s

कोरोना खोप नलगाएकाले खाडी मुलुक जान चर्को रकम तिर्नुपर्ने!

आइतबार वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचल पुग्दा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन हातमा कागजात बोकेर थुप्रै युवा उभिइरहेका थिए। त्यही भिडमा साउदी जाने तरखरमा रहेका गोरखाका हुमबहादुर भुजेल भेटिए।

बिदामा फर्किएका हुमबहादुर पुनः श्रम स्वीकृति लिएर साउदी जान लागेका हुन्। तर कोरोना खोप लाउन नपाएका कारण चर्को रकम बुझाएर जानुपर्ने बाध्यता भएको उनले बताए।

'टिकटका लागि ७५ हजार र होटल क्वारेन्टाइनका लागि ८३ हजार चार सय ८५ रूपैयाँ बुझाउनुपर्ने भयो,' उनले भने, 'दुई पटक खोप लगाउन पाएको भए यत्रो रकम तिर्नुपर्दैन थियो रे। खोप नलगाएकाले होटल क्वारेन्टाइनको समेत जोडेर एयरलाइन्सले एक लाख ५८ हजारभन्दा बढी रकम लियो।'

खोप नलाएकाले साउदीमा १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने भन्दै एयरलाइन्सहरूले प्रतिव्यक्ति ८३ हजार चार सय ८५ रूपैयाँ लिने गरेको उनले बताए।

ड्राइभिङ कामका लागि साउदी जान लागेका हुमबहादुरको कमाइ मासिक २२ सय रियाल छ। तर खाने बस्ने लगायत खर्च कटाउँदा बचत गर्न मुश्किल हुने उनी बताउँछन्। 

'पैसा कमाउन कति गाह्रो छ। सरकारले खोप व्यवस्था नगर्दा हामीले चर्को रकम तिर्नुपर्‍यो,' उनी भन्छन्, 'खोप पाएको भए सिधै कम्पनीमै जान पाइन्थ्यो।' 

कोभिडका कारण लामो समय यतै अड्किएका उनलाई जोखिम कम हुँदै गएपछि कम्पनीले बोलाएको रहेछ। 

'देशमा बसौं काम छैन, साउदी नगए त्यही काम पनि गुम्छ। ऋणपान गरेर तिर्ने पैसा त बटुलेँ। अब त्यति पैसा कमाउन महिनौं खट्नुपर्छ। त्यसमा ब्याज पनि थपिन्छ,' उनले गुनासो गरे।

मजदुर कामका लागि साउदी जान लागेका कास्कीका सुकदेव सार्कीको समस्या पनि हुमबहादुरको जस्तै छ। साउदीबाट तेस्रो पटक बिदामा फर्किएका सुकदेवले यो पटक जस्तो चर्को शुल्क कहिल्यै तिर्नुपरेको थिएन। 

'यसपालि महँगो शुल्क तिर्नुपर्‍यो। टिकट र होटल क्वारेन्टाइन खर्च जोडेर एक लाख ५८ हजार चार सय ७५ रूपैयाँ लाग्यो,' ताहाचलमा भेटिएका उनले सेतोपाटीसँग भने, 'त्यो पैसा कमाउन पूरै एक वर्ष खट्नुपर्छ।' 

सुकदेवको मासिक कमाइ एक हजार रियाल छ। खाने-बस्ने खर्च गर्दा मुश्किलले घर पठाउन पुग्ने उनको भनाइ छ। 

साउदी मात्रै होइन कतार जानेहरूको समस्या पनि उस्तै छ। खोप व्यवस्था नभएकै कारण चर्को रकम तिर्नुपरेको युवाहरूले गुनासो गरेका छन्। कतारबाट बिदामा फर्किएर पुनः जाने तयारीमा रहेका सोलुखुम्बुका चक्रवीर नेवारले फर्किन धेरै रकम बुझाउनुपर्ने बाध्यता रहेको बताए। 

'खोप नलगाएकाले दुई लाख १० हजार तिर्नुपरेको छ,' उनी भन्छन्, 'पहिले कोरोना नहुँदा २५ हजार भए जान पुग्थ्यो।' 

