s

कोरोना कहरमा भारतको रोजगारी गुम्यो ! गाउँमा व्यवसाय थालनी

लोकेन्द्र जोशी

दार्चुला, माघ २७ गते । दार्चुलाको लेकम गाउँपालिका–२ कुणीका २२ वर्षीय तुलाराज जोशी गत चैतमा भारतमा समस्यामा पर्नुभयो । धन कमाउने सपना बोकेर भारतको हरियाणा पुग्नुभएका जोशी कोरोना कहरमा रोजगारी गुमेपछि केहि समय बिचल्लीमा पर्नुभयो ।

भारतबाट फर्किएर दुई हप्ता गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसे, उहाँले भन्नुभयो, क्वारेन्टाइन बसाईको क्रममा गाउँमै केहि गर्ने अठोट गरेर घर फर्किएको थिए । आर्थिक अवस्था निकै कमजोर भएपछि कक्षा १० मा पढाइ छाडेर तीन वर्ष पहिले भारत जानुभएका जोशी कोरोना कहरकैबीच स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसक्नुभएको छ । विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनत गरेर गुजारा चलाउन सकिँदो रहेछ भन्ने बल्ल थाहा भयो, उहाँले भन्नुभयो, परिवारमा बसेर गाउँमै व्यवसाय गरेर जीविका चलाउने गरी अघि बढेको छु । विदेशमा तीन वर्ष मजदुरीका साथै होटलमा काम गर्नुभएका जोशीले गाउँको स्थानीय कुणी बजारमा होटल, पसल थाप्नुभएको छ ।

गरिबिको कारण उच्च शिक्षा हासिल गर्न नपाएका जोशीले आफुसँगै १९ वर्षीय भाइ महेशराज जोशीलाई पनि कामको लागि भारतमै लैजानुभएको थियो । भारतमा समस्यामा परेपछिसँगै घर फर्किएका दुबै दाजुभाईले मिलेर व्यवसाय थाल्नुभएको छ । हुनैनाथ माबि कुणी नजिकै होटल व्यवसाय थालेका जोशी दाजुभाईले शिक्षक, विद्यार्थीहरुको लागि चिया, चाउचाउ, चना लगायत नास्ताका परिकार बनाएर दैनिक घर खर्च चलाइरहनुभएको छ । भारतबाट रित्तोहात फर्किएका दाजुभाईले रिण निकालेर पशल थापेसँगै दिनभरी काम गरेर बेलुकी परिवारका सदस्यहरुको गाँस, वाँसको जोहो गरिरहनुभएको छ । स्थानीय तहले स्वरोजगारीका लागि सहयोग गरे होटल व्यवसायलाई सुधार गर्दै कृषि उत्पादनमा लगानी गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उच्च शिक्षा हासिल गर्न नपाएपनि स्थानीय तहले सहयोग गरे हातमा भएको सीपको सदुपयोग गर्दै व्यवसायलाई बढाउदै लैजाने जोशी दाजुभाईले बताउनुभयो । यहाँको लेकम गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएर गाउँ फर्किएकाहरुलाई स्वरोजगारमुलक काममा लगाउने कार्यक्रम ल्याउनुपर्ने उहाँहरुको भनाई छ । गाउँपालिकाको वडा नम्बर २ को तर्फबाट व्यवसाय अगाडी बढाउन जोशी दाजुभाईलाई तीस हजार रुपैँया सहयोग गरेको वडा सदस्य पदमराज जोशीले बताउनुभयो । उहाँहरुजस्तै धेरै युवाहरु गाउँमा बेरोजगार बनेकोले स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा स्थानीय तहको ध्यान जानु आवश्यक रहेको स्थानीय समाजसेवी रामदत्त भट्टले बताउनुभयो । 

युवाहरुलाई स्वारोजगार बनाउन गाउँपालिकाले आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्न नसकेको स्थानीयको गुनासो छ । लेकम गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा दुई सय १२ जना युवाहरुले काम पाइरहेका छन् । यस्तै गाउँपालिकाको कृषि शाखाबाट अनुदानमा फलफुलका बोटहरु वितरण गर्ने काम भइहेको छ । यो बाहेक स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकोले अगामी वर्ष युवा स्वरोजगारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

Published on: 10 February 2021 | Gorkhapatra

Link

Back to list

;