s

कोरोना प्रभाव : भारतबाट धमाधम फर्किंदै

कञ्‍चनपुर — भारतमा अध्ययन र कामका लागि गएका नेपाली धमाधन फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकीमा चाप बढेको छ । देहरादुनबाहेक पन्जाब, दिल्ली र हरियाणामा अध्ययन गरिरहेका विद्यार्थीसमेत घर फर्किन लागेको गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहराले बताए ।

कोरोना प्रभावले भारतमा विद्यालय र कलेज मात्रै नभई विकास निर्माणका कामसमेत रोकिएका छन् । ‘काम सबै बन्द भएपछि घर पठायो,’ दिल्लीमा कपडा बनाउने कम्पनीमा काम गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका चेतक सुनारले भने, ‘हामी पनि त्रासकै कारण घर फर्कियौं ।’ उनका अनुसार दिल्लीबाट गड्डाचौकीसम्म आउँदा भारतमा कहीँ पनि स्वास्थ्य जाँच भएन । गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार भारतमा रोजगारी गर्ने र अध्ययन गर्नेहरू दैनिक करिब १२ सय जना यो नाका भएर आउन थालेका छन् ।

उत्तराखण्डको देहरादुनमा अध्ययनरत सुर्खेतका सुरज रौनियारले परिवारको दबाबले फर्किएको बताए । उनी सुर्खेतकै सात विद्यार्थीसँग फर्किएका हुन् । देहरादुनमा प्रायःजसो जुन/जुलाईमा बिदा हुने भए पनि कोरोना प्रभावले यसपटक चाँडै बिदा भएको हो । ‘सबै कलेजले बिदा दिइसकेका छन्, विद्यार्थी धमाधम घर फर्किंदै छन्,’ रौनियारले भने, ‘दुई/तीन दिनयता दुनमा त्रास अझै बढेको छ ।’

गड्डाचौकी नाका हुँदै फर्किएका गोरखाका अभिषेक मकरालीले भारतमा संक्रमितको संख्या बढेपछि सबै त्रसित बनेको बताए । ‘संक्रमणभन्दा पनि हल्लाले बढी त्रास फैलाएको छ,’ ल्याब प्राविधिकअन्तर्गत स्नातक तहमा अध्ययनरत उनले भने । उनी अध्ययन गर्ने डल्फिन कलेजले मार्चसम्मका लागि बिदा दिएको छ । आइतबारदेखि नै देहरादुनमा अध्ययनरत विद्यार्थी घर फर्किन थालेका हुन् । सरकारले गड्डाचौकीसहित चार नाकाबाहेक अन्य नाकामा आवागमन बन्द गरेपछि घर फर्किनेले यही नाका प्रयोग गरिरहेका छन् ।

गड्डाचौकी सीमामा राखिएको हेल्थ डेस्कमा नेपाल फर्किने सबैको जाँच भने हुन सकेको देखिँदैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफैं व्यवस्थित हुन नसक्दा जाँचमा कडाइ हुन नसकेको हो । भारततर्फ जानेलाई भारतको एसएसबी र स्वास्थ्यकर्मीले कडा जाँच गरिरहेका छन् । मास्कबिना भारत पस्न रोक लगाइएको छ । तर नेपालतर्फको व्यवस्थापन भने निकै कमजोर छ । ‘यहाँबाट आउने सबैको जाँच गरिरहेका छौं,’ हेल्थ डेस्ककी इन्चार्ज अनमी निर्मला जोशीले भनिन्, ‘कसैलाई पनि चेक नगरी जान दिँदैनौं ।’ उनले दाबी गरे पनि सीमा क्षेत्रमा चल्ने सवारी साधनका चालक र यात्रुको जाँचमा भने लापरबाही भइरहेको स्थानीय बताउँछन् । सवारी साधनका सबै यात्रुले जाँच गराएको पाइँदैन ।

Published on: 18 March 2020 | Kantipur

Link

Back to list

;