s

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

होम कार्की

साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । ठूलो संख्यामा नेपाली कार्यरत साउदी मार्बल एन्ड ग्रिनाइटेड कम्पनी (माथि) र अलपत्र परेपछि प्रदर्शनमा उत्रिएका कामदार । 

 
साउदीको अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अजमिलमा मात्रै १० हजार नेपालीको रोजगारी गुमेको छ । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ ।
‘अजमिलले एक वर्षमा झन्डै ७ हजार नेपालीलाई फिर्ता पठाइसकेको छ,’ साउदीको दमामस्थित नेपाली दूतावासका प्रतिनिधि हरि घिमिरले कान्तिपुरलाई फोनमा भने । अजमिलले कामविहीन भएर लामो समयदेखि बसिरहेका ३ हजारलाई स्वदेश पठाएको छैन ।
 
भिसा नहुनेलाई पठाउन कठिन
 
ती कम्पनीहरूले साउदीको आवासीय अनुमतिपत्र (इकमा) को म्याद नभएका कामदारलाई एक्जिट (ख्रुज) भिसा लगाएर स्वदेश पठाउन सकेका छैनन् । एक्जिट भिसा लगाउन म्याद भएको इकमा कार्ड चाहिन्छ । नेपाली दूतावासका अनुसार इकमा नवीकरण गर्न वा जरिवाना तिर्ने हैसियत कम्पनीसँग नदेखिएको हुँदा कामदारलाई फिर्ता पठाउन नसकिएको हो । एउटा कामदारको इकमा नवीकरण गर्न मात्रै ८ हजार रियाल (झन्डै दुई लाख रुपैयाँ) लाग्छ ।
 
अर्कद कम्पनीले ११ महिनादेखि कामदारको इकमा नवीकरण गरेको छैन । इकमा नभएका कामदारलाई गैरकानुनी हैसियतमा राखिएको छ । ‘हामी बसेको जुबेलस्थित क्याम्पमा मात्रै २ सय जना छौं । सबै साथीभाइको करार अवधि सिद्धिएको छ । हामीलाई काम पनि दिन नसकेर कोठामा सुताएर राखेको छ,’ खजुरा, नेपालगन्जका चन्द्रप्रकाश पौडेलले भने, ‘यो कम्पनीका धेरै ठाउँमा क्याम्प छन् । कुन क्याम्पमा कति छन् भन्ने थाहा छैन । पहिला यही कम्पनीमा ५ हजारभन्दा बढी नेपाली थिए । अहिले अधिकांश नेपालीलाई पठाइसकेको छ ।’
 
उनीहरू आरम्को कम्पनीका लागि ग्यास पाइप लाइनमा काम गर्दै आएका थिए । गएको फेब्रुअरी १२ देखि काम गरेका छैनन् । ‘हामी कम्पनीविरुद्ध कतै गएका छैनौं । उसले आउँदो सातादेखि २०/२५ जनाको दरले नेपाल पठाउने वचन दिएको छ,’ सोही कम्पनीमा कार्यरत बर्दियाका प्रेम परियारले भने, ‘क्याम्पमा सात महिनादेखि सुतेर बस्दै आएका साथीहरू पनि छन् । कम्पनी पर्ख–पर्ख मात्रै भनिरहेको छ ।’
 
उनीहरूका अनुसार प्रतिब्यक्ति झन्डै चार हजार रियाल (८० हजार रुपैयाँ) लिन बाँकी छ । ‘हामीलाई अर्कदले पैसा दिन नसक्ने भए आरम्को कम्पनीले दिनुपर्छ । किनभने यसमा आरम्को कम्पनी पनि जिम्मेवार छ,’ उनले भने । आरम्को साउदीको सबैभन्दा ठूलो कम्पनी हो । यसले गत वर्ष मात्रै एक सय ११ विलियन पाउन्ड नाफा कमाएको थियो ।
 
