s

चिया मजदुरलाई आएन दसैँ : सरकारले समेत दिलाउन सकेन पारिश्रमिक

अधिकांश नेपाली दसैँको रमझममा व्यस्त रहँदा झापाका चिया श्रमिकलाई भने दसैँले छुन सकेको छैन । गिरिबन्धु, टोकला र बर्ने चिया बगानमा कार्यरत हजारभन्दा बढी श्रमिकले महिनौँदेखि पारिश्रमिक पाएका छैनन् । दसैँमा छोराछोरीलाई एकजोर लुगा किनिदिनसमेत समस्या भएको उनीहरूले बताएका छन् ।

बिर्तामोडको गिरिबन्धु टी–स्टेट प्रालिमा कार्यरत सयौँ चिया मजदुर विनापारिश्रमिक बगानमै दिन बिताइरहेका छन् । ‘घरमा छोराछोरी छन्, दसैँमा यो चाहियो, त्यो चाहियो भन्छन्, तर हामीलाई भात खान नै पैसाले पुग्दैन,’ चिया मजदुर सावित्रा बस्नेत भन्छिन्, ‘सबैले राम्रो लगाएको देख्दा बच्चाले साह्रै पिरोल्छन्, हामीले काम गरेको ज्याला उद्योगीले दिँदैनन् ।’ पारिश्रमिक नपाए बालबच्चा लिएर सडकमै बस्ने उनले बताइन् ।

पुस्तौँदेखि चियाबगानमै मजदुरी गर्नेहरू पनि प्रशस्तै छन् । अन्य क्षेत्रमा भन्दा कम ज्याला पाउँदा पनि उनीहरू श्रम गरिरहेकै छन् । तर, दसैँको मुखमा पटक–पटक पारिश्रमिक माग्दासमेत नपाएपछि उनीहरू समस्यामा छन् । दसैँ टार्न चिया मजदुरले कतैबाट ऋणसमेत पाउँदैनन् । ‘हामीलाई कसले पत्याउँछ ऋण ?’ चिया मजदुर चन्द्रमाया सुब्बा भन्छिन्, ‘पोहोर पनि पेस्की मात्र दियो, यो साल पनि ठग्यो, बढेको तलब पनि दिएन, न बोनस नै छ ।’

छरछिमेक सबैले दसैँका लागि किनमेल गरिसके पनि चिया मजदुरलाई भने बिहान–बेलुकाको छाक टार्नै समस्या छ । ‘हाम्रो खानपिनकै टुंगो छैन, नानीहरूलाई केही किनिदिएको पनि छैन,’ चिया मजदुर मसिनी सुब्बाले भनिन्, ‘पहिले हप्ताहप्तामा तलब पाइन्थ्यो, अहिले महिनौँ भयो, कहिले दिन्छ टुंगो छैन ।’

नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भइसकेको छ । त्यसयता चिया श्रमिकहरूले चरम शोषण भोग्दै आएको मजदुर नेताहरू बताउँछन् । पटक–पटक वार्ता, संवाद र सम्झौता भए पनि चिया व्यवसायीले कहिल्यै कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ ।

मजदुर संगठनहरूका अनुसार देशमा हाल २२ देखि २५ हजार नियमित चिया श्रमिक छन् । चिया टिप्ने सिजनमा त्यो संख्या ५० देखि ६० हजारसम्म पुग्ने अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले बताए । झापामा मात्र २८ वटा चिया कारखाना छन् ।

सरकारले समेत दिलाउन सकेन पारिश्रमिक

सरकारले १ साउनदेखि लागू हुनेगरी चिया मजदुरको पारिश्रमिक दैनिक ३ सय ८५ रुपैयाँ तोकेको छ । तर, उक्त पारिश्रमिक मजदुरले पाएका छैनन् । सरकारले समेत उक्त पारिश्रमिक दिलाउन सकेको छैन । रकारले तोकेको ज्याला चिया उद्योगीले दिन नमानेपछि मजदुर पटक–पटक आन्दोलनमा उत्रिरहेका छन् । हालसम्म चिया मजदुरले दैनिक २ सय ७८ रुपैयाँ मात्रै ज्याला पाउँदै आएका छन् । तर, त्यो पनि हात नपर्दा श्रमिकको दसैँ खल्लो भएको छ ।

Published on: 16 October 2018 | Naya Patrika

Back to list

;