s

कन्सलटेन्सी सञ्चालक लामा पक्राउ

आकर्षक रोजगारीको प्रलोभन देखाएर स्पेन र पोर्चुगल लगायतका युरोपियन मुलुकमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन् । सामाखुसीस्थित सुनौलो प्रकाश कन्सलटेन्सीका सञ्चालक आर्यन लामालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
 
हिरकाजी बस्नेत लगायत पीडितहरुले दिएको जाहेरीका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । युरोपियन देश स्पेन र पोर्चुगल पठाइदिने आश्वासन दिएर लामाले ३३ लाख रुपैयाँ बस्नेतसँग लिएका थिए । पैसा लिइसकेपछि सञ्चालक लामाले आज भोलि पठाइदिन्छु भन्दै आलटाल गरेपछि बस्नेत प्रहरी कहाँ पुगेका थिए ।
 
युरोप नपठाएपछि पीडितहरुले पैसा फिर्ता माग्दा उनले एक सहकारीको ‘बाउन्स चेक’ दिएर ठगेका थिए । उनले चेक दिएको सहकारीमा खाता नै बन्द भइसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा लामाले थप दुई जना मोहन प्रधान र कारसाङ तामाङलाई कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको  छ । अभियुक्त लामालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।
 
Published on: 8 March 2018 | Madhyanha

Back to list

;