s

चुनाव छाडेर रोजगारीतिर

मेनुका ढुंगाना

अछाम — मुख्य चाडपर्व सकिए दसैंतिहार सकिएलगत्तै अछामबाट कामको खोजीमा भारत जानेहरू बढिरहेका छन् । मंसिर ४ गते हुने आम निर्वाचनको मुखमा मतदानको वास्ता नगरी रोजगारी खोज्दै भारततिर जान लागेकाहरूलाई उम्मेदवारले रोक्न सकेका छैनन् । जिल्लाका कमलबजार, मंगलसेन, जयगढ र साँफेबगरका बसपार्कमा भारत जानेको घुँइचो दिनप्रतिदिन बढिरहेको छ ।

बिहीबारदेखि निर्वाचन आयोगले चुनावी आमसभा गर्न दिएसँगै प्रमुख राजनैतिक दलहरूले आमसभाको तालिका सार्वजनिक गरिरहेका छन् । मतदाता भेटघाट गर्न घरदैलो अभियान सुरु गरेका राजनैतिक दलका उम्मेदवारहरूले मतदातालाई भने रोक्न सकेका छैनन् ।

बुधबार सदरमुकाम मंगलसेनमा रहेको बसपार्कमा कामको खोजीमा भारत जान लागेका मंगलसेन नगरपालिका–१ का रनबहादुर थापाले चुनावकै लागि भनेर रोकिन नसकेको बताए ।

‘दसैंको बेला बम्बैबाट आएको हुँ । तिहार पनि सकियो । खेतीपाती काम पनि सकियो । अब यता बसेर गुजारा चलाउन गाह्रो छ,’ उनले भने, ‘पार्टीका उम्मेदवारहरू आए । मत मागे । त्यही बेला पनि आफ्नो समस्या त राखेकै हो । चुनावपछि यतै बसेर काम गर्न सक्ने आधार भए पो बस्थेँ । मत मात्रै हालेर जीविका चल्दैन ।’

उनका अनुसार यहाँबाट जाने अधिकांश कामदारले होटलमा काम गर्ने, चौकीदारी गर्ने, गाडी धुने काम गर्छन् । गाउँमा चुनावी कार्यक्रममा गएका उम्मेदवारले रोजगारीका लागि भारत जाने मतदातालाई चित्तबुझ्दो रोजगारीको ग्यारेन्टी दिन नसक्दा भारत जान थालेको उनको भनाइ छ ।

कमलबजार नगरपालिका–५ कीे ४५ वर्षीया दुर्गा कामी भने काम गर्ने योजना बनाएर भारत जान थालेकी हुन् । १५ वर्षदेखि भारतमा काम गरिरहेका श्रीमान्ले काम गर्न बोलाएकाले साथी खोजेर जान थालेको उनले बताइन् । ‘घरमा छोराछोरी ठूला भए । अब घरको काम सकेर स्कुल जान सक्ने भएका छन् । काम पाइयो भने दुई/तीन वर्ष उतै काम गर्ने सोच बनाएकी छु,’ उनले भनिन्, ‘अछाममा बसेर कमाइले चामल पनि किन्न सकिएन । नुन, तेल, चिनी, साबुनका लागि पनि बम्बैको भरोसा छ ।’

कमलबजार नगरपालिका–६ का १६ जनाको समूह पनि बुधबार नै भारततिर गए । कुल देउताको पूजा गर्न अछाम आएका उनीहरू हतारमै फर्किएका हुन् । ‘भारतमा गएर काम गर्न थालेको २४ वर्ष भयो । कुनै आपत्विपत्मा मात्रै नेपाल आउँछु । छोराछोरी पनि उतै छन्,’ क्वाल्लेखका सेते कामीले भने, ‘दुई छोरा तीन छोरी पनि उतै पढ्छन् । नेपाल फर्केर बस्नुपरे उनीहरूलाई भाषाको समस्या हुने देखिन्छ ।’

समूहमै भारत जान थालेका मानबहादुर कामीलाई नेपालको राजनीतिभन्दा बढी भारतकै बारेमा थाहा छ । ‘अहिले ५५ वर्षको भएँ । भारतमा काम गर्न जान थालेको ४० वर्ष भयो । अछाममा के पार्टी, को नेता केही थाहा छैन । यता निर्वाचन हुने भए पनि ध्यान उतै छ,’ उनले भने, ‘नेपालको नागरिकता मात्रै छ । अहिलेसम्म नागरिकताको उपयोग पनि केही भएको छैन ।’ चार दशक बढी भारतमै काम गरे पनि अहिलेसम्म एक ठाउँमा कामको र बस्ने टुंगो नभएको उनको भनाइ छ । ‘पढेलेखेका जान्ने बुझ्नेहरूले ठिकै काम पाउँछन् । हामीजस्तो नपढेकालाई भारत गएर राम्रो काम कहाँ पाइन्छ र,’ उनले भने ।

वयस्क महिला र पुरुष मात्रै नभई बालकहरू पनि कामको खोजीमा भारत जाने भएकाले पढाइ छोड्नुपर्ने बाध्यता रहेको अभिभावकहरू बताउँछन् । घरायसी कामको बोझले नियमित विद्यालय नआउने, मौसमी रूपमा भारतमा जाँदा परीक्षा दिन मात्र विद्यार्थी पुग्ने गरेका छन् । छोरीलाई अझै पनि पढाउनुपर्छ भन्ने मान्यता नहुनु र पढाइको स्तर कमजोर हुँदा उत्तीर्ण हुन नसकेर पनि धेरैले पढाइ छोडेर कामको खोजीमा भारत जाने गरेका छन् ।

Published on: 4 November 2022 | Kantipur

Link

Back to list

;