चक्रवीरले कोरोनाको पहिलो डोज खोप मात्रै लाउन पाएका थिए। दोस्रो डोज नलगाएकाले पिसिआर परीक्षण गरेर जानुपर्ने र कतार पुगेर १४ दिन क्वारेन्टाइन बस्नुपर्नेछ। 

खोप नलगाए खाडीको रोजगारी गुम्न सक्नेः 

श्रमिकहरूलाई अब खोप व्यवस्था नभए वैदेशिक रोजगारी अवसर गुम्न सक्ने वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष कमल तामाङले बताए। पछिल्लो समय खाडी मुलुकले कोभिड खोप लगाएका आप्रवासी श्रमिकलाई मात्रै लैजाने निर्णय गरेकाले सरकारले सबै श्रमिकका लागि खोप व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

युएईको स्वास्थ्य मन्त्रालयले फाइजर, स्पुतनिक, सिनोफार्म, अक्सफोर्ड, बायोटेकका खोपलाई मान्यता दिएको छ। पछिल्लो व्यवस्थाअनुसार यी  खोप लगाएका मात्रै युएई प्रवेश पाउँछन्। 

त्यस्तै कुवेतले पनि मोर्डना, जोनसन, फाइजर, अक्सफोर्ड, अस्ट्राजेनेका र फाइजर खोपलाई मान्यता दिँदै सेप्टेम्बरपछि प्रवेश गर्नेलाई खोप अनिवार्य गरेको छ। 

संघका महासचिव सुजितकुमार श्रेष्ठ पनि सरकारले खोप व्यवस्था नगरे वैदेशिक रोजगारीका अवसर गुम्ने बताउँछन्। 

'कुवेत, युएई, कतार, र साउदीले खोप लाएका श्रमिक मात्रै लैजाने घोषणा गरिसकेका छन्। कतारले खोप नलगाएकालाई क्वारेन्टाइन व्यवस्था गरेको छ, तर शुल्क चर्को छ। १४ दिन क्वारेन्टाइन बस्न एउटा श्रमिकले २५ सयदेखि तीन हजार कतारी रियाल (९७ हजारभन्दा बढी नेपाली रूपैयाँ) बुझाउनुपर्छ,' श्रेष्ठले सेतोपाटीसँग भने। 

सरकारले रोजगारदाता मुलुकसँग छलफल गरी वैदेशिक रोजगारी सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको श्रेष्ठले औंल्याए। सरकारले एक्ले नसके निजी क्षेत्रलाई संलग्न गराई सबैलाई खोप व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। 

'अहिलेसम्म त श्रमिकहरू क्वारेन्टाइनमा बस्नेगरी चर्को रकम तिरेर गइरहेका छन्। अब खोप नभएसम्म रोजगारदाता मुलुकले श्रमिकहरू लिँदैनन्। त्यसले धेरै रोजगारी अवसर गुम्ने खतरा छ,' उनले भने। 

समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्छौं– श्रम मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ। त्यस विषयमा मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक काफ्लेले सेतोपाटीलाई बताए।

'हामीलाई सम्बन्धित गन्तव्य मुलुक र दूतावासबाट औपचारिक रूपमा जानकारी आइसकेको छैन। यदि अनौपचारिक रूपमा सुनेजस्तो हो भने त समस्या पर्छ। गन्तव्य मुलुकले तोकेजस्तो खोप नेपालमा उपलब्ध पनि नहुन सक्छ। कसरी सहजीकरण गर्ने भनेर हामी स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय गर्छौं,' उनले भने।

अहिले सम्बन्धित गन्तव्य मुलुकमा पहिलो डोज खोप मात्रै लगाएर फर्किएका नेपालीलाई दोस्रो डोज लगाउने क्रममा समेत समस्या निम्तिएको उनले बताए।

'गन्तव्य मुलुकमा लगाएका प्रकृतिका कति खोप नेपालमा उपलब्ध छैनन्। त्यसमा पनि सहजीकरण गर्नुपर्ने देखिएको छ। हामी छलफल गरिरहेका छौं,' उनले भने।

Published on: 29 June 2021 | Setopati

Link

Back to list

;