s

चिया मजदुरको समस्या समाधान गर्न पहल

रविन भट्टराई

नेपाल सरकारले चिया श्रमिकका लागि तोकेको न्यूनतम पारि श्रमिक दिन माग गर्दै १० दिनदेखि चिया मजदुर आन्दोलनमा छन्। झापासहित चिया उत्पादन र प्रशोधन गर्ने चिया बगान र कारखाना आन्दोलनकै कारण ठप्प छन्। मजदुरलाई सरकारले तोकेको न्यूनतम पारि श्रमिक दिन पहल गरेर कारखाना र बगान सञ्चालनमा केन्द्रीय रूपमा चासो नभएपछि झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रको चिया बगान सञ्चालन गर्ने मजदुर र सञ्चालकलाई राखेर समस्या समाधान गर्न सुरु गरेको छ।

नगरपालिकाले नगर प्रमुख विमल आचार्यको कार्यकक्षमा नगरभित्र सञ्चालनमा रहेका बगान सञ्चालक, सरकारका प्रतिनिधि र त्यसमा कार्यरत चिया मजदुरका प्रतिनिधिलाई बोलाएर मंगलबारबाट वार्ता सुरु गरेको हो। आचार्यले आफूले बगान सञ्चालकलाई सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरेको बताए। लामो समयको छलफलपछि झापाको मेचीनगर–७ मा रहेको राज टी स्टेट वैशाख ३ गतेबाट सञ्चालनमा ल्याइने र मजदुरलाई तोकेबमोजिम पारि श्रमिक दिने सहमति भएको उनले जानकारी दिए।

बगान सञ्चालन गर्न नगरपालिकाले पनि सहजीकरण गर्ने र बगान सञ्चालकले पनि मजदुरलाई सरकारले तोकेकै पारि श्रमिक दिने विषयमा छलफल भएको बगान सञ्चालक सन्तोश सुब्बाले बताए। प्रमुख आचार्यले स्थानीय सरकारका हैसियतले मजदुरलाई सडक आन्दोलन छाड्न तथा चिया बगान सञ्चालकले बगान खोलेर नियमित कामकाज गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे। उनले केही दिनमै सबै छलफलको माध्यमबाट चिया बगान सञ्चालनमा ल्याउन आफूले दैनिक प्रयास गर्ने बताए। ‘स्थानीय तह कानुन कार्यान्वयन गराउने जिम्मेवार निकाय भएकाले समस्यालाई चर्काउनुभन्दा सामूहिक पहलबाट समाधान गर्न आवश्यक रहेकाले मैले वार्ता र छलफलको प्रयास गरेको हुँ’, उनले भने।

राज टी स्टेटका सञ्चालक सुब्बाले श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकको न्यूनतम तीन सय ८५ रुपैयाँ २०७५ साउन १ गतेदेखिनै कार्यान्वयन हुने गरी ऐनले तोकेअनुसार न्यूनतम पारि श्रमिक मजदुरलाई दिने र वैशाख ३ गतेदेखि बगान खोल्ने बताए। उनले सरकारले कारखाना सञ्चालकभन्दा पनि हरियो चियापत्ती उत्पादन गर्ने कृषकलाई अनुदान, सहुलियत दिनुपर्ने माग गरे। नेपाली चियाको गुणस्तरमा उत्पादकले ध्यान दिन र गुणस्तर खोज्न जरुरी रहेको तथा बजार व्यवस्थापनमा सरकार लाग्नुपर्ने उनको भनाइ थियो। सरकारले तोकेको ज्याला नपाएको भन्दै देशभरका चिया मजदुर चैत १७ गतेदेखि आदोलनमा छन्। श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकको न्यूनतम तीन सय ८५ रुपैयाँ २०७५ साउन १ गतेदेखिनै कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ।

Published on: 10 April 2019 | Annapurna Post

Back to list

;