s

सिटिजन्स बैंकले वैदेशिक रोजगारीबाट फर्किएकालाई १० लाखसम्म कर्जा दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

 विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरेको बैंकले जनाएको छ । मिहिनेत गर्न सक्ने उमेर, जोस–जाँगर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने बैंकले विश्वास व्यक्त गरेको छ ।

विदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति–नियम र प्रणालीसँग परिचित नहुनुजस्ता समस्याबाट स्वदेश फर्किएका युवा अन्योलमा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताबारे जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको देखिएकाले यस सम्झौताले यी समस्या समाधानमा सहज हुने बैैंकले जनाएको छ  । बैंकले देशभरमा १ सय ९ शाखा, ९८ एटिएम र १ सय ६ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

Published on: 4 January 2021 | Nayapatrika

Link

Back to list

;