s

कम्पनिले भुकम्पपिडितलाई घर फर्कन दिने

खाडीस्थित नेपाली दूतावासहरूले आफन्तजन गुमाएका र घर भत्केका कामदारलाई स्वदेश पठाउनका लागि स्थानीय कम्पनीहरूबाट सहयोग भइरहेको जनाएका छन्।

खाडीका यूएई, कतार, साउदी, ओमन, बहराइन र कुवेतमा कार्यरत नेपालीहरू स्वदेश गएर परिवारलाई साथ दिन फर्कनेहरूको संख्या बढिरहेको छ। साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले झन्डै चार सय जनालाई कम्पनीसँग समन्वय गरेर घर पठाइदिएको छ।

‘धेरैजसो कम्पनी आफैंले भूकम्पबाट पीडित भएकालाई पठाइदिएको छ,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसित भने, ‘कम्पनीले नपठाइदिएका झन्डै चार सयजना दूतावासमा सम्पर्क गर्न आइपुगेका थिए। उनीहरूलाई दूतावासको अनुरोधमा पठाइसकेका छौं।’

पाण्डेका अनुसार अझै सय कामदारले दूतावासमा घर पठाइदिनका लागि अनुरोध गर्दै निवेदन दिएको बताए। ‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र चेम्बर अर्फ कमर्सलाई यस बेला सहयोग गर्न अनुरोध गरेका छौं। जुन कम्पनीले सहयोग गरेका छैनन्, त्यस्ता कम्पनीबारे यहाँका सरकारी निकायलाई जानकारी दिने गरेका छौं,’ उनले भने।

धेरैजसो कम्पनीले भूकम्पबाट प्रभावित जिल्लामा घर नभएकाहरूबारे भने सोधखोज गर्न थालेको छ। ‘जसका परिवार काठमाडौंमा छन्। उनीहरूका घर भूकम्प प्रभावित जिल्ला नहुँदा कम्पनीले सोधखोज गर्न थालेका छन्,’ कतारका श्रम सहचारी लीलानाथ दाहालले कान्तिपुरलाई भने, ‘त्यस्ता कम्पनीले दूतावासको सिफारिस लिने गरेको छ। हामीले कम्पनी र कामदारबीच समन्वय गरिरहेका छौं।’

दाहालले घर फर्कन जान चाहनेहरू समूह बनाएर आइरहेको बताए। ‘आफन्तजन बितेकाहरू पहिल्यै नै फर्किसकेका छन्। केही मात्रै बाँकी होलान्,’ उनले भने, ‘पछिल्लो समयमा घर भत्केकाहरू जान खोजिरहेको संख्या बढिरहेको छ।’

उनले कतारका कम्पनीहरूले घर जानेलाई पठाएर सहयोग गरेको बताए। कतारमा एउटै कम्पनीले पीडित भए सयभन्दा बढी कामदार फर्केका छन्।

दूतावासहरूका अनुसार कम्पनीको ‘स्टाटस’ अनुसार कामदारमाथि व्यवहार भइरहेको जनाएको छ। ‘कसैले आफैंले राहत रकम दिएको छ। टिकट दिएर पठाएको पनि छ,’ राजदूत पाण्डेले भने, ‘कसैले कामदारको आफ्नै टिकट र तलब बाँकी राखेर पठाइदिएको सूचना आएको छ।’

कुवेतमा घरेलु कामदार (हाउसमेड)का रूपमा कार्यरत महिलालाई पनि घरमालिकले पठाइदिएको छ। ‘घर जान नपाउनेहरू हामीलाई फोन गर्छन्। हामीले उनीहरूमा मालिकसँग कुराकानी गरिदिएर घर पठाउने काम गरिरहेको छौं,’ कुवेतका श्रम सहचारी गोमादेवी पौडेलले भनिन्।

ओमनका लागि श्रम सहचारी भवनाथ खतिवडाले ओमनका कम्पनीले कामदारलाई सहयोग गरिरहेको बताए। ‘यस्तो कठिन परिस्थितिमा ओमनका कम्पनीले नेपालीलाई पठाउने काममा सहयोग गरिरहेको छ,’ उनले भने, ‘कम्पनीबाट पठाएन भनेर कामदारहरू २/४ जना मात्रै आएका थिए।’


