s

चिया उद्योगमा मजदुर अभाव

उद्योगपति-किसान विवादले बारम्बार समस्याग्रस्त बन्ने झापाली चिया उद्योग पछिल्लो समय मजदुर अभाव झेलिरहेको छ। तीन-चार वर्ष अघिसम्म ६० हजारभन्दा बढीले रोजगारीको माध्यम बनाएको चिया उद्योगमा अहिले त्यसको आधा पनि छैनन्।

जिल्लाको कृषि उद्योग सबैभन्दा पुरानो र सम्भावनायुक्त भए पनि व्यावसायिकतासँगै औद्योगीकरणको पहल नगर्दा यस्तो अवस्था आएको हो। न्यून ज्याला र धेरै समय खटाउने चिया बगान तथा उद्योगले वृत्ति विकासमा ध्यान नदिएकै कारण मजदुरहरू विकल्प खोज्दै अन्यत्र लागेका हुन्।

उद्योगी र किसान सधैं विवादमा भुल्दा मजदुर सुरक्षाको सवाल उनीहरूको प्राथमिकतामा पर्दैन। शरीरले सकुञ्जेल काम गर्दा दाम पाइने नत्र अर्को कुनै सुविधा नहुने भएकाले उनीहरू यो क्षेत्रबाट पलायन भएका हुन्। यसको सोझो असर चिया उत्पादनमा परेको छ।

'कुनै बेला चिया बगान र उद्योगमा काम गर्न खोज्नेको संख्या थामिनसक्नु हुन्थ्यो,' जिल्लाका पुराना चिया उद्यमी नरेश बर्मा भन्छन्, 'अहिले मजदुर पाउनै मुस्किल छ।' उनका अनुसार पाँच वर्षअघिसम्म मेची अञ्चलमा एक लाख २० हजार मानिस चिया क्षेत्रमा रोजगार थिए। ८० प्रतिशत महिला रहेको यो संख्यामा ७० प्रतिशत त झापाकै मात्रै थियो। अहिले १६ हजार ७ सय १८ हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती भइरहेको जिल्लामा कति मजदुर छन्, तथ्यांक छैन।

उद्योगी, किसान र मजदुर युनियनका अनुसार झापामा मात्रै हाल २५ हजार हाराहारीमा मजदुर कार्यरत छन्। यो चिया उद्योगलाई चाहिने जनशक्तिभन्दा तीन गुणा कम्ती हो। वर्षभर सात महिना ४० हजार मजदुरले लगातार रोजगारी पाउने अवस्था जिल्लामा छ।

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङका अनुसार चिया क्षेत्रमा स्थायी, अस्थायी, करार र मौसमी गरी चार खाले मजदुर छन्। सबैले दैनिक पाउने सुविधा भनेको १ सय ५८ रुपैयाँ मात्रै हो। स्थायीको पाँच प्रतिशत सञ्चयकोष काटिने र ५५ वर्षको भएपछि २० हजार लिएर अवकाश पाउने व्यवस्था छ।

स्थायी मजदुर पाँच प्रतिशत मात्रै छन्। बाँकी मजदुरले दैनिक ज्यालामा बिहान सातदेखि बेलुका पाँच बजेसम्म खटिनु पर्छ। 'निर्माण क्षेत्रमै खटिँदा पनि दैनिक तीन सय ज्याला पाउँछन्,' उनी भन्छन् 'अनि यो न्यून ज्यालामा को आकर्षित हुन्छ?'

तामाङका अनुसार अहिले सक्ने युवाहरू विदेशमा, कतिपय सहरी क्षेत्रको निर्माण पेसामा र यातायात क्षेत्रमा लागेका छन्। चिया क्षेत्रमा बाहिर गएर श्रम गर्न नसक्ने वृद्धवृद्धा बढी छन्।

सुविधा माग्दै मजदुरहरू वर्षेनी आन्दोलनमा उत्रिन्छन्। तर, अरु बेला ठ्याम्मै नमिल्ने किसान र उद्योगी मजदुर आन्दोलन दबाउन भने एकजुट हुँदै आएका छन्। 'उनीहरू मिलेपछि हाम्रो केही लाग्दैन,' एक मजदुर नेता भन्छन्, 'झगडा गरेर समय बिताउनुभन्दा रोजगारी छाड्नै बेस भन्नेहरू बढे, त्यसैले संख्या लगातार घटिरहेको छ।'

जानकारका अनुसार एक विघा बगानका लागि कम्तीमा तीन जना मजदुर वर्षभरी चाहिन्छ। आफ्नै बगानसमेत भएका महालक्ष्मी टि प्रोसेसिङका सञ्जय घिमिरे भन्छन्, 'तर अहिले बिघामा एक जना पनि नपुग्ने अवस्था छ। यसले पनि उत्पादनमा ह्रास ल्याइरहेको छ।'

हरियोपत्ती टिप्नलायक भएको सात दिनभित्र टिप्नैपर्ने, टिपेको निश्चित समयभित्र उद्योग पुर्‍याउनै पर्ने र त्यहाँ पुगेपछि पनि ढिला भए उत्पादन खेर जाने संवेदनशील क्षेत्र चिया नै हो। 'किसान, उद्योगी र मजदुर चिया उद्योगका अभिन्न तीन पक्ष हुन्,' अगुवा साना किसान मुरारी खरेल भन्छन् 'तर, हामी आफ्नै समस्याबाट पीडित छौं, जसको असर मजदुरसम्म सरेको छ।'

स्थानीय मजदुरहरू विकल्प खोज्दै अन्यत्र जाँदा पनि भूटानी शरणार्थीनजिकै हुञ्जेल उद्योग र बगानले खासै समस्या महसुस गरेनन्। गोल्धाप र टिमाईका शरणार्थी शिविर उठेपछि उनीहरूको आश पनि सकिएको छ। तेस्रो देश पुनर्स्थापना कार्यक्रम सुरु भएपछि शरणार्थीले काम छोड्न थालिसकेका थिए।

Published on: 2 April 2012 | Nagarik

Back to list

;