नेपाली जाने गर्छन् । उनीहरू मंसिरमा फर्कने गरे पनि कतिपय अस्थायी रूपमा त्यतै बस्छन् । तिनै अस्थायी बसोबास गर्ने कामदार अहिले फर्कन खोजेका हुन् । उपाध्यक्ष लामाले जिल्ला प्रशासनमा चिठी पठाउनुका साथै उद्धारको पहल गरिदिन हुम्लाका सांसद छक्कबहादुर लामासँग पनि अनुरोध गरेकी छन् । ‘उनले मलाई निरन्तर फोन गरिरहेकी छन्,’ सांसद लामाले भने, ‘मैले पनि सरकारी निकायमा कुरा राखें, तर पहल भएको छैन ।’

ताक्लाकोटका साथै अन्य तिब्बती क्षेत्रमा कोरोना संक्रमण भएको जानकारीमा आएको छैन । हिउँद सकिएसँगै व्यापार र अन्य कामका लागि चीनका मुख्य सहरबाट चिनियाँ आउने क्रम सुरु भएकाले ताक्लाकोटमा रहेका नेपाली डराएको सांसद लामाले बताए । ‘उता (मुख्य चीन) बाट मान्छे आउन थालेका छन्, अब उनीहरूसँग बसउठ गर्नुपर्ने हुन्छ,’ लामोको भनाइ उद्धृत गर्दै उनले भने, ‘हामीलाई जतिसक्दो छिटो घर फर्कन मन छ, सरकारलाई भनिदिनुपर्‍यो ।’ हिल्सा नाका बन्द गरेसँगै हुम्ला जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सीमापास पनि फागुन पहिलो सातायता बन्द छ । ‘दुई देशकै सहमतिमा नाका बन्द गरिएकाले उनीहरूलाई तत्काल नेपाल भित्र्याउन असम्भव छ,’ प्रजिअ भट्टराईले भनिन् । त्यहाँ रहेका नेपाली कामदार फर्कन चाहेको व्यहोरोको चिठी पाएलगत्तै मन्त्रालयका साथै सम्बन्धित स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई जानकारी गराएको उनले बताइन् ।

उता, गृह मन्त्रालयका शान्ति सुरक्षा शाखाका उपसचिव उमाकान्त अधिकारीले यसबारे आफूहरूलाई जानकारी नभएको बताए । ‘ताक्लाकोटमा नेपाली फसेका रहेछन् भने कोरोनामुक्त जाँचपछि मात्र उद्धारको काम अघि बढाउन सकिन्छ,’ उनले भने, ‘त्यो भेगमा भौगोलिक विकटताका कारण हिउँ नपग्लेसम्म सहजै नेपाल आउने व्यवस्था गर्न कठिनाइ हुने अवस्था पनि बुझ्नैपर्छ ।’

करिब एक साताअघि एक जना नेपाली ताक्लाकोटबाट भागेर आउने क्रममा चिसोले बिरामी परेका थिए । ताक्लाकोटमा रहेका नेपाली छिरिङ नुर्बु लामाले खाने र बस्ने व्यवस्था चीन सरकारले गरेको बताए । ‘अहिलेसम्म संक्रमण देखिएको छैन,’ उनले भने, ‘चीनबाट मान्छे आउन थालेकाले डर लागिरहेको छ ।’

Published on: 11 March 2020 | Kantipur

Link

Back to list

;