थाइल्यान्डबाट १८ लाख

क्वालालम्पुर (कास)– थाई नेपाली फाउन्डेसनले भूकम्पपीडित नेपालीका लागि ६ लाख ३८ हजार ४ सय २० थाई भाट (करिब १८ लाख रुपैयाँ) आर्थिक सहयोग गरेका छन्। थाइल्यान्डको पर्यटकीय नगरी फुकेतमा बस्दै आएका नेपाली मूलका थाई नागरिकहरूको उक्त संस्थाले संकलित रकम बैंककस्थित नेपाली दूतावासलाई बुझाएको छ।

उक्त संस्थाका सचिव मिलन घिमिरेका अनुसार यसअघि करिब ४० लाख भाटभन्दा बढी संकलित रकम प्रधानमन्त्री राहत कोषमा जाने गरी नेपाली दूतावासलाई मे ७ मै बुझाइएको थियो।

श्री भगवत् धाम सनातन मन्दिर फाउन्डेसनले समेत परिचित उक्त संस्था फुकेतमा बसोबास गर्ने नेपालीहरूको परोपकारी संस्था पनि हो। ३ लाख ७० हजार नागरिक बसोबास गर्ने फुकेतमा झन्डै २५ सय नेपाली मूलका नागरिक बसोबास गर्दै आएका छन्। उक्त संस्थाले केही वर्षअघि नेपालमा बाढीपीडितहरूका लागि समेत आर्थिक सहयोग गरेको थियो।

‘हामीमा नेपाली रगत छ, हामी संसारभर यस्ता सहायता र मानवीय कामलाई बढावा दिँदै आइरहेका छौं,’ घिमिरेले बिहीबार कान्तिपुरसित भने, ‘नेपाली हुनुमा हामीलाई गर्व छ।’

उनका अनुसार संकलित आर्थिक सहायता सँगसँगै झन्डै ५ लाख भाटबराबरका १६४ बाकस नयाँ कपडा र २४ बोरा चामल, साथै अन्य थुप्रै खानेकुरा र औषधि दूतावासमार्फत पठाइएको छ।



लन्डन दूतावासबाट एक करोड

लन्डन (कास)– लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फन्डमा संकलित रकममध्ये हालसम्म ६५ हजार पाउन्ड (एक करोड रुपैयाँ बढी) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ। शुक्रबारसम्म ९५ हजार पाउन्ड संकलन भइसकेको कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले जनाएका छन्।

डिजास्टर इमर्जेन्सी कमिटी (डीईसी) ले हालसम्म बेग्लै ५६ मिलियन पाउन्ड उठाइरहँदा दूतावास कोषमा उक्त रकम संकलन भएको हो। दातामा सर्वसाधारणदेखि ब्रिटिस, भारतीय र मुस्लिम समुदायसम्म छन्।

हिन्दू टेम्पल ट्रस्ट साउथहल, अल्डरसोट एन्ड फार्नबोरो मुस्लिम एजुकेसन सोसाइटी, माइलइन्ड बेंगाली मुस्लिम कम्युनिटी, रेडब्रिज इन्डियन वेलफेयर एसोसिएसन च्यारिटी, ब्रिटेन नेपाल सोसाइटी, नेटवेस्ट बैंक, सोसाइटी अफ हाइल्ली स्किल्ड, एभरेस्ट इन ग्रुप आदिले दूतावास कोषमा रकम हालेका हुन्।

दूतावासका कूटनीतिक तथा स्थानीय कर्मचारीले पनि आफ्नो मासिक तलबको १५ प्रतिशत (करिब साढे तीन लाख रुपैयाँ) भूकम्पपीडितलाई दिएका छन्। क्षेत्रीले अन्य विभिन्न नेपाली संघ–संस्थाले पनि चन्दा संकलन गरिरहेकाले दूतावास कोषमा कम्तीमा तीन करोड रुपैयाँ जम्मा हुने विश्वास व्यक्त गर्दै संकलन गरिसकेका संघ–संस्थालाई यथासम्भव छिटो रकम दूतावास कोषमा दाखिला गर्न आग्रह गरे।

क्षेत्रीले सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शी रूपमा भूकम्प पीडितहरूलाई उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणलगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाए।
 

Published on: 24 May 2015 | Kantipur

Back to list

;