s

चिया श्रमिकको व्यवसायिक स्वास्थ्य शुरक्षामा चासो

इलाम : राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर ६० हजार श्रमिक चिया कारखाना र चिया बगानमा कार्यरत छन्। तर, उनीहरुको व्यवसायिक स्वास्थ्य र शुरक्षामा रोजगारदाता र सरकारको चासो देखिंदैन।

चियालाई ‘बोट बाट ओठ’ सम्म पुर्‍याउन खट्ने श्रमिकहरुलाई आवश्यक पर्ने आधारभूत सेवासमेत कारखानाले उपलब्ध नगराउँदा श्रमिकहरु जोखिममा काम गर्न बाध्य छन्।

चिया बगानमा आवश्यक खाने पानीदेखि शौचालयसम्मको प्रबन्ध नहुँदा महिला श्रमिक समस्यामा पर्ने गरेका चिया श्रमिक चन्दकला तामाङले दुखेसो गरिन्। उनले सुनाइन्, ‘बगानमा काम गरेको १० वर्ष भयो तर व्यवसायिक स्वास्थ्य र शुरक्षाको विषयमा सरकार र रोजगारदाता बुझेर पनि नुबुझे जस्तै गरिदिन्छन्।’

इलाममा चिया विकास निगम बाहेकका चिया बगान र कारखानामा श्रमिकहरुको संगठनसमेत नभएकाले श्रमिकले पाउनै पर्ने सुविधा समेत नपाएको नेपाल ट्रेड युनियन कांग्रेसका कोशी प्रदेशका सहसचिव हरिनाथ फुयालले बताए। उनले भने, ‘नेपालको चियाले विश्वमा नाम कमायो तर त्यही चियामा खट्ने श्रमिकको बारेमा कसैले चिन्ता गरेन।’ चियालाई गुणस्तरीय बनाउन श्रमिकको स्वास्थ्य र शुरक्षामासमेत ध्यान दिनुपर्ने फुयाल बताउँछन्।

ठूला उद्यमीहरु श्रमिकको स्वास्थ्य र शुरक्षामा जानकार भएर पनि शुरक्षाका विधि अपनाउन चाहँदैनन्। तर, साना उद्यमीहरु भने कामदारलाई दिनुपर्ने सेवा बारे जानकारी नभएर पनि अलमलमा पर्ने गरेको बताउँछन्।

इलाम नगरपालिका वडा न १२ को पिताम्बर अर्गानिक चिया प्रशोधन उद्योगका सञ्चालक नन्दलाल भट्टराई भन्छन्, ‘उद्योगले गर्नैपर्ने व्यवस्थाबारे जानकारी नभएर पनि कामदारलाई अशुरक्षाकाबीच काम लगाइरहेको पाइन्छ।’ पछिल्लो समयमा चिया उद्योग लक्षित श्रमिकको स्वास्थ्य र शुरक्षा प्रवर्द्धन गर्ने कतिपय अभियान पछि भने केही मात्रामा शुरक्षाका उपाय अपनाउन थालिएको भट्टराईले बताए।

इलाम र झापाका चिया बगानमा कार्यरत श्रमिकलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कानुन र नीति लगायतका विषयमा सचेतना जगाउने विशेष कार्यक्रम अन्तरगत सचेतनामुलक तालिम लगायतको कार्यक्रम सञ्चालन गरेपछि केही कारखानाले भने जोखिमयुक्त ठाउँमा सुधारको प्रयास थालेको नेपाल उद्योग वाणिज्य महासंघ, उद्योगमा व्यवसाय जन्य शुरक्षा तथा स्वास्थ्य कार्यक्रमका फिल्ड संयोजक गोपाल पौड्यालले बताए।

पछिल्लो समय अन्तर्राष्ट्रिय श्रम संघ संगठन (आइएलओ)ले पनि चिया बगानमा कार्यरत श्रमिकहरुको स्वास्थ्य र शुरक्षाका बारेमा चासो राख्दै आएका छन्। आइएलओकी दक्षिण एसिया प्रमुख प्राविधिक सल्लाहकार भारती विर्ला भन्छिन्,‘व्यवसायिक स्वास्थ्य र शुरक्षाका विषयम उद्योगी र कामदारको सरोकारको विषय भनेर बुझाउनु जरुरी भएको छ।’

उनका अनुसार नेपालमा आइएलओले चिया श्रमिकको स्वास्थ्य र शुरक्षाको विषयमा चासोका साथ काम सुरु गरेको छ।
पछिल्लो रोजगार दाताहरुकै संगठन उद्योग वाणिज्य संघले आइएलओसँगको सहकार्यमा इलाम र झापाका चिया कारखानामा स्थानीय प्रशिक्षकहरु खटाएर व्यवसायिक स्वास्थ्य र शुरक्षाका विषयमा सचेतना जगाउने प्रयास गरिरहेको फिल्ड संयोजक पौड्यालले बताए।

Published on: 22 June 2023 | Annapurna Post

Link

Back to list

;