पिउने पानीसमेत अभाव
 
अजमिलमा कार्यरत कामदारलाई दैनिक पिउने पानी पाउनसमेत कठिनाइ छ । ‘हामी बसेको क्याम्पमा विदेशीसहित झन्डै १० हजारजति छौं होला । नेपाली ८ सयभन्दा बढी छौं । सबैजना कामविहीन छौं । कम्पनीले दिन प्रतिदिन बेवास्ता गर्दै गइरहेको छ । हामीलाई अहिले पिउने पानीको समस्या देखिन थालेको छ । कहिले खानेपानी ल्याइदिन्छ । कहिले ल्याउँदैन,’ खोटाङका हरिप्रसाद बुढाथोकीले भने, ‘स्थिति निकै तनावपूर्ण छ ।’ यो क्याम्प दमामको रियाद रोडको ९१ नम्बर क्षेत्रमा पर्छ । तलब र घर नपठाएपछि केही समय अगाडि यो क्याम्पमा कामदारले विद्रोह गरेका थिए । प्रहरीले फायर खोल्दा ४ जना भारतीय कामदार घाइते भएका थिए ।
‘भीडको नेतृत्व गरेको भन्दै धेरै पक्राउ परेका थिए । त्यसमा १० जना नेपाली पनि परे । अहिले उनीहरू कहाँ छन् भन्ने केही पत्तो छैन,’ उनले भने, ‘भारतीय र पाकिस्तानी तोडफोडमा उत्रिन्छन् । सोझासिधा नेपाली पर्छन् ।’
 
खोवर र जुवेल क्याम्पमा पनि नेपाली छन् । कम्पनीले खाना खुवाउन छाडेको छ । कामदार आफैंले खानेकुराको बन्दोबस्त मिलाउँदै आएका छन् । ‘क्याम्पभित्र रहेको वकाला (पसल) बाट हामीले उधारोमा खानेकुरा लिँदै आएका थियौं । अहिले वकला आफैं बन्द हुने अवस्थामा छ । अहिलेसम्म खानेकुराको अभाव भएको थिएन । अब यो स्थिति दुई–चार दिनमै देखिनेवाला छ,’ उनले भने, ‘न हामीलाई फिर्ता पठाइदिन्छ । न हामीलाई खाना उपलब्ध गराउँछ । अब त बाँच्नै मुस्किल पर्ने स्थिति देखापर्‍यो ।’
 
कामदारको हितमा प्रयासरत छौं : राजदूत
 
साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कामदारलाई तलब दिएर घर पठाउन प्रयास गरिरहेको बताए । ‘३०/४० हजारलाई रोजगार दिइरहेका कम्पनी एकैरातमा सडकमा आए,’ उनले भने, ‘त्यति ठूलो समस्यासँग हामीले एकैपटक सामना गर्नुपर्‍यो ।’
 
उनले दमाम क्षेत्रको श्रम विभागकै प्रमुखलाई गएर समाधानका लागि यथासक्य छिटो प्रयास गर्न अनुरोध गरेको बताए । ‘कम्पनी कामदारको समस्या समाधान गर्न असफल भयो । उनीहरूले छिट्टै स्वदेश पठाइदिन पनि नसक्ने स्थिति छ,’ उनले भने, ‘यसलाई कसरी सल्टाउने भनेर दूतावासले आफ्नो ल्याकत र औकातअनुसार कोसिस गरिरहेका छ ।’ श्रम काउन्सिलर अम्बिका अधिकारीले कामदारलाई कम्पनी परिवर्तनका लागि पनि सहजीकरण गरिरहेको बताए । ‘साउदीमै बसेर अर्को कम्पनीमा काम गर्न चाहेकालाई स्पोन्सर परिवर्तनका लागि सहजीकरण भइरहेको छ । साउदी छाडेर जान चाहेकालाई लेबर कोर्ट पठाएका छौं । कोर्टमा व्यक्तिगत र दूतावासबाट संस्थागत रूपमा उजुरी हालेका छौं,’ उनले भने ।
 
Published on: 17 April 2019 | Kantipur

Back to list

;