s

कम्बोडियामा चार सय युवा अलपत्र

मित्र भण्डारी

काठमाडौँ, असोज १२ गते । भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा)को आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी मुलुकबाट कम्बोडिया पु-याइएका चार सय नेपाली युवा अलपत्र परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट दुबई पुगेका ती युवालाई मानव तस्करको सङ्गठित गिरोहले कम्बोडिया पु-याएको पाइएको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले कम्बोडियामा अलपत्र परेका ती युवालाई उद्धार गर्न विभिन्न माध्यमबाट प्रयास भइरहेको बताउनुभयो ।

उहाँले पीडितका परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेपछि उद्धार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ती युवालाई भिजिट भिसाको आवरणमा आकर्षक रोजगारीको प्रलोभन देखाएर विभिन्न वैदेशिक रोजगार कम्पनीले कम्बोडिया पु-याएका हुन् ।

मासिक एक हजार अमेरिकी डलरसम्मको जागिर लगाइदिने भन्दै कम्बोडिया पु-याइएका युवालाई चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरबाट ठगी गर्ने काममा लगाउने गरेको पाइएको ब्युरोले जनाएको छ । कम्बोडिया पुगेका अधिकांश युवालाई अवैध कल सेन्टरमा बन्धक बनाई महिलाको भेषमा सामाजिक सञ्जालबाट विदेशी नागरिकलाई ठगी गर्ने काममा लगाउने गरेको पाइएको छ ।

ब्युरोले भिजिट भिसाको आवरणमा सर्लाहीका एक युवालाई कम्बोडिया पु-याएर बन्धक बनाउने वैदेशिक रोजगार कम्पनीका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ सिनामङ्गलस्थित आयुष ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालक सप्तरी रुपनी गाउँपालिका–१ का उदितनारायण साह, सोही म्यानपावरका जनसम्पर्क अधिकृत महोत्तरी सिसवा नगरपालिका–९ का दिवाकर झा तथा सोही म्यानपावरकी रिसेप्सनिस्ट धनुषा लक्ष्मीनिया गाउँपालिका–४ की राखीकुमारी सिंह रहेका छन् ।

ब्युरोका अनुसार पीडित युवकलाई सो वैदेशिक रोजगार कम्पनीले मासिक एक लाख २५ हजार रुपियाँ तलब प्राप्त हुने गरी कम्प्युटर अपरेटरको जागिर लगाइदिने प्रलोभन देखाएर कम्बोडिया पु-याएको थियो । गत चैत २७ गते भिजिट भिसामा युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, सिङ्गापुर हुँदै कम्बोडिया पु¥याइएको थियो ।

कम्बोडियाको नोमपेन्ह सहरको साइनोभिल्ला भन्ने स्थानमा रोज एन्ड रोज चाइनिज कम्पनीमा रोजगारीका लागि पुगेका ती युवालाई महिलाको भेषमा सामाजिक सञ्जालमार्फत अमेरिका, क्यानडा, युरोपका पुरुषलाई यौन उत्तेजनापूर्ण क्रियाकलापबाट ठगी गर्ने काममा लगाएको थियो ।

विदेशीलाई ब्ल्याकमेल गरी ठगी गरेको रकम चिनियाँले क्रिप्टोकरेन्सीलगायतका अनलाइन मुद्रामार्फत भुक्तानी गराउने गरेको रकम पाएपछि ती नेपाली युवालाई सामाजिक सञ्जालबाट सम्पर्क विच्छेद गर्न लगाउने गरेको पाइएको छ ।

ब्युरोका अनुसार पीडित युवकलाई कम्बोडिया र थाइल्यान्डमा रहेको नेपाली दूतावासको सहयोगमा नेपाल फिर्ता गराएको जनाएको छ ।

Published on: 28 September 2022 | Gorkhapatra

Link

Back to list

;