s

चिया उद्योगीले मानेनन श्रम ऐन, वार्ता निष्कर्षविहीन

श्रम ऐन कार्यान्वयनको विषयमा चिया उद्योगी र श्रमिकबीच भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला सदरमुकाममा मंगलबार ५ घण्टासम्म छलफल भएपनि सहमति हुन नसकेको हो। 

चिया उद्योगीले सरकारले तोकेको श्रमिकको न्यूनतम् ज्याला, श्रम ऐन–२०७४ र श्रम नियमावली–२०७५ कार्यान्वयन नगरेपछि चिया श्रमिक आन्दोलनमा उत्रिएका छन्। समस्या समाधान गर्न जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा दुवै पक्षबीच सहमति जुटाउन वार्ता भएको थियो । ‘वार्तामा उद्योेगीले सरकारको सहुलियतबिना न्यूनतम् ज्याला कार्यान्वयन गर्न नसक्ने अडान राखेपछि सहमति हुन सकेन,’ वार्तामा सहभागी प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने, ‘तर, वार्ता फेरि बस्छ, वार्ताका लागि कार्यदल बनेको छ।’

चिया श्रमिकले भने श्रम ऐन कार्यान्वयनका लागि दबाब दिँदै उद्योगहरूमा कालो ब्यानर टाँगेर काम गरिरहेका छन् । न्यूनतम् ज्याला कार्यान्वयन नभए उद्योग नै बन्द गरेर आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएपछि मंगलबार जिल्ला तहमा वार्ता भएको थियो। 

पहिलो चरणको वार्तामा सहमति नभएपछि उद्योगीका तर्फबाट सूर्योदय टी एसोसिएसनका अध्यक्ष पुनम राई, डिल्लीराम प्रधान, सुजन नेपाल, सुजन ढुंगाना, टीका अधिकारी र श्रमिकबाट उमेश रेग्मी, केशव केसी, कुबेरमणि खतिवडा र विष्णु भट्टराई रहेको कार्यदल गठन गरिएको छ।

श्रमिक नेता उमेश रेग्मीले कार्यदल बसेर बुधबारसम्ममा सहमति खोज्ने बताए । ‘उद्योगले ऐन कार्यान्वयन गरे सहमति हुने हो, होइन भने अर्काे चरणको आन्दोलन हुन्छ,’ उनले भने, ‘अहिलेसम्म काम नछाडी आन्दोलनमा छौं, माग पुरा नभए अब नयाँ खाले आन्दोलन हुनसक्छ ।’ 

सरकारले चिया श्रमिकको मासिक ज्याला ६ हजार ४ सय ६९ र महँगी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपैयाँ तोकेको छ । दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकिएको छ । चिया कारखानामा काम गर्ने श्रमिकलाई चाहिँ न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ थपिएको छ । 

गत साउन १ देखिनै लागू हुनेगरी साउन ३१ को राजपत्रमा प्रकाशित यो ज्यालादर, श्रम ऐन र नियमावली अहिलेसम्म कुनैपनि चिया उद्योगले कार्यान्वयन नगरेपछि श्रमिक आन्दोलनमा उत्रिएका हुन्।

Published On: 25 September 2018 | Nagarik

Back to list

;