s

चिया श्रमिकले पाएनन् न्यूनतम ज्याला

बिर्तामोड समाचारदाता

बिर्तामोड, मङ्सिर २३ गते । चिया श्रमिकको न्यूनतम ज्यालाको समस्याप्रति स्थानीय तहले चासो नदेखाउँदा श्रमिक मर्कामा परेका छन् ।

चिया श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ४१५ रुपियाँ निर्धारण भए पनि सबै चिया बगानले लागू नगरेको श्रमिकको गुनासो छ । न्यूनतम ज्याला नपाउँदा श्रमिकको जीवनयापन, छोराछोरीको शिक्षादिक्षा, स्वास्थ्यलगायतमा समस्या रहेको उहाँहरूको भनाइ छ ।

मानव अधिकार एलाइन्स झापाको आयोजनामा बिर्तामोडमा भएको ‘चिया श्रमिकको न्यूनतम ज्याला प्रावधान र कार्यान्वयन अवस्था’ विषयक बहुसरोकारवालासँगको अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले चिया श्रमिकको समस्या समाधान गर्न धेरै प्रतिबद्धता आए पनि त्यसको कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद जसमाया गजमेरले चिया श्रमिकको समस्या समाधानका लागि व्यक्त प्रतिबद्धताको कार्यान्वयन समीक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले ऐन कानुनलाई व्यवस्थित बनाएर चिया श्रमिकको समस्यलाई दिगो रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी चिया श्रमिकहरू राधिका कट्वाल, नारायण दर्जी, गान्धी उराउलगायतले आफूहरूले विभिन्न समस्या लिएर स्थानीय तहमा जाने गरे पनि कहिले आफ्ना समस्याको सुनुवाइ हुने नगरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीले चिया श्रमिकको समस्या समाधानमा तीनै तहका सरकारले तदरुकता देखाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेमा भट्टराईले चिया श्रमिकहरूको समस्याका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Published on: 9 December 2021 | gorkhapatra

Link

Back to list

;