s

कम्पनीको लापरबाहीले ५० नेपाली भिसाविहीन

रामचन्द्र गिरी

कम्पनीको लापरबाहीका कारण मलेसियाको एक कम्पनीमा कार्यरत झन्डै ५० नेपाली युवा भिसाविहीन भएको खुलेको छ । वैदेशिक रोजगारीका क्रममा करिब २ वर्षअघि यहाँको दिरस न्यागा एसडीएन बीएचडी नामक कम्पनीमा आएका उनीहरू न्याय दिलाइदिन भन्दै दूतावास आएपछि यस्तो खुलासा भएको हो ।

उनीहरूलाई आउट सोर्सिङ भिसामा ल्याई करारमा विभिन्न कम्पनीमा काममा लगाइएको र दुई कम्पनीबीचको असमझदारी एवं लापरबाहीकै कारण भिसाविहीन बनाइएका हुन् । पीडितका अनुसार त्यहाँ कार्यरत ८१ नेपालीमध्ये करिब ५० जनाको राहदानीमा भिसा सकिएको छ । समयमै कम्पनीले भिसा नवीकरण नगराउादा हाल उनीहरू अधिकांश गैरकानुनी अवस्थामा छन् । उनीहरू जुनसुकै बेला पक्राउ पर्न सक्छन् ।

विभिन्न म्यानपावर कम्पनी मार्फत आएका उनीहरूमध्ये ५६ जनालाई दिरस न्यागा कम्पनीले करारमा पेनाङस्थित युनिक सुरिया इन्टरप्राइजेज नामक कम्पनीमा काम लगाएको थियो । बाँकी २६ जनालाई दिरस न्यागाले अरू विभिन्न कम्पनीमा काममा लगाएको थियो ।

लखनपुर-७ बाह्रघरे झापा घर भई उक्त कम्पनीमा कार्यरत पीडितमध्येका एक रमेश विष्टका अनुसार त्यहाँ कार्यरत ८१ जनामध्ये १७ जनाको राहदानीमा आगामी महिना भिसा सकिँदै छ । ५० जनाको भिसा सकिएको ५/६ महिना भइसकेको छ ।

'धेरै साथीको भिसा सकिएको ५/६ महिना भइसकेको छ, १२/१३ जना साथी आफन्त र साथीभाइको सहयोगमा दूतावासबाट ट्राभल डकुमेन्ट बनाई घर फर्किसकेका छन्,' विष्टले भने । ५४ जनाको हस्ताक्षर सहित न्याय दिलाइदिन भन्दै पीडितहरू केही दिनअघि दूतावास पुगेका थिए । राहदानीमा भिसा लगाइएमा अधिकांश उनीहरू काम गर्न चाहन्छन्, भने केही घर र्फकन चाहेका छन् ।

पेनाङस्थित कम्पनीले हाल कामदारलाई राहदानी हराइसकेको जवाफ दिने गरेको पीडितले बताए । कम्पनीले समयमै भिसा नवीकरण नगरिदिएका कारण उनीहरू 'गैरकानुनी' भएका छन् । करिब ६ महिनाअघि नै अवैध बनेका उनीहरूलाई कम्पनीले काममा लगाउँदै आएको हो ।

पीडितका अनुसार कम्पनीले उनीहरूलाई राहदानी हराइसकेको र पुनः वैध बन्न २५ सय रिंगेट लाग्ने भन्दै पैसा समेत मागेको छ । 'कतिपयको साथमा राहदानीको प्रतिलिपि समेत छैन, होस्टलमै बस्दा समेत कतिबेला पक्राउ परिने हो थाहा छैन, बाहिर कतै निस्कन परेमा पनि पक्राउ परिने डर हुन्छ,' उनले फोनमा भने, 'राहदानी कहाँ छ भनेर सोध्दा कम्पनीले सबै हराइसक्यो भन्छ, अनि नयाँ राहदानी बनाई वैध हुने भए २५ सय रिंगेट देऊ भनिरहेछ ।'

अवैध भइसकेका नेपालीबारे नेपालबाट ल्याउने मुख्य कम्पनी दिरस न्यागा समस्या समाधानका लागि सहयोगको आग्रह गर्दै यहाास्थित नेपाली दूतावासमा समेत पुगेको थियो । श्रम सहचारी अमल किरण ढकालका अनुसार स्वयं कम्पनीकै चरम लापरबाहीका कारण नेपाली युवा भिसाविहीन भएकाले समस्या समाधानका लागि दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको छ । दूतावासले यहाँस्थित गृह मन्त्रालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, मानव संसाधन मन्त्रालय, अध्यागमन लगायत निकायमा उक्त समस्या र आवश्यक प्रक्रियाबारे पत्राचार गरेको श्रम सहचारी ढकालले कान्तिपुरलाई बताए । उनले समस्याबारे सबै विवरण सहित सम्बन्धित सम्पूर्ण निकायमा पत्राचार गरेको बताए । समस्या जटिल भएकाले प्रक्रिया र समय लामै लाग्छ । केही दिनमा जवाफ पाउने आशा गरेका छौं । त्यसपछि आवश्यक प्रक्रिया अपनाइनेछ ।'

पीडितसँग कम्पनीले सम्झौता विपरीत पैसा कटाउने गरेको छ । दैनिक १२ घन्टा काम र मासिक न्यूनतम तलब ८ सय ४० रिंगेट पाउने गरी आएका उनीहरूसँग कम्पनीले सम्झौता विपरीत बस्ने होस्टलमा प्रयोग हुने बत्ती र पानीको समेत तलबबाट पैसा काट्दै आएको पनि पीडितले बताए । उनीहरू ९० हजार देखि १ लाख २० हजार रिंगेटसम्म तिरेर आएको बताउँछन् । आफूहरूलाई न्याय दिलाइदिन पीडितले सम्बन्धित सबै समक्ष अपिल गरेका छन् । करिब दुई महिनाअघि पेनाङमै रहेको अर्को एक कम्पनीमा कार्यरत ५८ नेपाली यसरी नै भिसाविहीन बनाइएका थिए । दूतावासले यहाँको सरकारी निकायसँग थालेको कानुनी प्रक्रियापछि ती नेपालीलाई वैध बनाई काममा फर्काइएको थियो ।

Published on: 27 May 2012 | Kantipur

Back to list

;