s

चुनावको मुखैमा विदेशिनेका कुरा : हामी पर्यौ परदेशी, भोट हाल्न भ्याएनौं

उपेन्द्र लामिछाने

बुटवल मणिग्रामका ओमनारायण चौधरीलाई पनि अरुलाई जस्तै  चुनावको दिन मतदान केन्द्रमा लाइन लागेर भोट खसाल्ने रहर थियो। अघिल्लो संविधानसभाको चुनावमा जस्तै यस पटक पनि उनको रहर पूरा हुन पाएन। साउदी अरबको रियादस्थित कम्पनीमा वेल्डिङको काम गर्दै आएका चौधरीले कम्पनीको बिदा सकिएकाले चुनावको मुखैमा विदेशिन लागेको सुनाए।

'हामी  पर्‍यौं परदेशी, बिदा सकिएपछि केहीले पनि हामीलाई रोक्न सक्दैन,' काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भेटिएका चौधरीले भने, 'संविधान बन्ने आशा लिएर जाँदैछु।' अघिल्लो संविधानसभा निर्वाचनमा पनि अरबमै रहेका चौधरीले चुनावबाट शान्ति आए स्वदेश फर्कने सुनाए। 'अहिले परिवारको सबै  जिम्मेवारी मेरो काँधमा छ,' उनले भने, 'त्यही भएर भोट हाल्न  मन भए पनि चुनाव भनेर रोकिन सकिएन।'

मंसिर ४ नजिकिँदै गर्दा देशभर  सविधानसभा निर्वाचनको रौनक छाएको छ। यता काठमाडांैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने चौधरीजस्तै थुप्रै नेपालीको  विदेशिने लर्को छ। असोज महिनामा मात्र ३० हजारभन्दा बढी युवा कामको सिलसिलामा विदेशिएको विमानस्थलको  तथ्यांक छ। अहिले दैनिक एक हजार हाराहारी विदेशिने गरेका छन्। निर्वाचनका लागि लाइन लाग्ने बेला आउँदै गर्दा उनीहरु हातमा  पासपोर्ट र भिसा लिएर साउदी, मलेसिया, कतार लगायत  मुलुक हानिनेछन्।  संविधानसभामा भोट हाल्ने रहर भए पनि काम नगरी परिवार नचल्ने भएकाले बाध्य भएर विदेशिनुपरेको उनीहरुको बताए।

पाल्पा वोघापोखराका २९ वर्षे गिरिजा पराजुलीले चुनावको मुखैमा  विदेशिनुपर्दा नरमाइलो लागेको सुनाए। 'गाउँभरि सबैलाई चुनाव लागेको छ,' उनले भने, 'आफू भने भोट माग्न आएकाहरुसँग बिदाइ माग्दै अहिलेलाई कतार जाँदैछु।'  रिगर (क्रेनलाई इसारा दिने) काममा कतार जान लागेका उनले संविधानसभा चुनावबाट देशले बाटो पाउने आशा व्यक्त गरे। 'त्यो भयो भने त्यही बाटोबाट हामी फर्कनेछांै,' उनी थप्छन्, 'स्वदेशमै बसेर काम गर्नेछौं।' 

मत खसाल्न बसे बेरोजगार भइने डरले जानुपरेको  उनीहरुको भनाइ छ। 'गाउँमा चुनावी रौनकसँगै  भोजभतेर सुरु भइसक्यो,' मलेसिया जाँदै गरेका सर्लाही क्षेत्र नम्बर–४ का रामबाबु महतोले भने, 'हामी कामका लागि विदेश हिँडेका छौं।' क्षेत्रका नेता तथा कार्यकर्ताले चुनावसम्म बस्न आग्रह गरे पनि काम गुम्ने डरले त्यो सम्भव नभएको उनले बताए।

पाँचथर अमरवापुवाका रामवहादुर घिसिङको गाउँमा पनि चुनावी रौनक छाएको छ। दलका नेता तथा कार्यकर्ता घरदैलोमा आएर भोट माग्दैछन्। तर उनले भने नेताहरुसँग बिदाइ भेट गरेर साउदी जान लागेको सुनाए। 'भोट हाल्न रोकिन सकिएन,' उनले भने, 'अब आउँदा संविधान  बनेको भने हेर्ने रहर छ।'

देशमा शान्तिसँग काम गर्ने वातावारण मिले आफूहरु विदेशिन नपर्ने उनले बताए। 'अहिले काम छाडेर  भोट हाल्न बसे सधैं बेरोजगार बनिएका भन्ने डर,' उनले थपे, 'मत खसाल्ने रहर हुँदाहँुदै विदेशिनुपर्‍यो।' अघिल्लो चुनावमा समेत मत खसाल्न नपाएका उनले यसपटक भने नाम लेखाइसकेको सुनाए। 'यसै बीचमा कम्पनीले कामका लागि बोलायो,' उनले सुनाए।

गाउँको चुनावी रौनक छाडेर महोत्तरीका श्रवणकुमार महतो पनि मलेसिया जाँदैछन् । कतिपय उम्मेदवारले भोट हाल्न र स्वदेशमै बसेर काम गर्न आग्रह गरेको उनले सुनाए। 'अहिले नेताको कुराको भर लागेन,' उनले भने, 'संविधान निर्माण भएपछि देशमा बसौंला।'

उनलाई विमानस्थलसम्म पुर्‍याउन आएका सर्लाहीका आफन्त ललन महतोले  चुनावको जितहार  टेलिफोनबाट सुनाउने बताए। 'विदेश जाँदै गरेकालाई पनि चुनावको निकै चासो छ,' उनले भने, 'घरमा रहेका आफन्तलाई मन परेको व्यक्तिलाई भोट हाल्न आग्रह गर्दै गएका छन्।'

लमजुङ बेसीसहरका खेमराज गुरुङ पनि गाउँको चुनावी माहोल छाडेर साउदीको रियाद जाँदै थिए। घरमा रहेका आमा, छोरा, श्रीमती र भाइको लालनपालन खर्च आफंैले व्यहोर्नुपर्ने उनले  सुनाए। 'भोट हाल्न नपाए पनि संविधान हेर्ने रहर छ,' उनले भने।

गुल्मी क्षेत्र नम्बर–२ का लेखबहादुर थापाले विदेेशमा बस्नेले पनि भोट हाल्न पाए निकै राम्रो हुने सुनाए। साउदी अरब जाँदै गरेका उनले लाखौं नेपालीलाई चुनावमा सहभागी बनाउन सरकारले पहल गर्नु जरुरी छ। 'हामी रहरले विदेश गएका हैनौं,' उनले भने, 'देशमा राम्रो भए हामी स्वदेशमा काम गर्नेछौं।'

Published on: 10 November 2013 | Nagarik

Back to list

;