s

चिया मजदुरलाई जीविकोपार्जन हुने तलब देउ : अर्थमन्त्री

रविन भट्टराई

अर्थमन्त्री डा.युवराज खतिवडाले चिया उद्योगीलाई मजदुरको जिविकोपाजर्न हुने गरी पारिश्रमिक दिन निर्देशन दिएका छन्। झापाको कनकाई नगरपालिकामा शनिबार आयोजित बायोग्यास प्लान्टको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले मजदुरको जीविकोपार्जन नै नहुने पारिश्रमिक दिएर अब उद्योग चलाउँछु भन्ने दिन नरहेको बताए।

उनले चिया मजदुरलाई एक तहको पारिश्रमिक सरकारले निर्धारण गरेको र त्यो लागू गर्दै मजदुरको जिविका चल्ने कति पारिश्रमिक हुन्छ त्यो आपसी समझदारीमा छलफल गरेर मजदुर आन्दोलन रोक्न उद्योगीलाई सुझाव समेत दिए। मजदुरको ज्याला कम भएपछि सबै उद्योग प्रतिस्प्रधी हुन्छन् र विकास गर्न सकिन्छ भन्ने पुरानो भनाई अहिले नरहेको बताउँदै अर्थमन्त्री खतिवडाले अब उद्योगलाई प्रतिस्प्रधी बनाउन ठुलो लगानी र अन्वेषणको साथै नयाँ प्रविधिमा लगानि गर्न आवश्यक रहेको समेत बताए। चिया मजदुरका नेता र व्यवसायी सँग समेत बसेर आपसी समझदारीमा समाधान खोज्न निर्देशन दिएकाले चाँडो समस्याको समाधान हुनेमा आफु आशावादी रहेको मन्त्री खतिवडाको भनाई छ।
 
उनले अहिले सरकार २५ वर्षको दीर्घकालिन दृष्टिकोण सहितको पञ्चवर्षीय योजनाको आधारपत्र तय गरेर अघि बढेकाले मुलुकले २५ वर्षमा नेपालले ठूलो फड्को मार्ने दाबी समेत गरे। २५ वर्षमा दाउराबाट चुलोमा आगो बाल्ने कामको अन्त्य हुने, सबैको पहुँच नवीकरणीय उर्जामा हुने र घर घरमा पाइपबाट ग्यास पुग्ने उनको दाबी छ। कुनै पनि देशको विकास गर्न निजी क्षेत्र र सरकारको सहकार्य नै मुख्य पाटो भएको मन्त्री खतिवडाको भनाई छ। उनले सरकारले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गर्ने भएकाले यस्तो क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे। सरकारको अनुदान मागेर मात्र कम्पनी चलाउँछु, लगानी गर्छु भन्ने मानसिकता भएका व्यवसायी नेपालमा धेरै रहेकाले अनुदान माग्नुभन्दा पहिले आफूले कर कति तिरेको छु भनेर सोच्नु पर्ने उनको भनाई छ।
 
कर तिरे मात्र सरकारको ढुकुटीमा अनुदान दिने रकम जम्मा हुने भएकाले सरकारलाई धेरै अनुदान दिने बनाउन व्यवसायी र नागरिकलाई कर तिर्न पनि उनले आग्रह गरे।अर्थमन्त्री खतिवडाले शनिबार नै कनकाई नगरपालिमा १६ करोड ७० लाख लागतमा बन्न लागेको बायोग्यास प्लान्टको शिलान्यास समेत गरेका छन्।
 
झापाका तीन नगरपालिका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले बनाउन सुरु गरेको सो बायोग्यास प्लान्टका लागि बैकल्पिक उर्जा प्रवन्ध केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ भने अन्य रकम सेरमा लगानी गरिएको छ।तीन वटा स्थानीय तह मिलेर बन्न लागेको सबैभन्दा ठुलो वायोग्यास प्लान्ट नेपालमा योनै पहिलो भएको बैकल्पिक उर्जा प्रबन्ध केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए।
 
हाल उक्त बायोग्यास प्लान्टको खाडल खन्ने काम भईरहेको र आगामी दुई महिना भित्रै खाडल निर्माण सम्पन्न गर्दै अन्य काम सुरु गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले बताए। यो बायोग्यासबाट उत्पादन भएको ग्यास कनकाई नगरपालिका क्षेत्रका ९ सय घरमा पाईप लाईन मार्फत बितरण गरिने छ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको घरघरमा पाइपबाट ग्यास पुर्‍याउँछु भन्दा हावा कुरा संझनेका लागि यो योजना उदाहरण बन्ने बिर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईले बताईन्। प्रधानमन्त्रीको योजना सफल बनाउन सबै स्थानिय तह झापाका जसरीनै लाग्नुपर्ने आवस्यकता रहेको समेत उनको भनाई छ।
 
बायोग्यास स्थापना पछि नगरपालिकाको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन हुने र त्यहाँबाट उत्पादन हुने मल र ग्यासले बाहिरबाट आयातित एलपि ग्यास र मललाई केहि हद सम्म रोक्ने भएकाले आर्थिक क्षेत्रमा देशलाई थप फाईदा पुग्ने अर्जुनधारा नगरपालिका प्रमुख हरीकुमार रानाले बताए।
 
Published on: 21 April 2019 | Annapurna Post

Back to list

;