s

कांग्रेसको प्रश्‍न : पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले लकडाउनपछि पैदलै गाउँ जान बाध्य भएका मजदुरलाई सुरक्षित ढंगले गन्तव्यसम्म पुर्‍याउन सरकारसँग माग गरेको छ । 

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा पर्याप्त राहत पुर्‍याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरिएको छ।

अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै कांग्रेसले पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। 

विज्ञप्तिमा लेखिएको छ ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ। तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार? आयोगलाई अरबौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न?’ 

त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका परीक्षणको दायरा व्यापक बनाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ। सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी पनि कांग्रेसले सरकारलाई दिएको छ।

Published on: 17 April 2020 | Kantipur

Link

Back to list

;