s

चिया मजदुरको न्यूनतम तलब १० हजार सात सय

सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारि श्रमिक मासिक १० हजार सात सय ८१ रुपैयाँ निर्धारण गरेको छ । साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको पारि श्रमिक निर्धारण गरिएको हो ।

योसँगै चिया बगानमा काम गर्ने श्रमिकले सरकारले निर्धारण गरेकै पारि श्रमिक पाउनेछन् । सरकारले बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार चिया बगानमा काम गर्ने श्रमिकले आधारभूततर्फ मासिक ६ हजार चार सय ६९ र महँगीभत्ता मासिक चार हजार तीन सय १२ गरी १० हजार सात सय ८१ रुपैयाँ न्यूनतम तलब पाउनेछन् ।

यसका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया बगानमा दैनिक काम गर्ने श्रमिकको तलब पनि निर्धारण गरेको छ । चिया बगानमा दैनिक काम गर्ने श्रमिकले आधारभूततर्फ दैनिक दुई सय ३१ र महँगीभत्ता एक सय ५४ गरी जम्मा तीन सय ८५ रुपैयाँ पारि श्रमिक पाउने मन्त्रालयले जनाएको छ । घण्टाका हिसाबले काम गर्ने श्रमिकले प्रतिघण्टा ५१ रुपैयाँका दरले पारि श्रकिम प्राप्त गर्ने छन् । मन्त्रालयका अनुसार चिया बगानमा घण्टाको हिसाबमा काम गर्ने श्रमिकले आधारभूतर्फत प्रतिघण्टाको ३१ रुपैयाँ र महँगी भत्ता स्वरुप २० रुपैयाँ गरी जम्मा ५१ रुपैयाँ पाउनेछन् ।

यस्तै सरकाले चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानमा सदार, नाइके र चौकियाबारको समेत दैनिक भत्ता तोकेको छ । उनीहरूको दैनिक भत्ता ४२ रुपैयाँ हुनेछन् । यो न्यूनतम पारि श्रमिक मुलुकभरका सबै रोजगारदाता एवं प्रतिष्ठानमा कार्यरत श्रमिकका लागि लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी उद्योग, कारखाना र प्रतिष्ठानमा कार्यरत कामदारको न्यूनतम मासिक तलब १३ हजार चार सय ५० रुपैयाँ निर्धारण गरेकोे थियो । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारि श्रमिक निर्धारण भएको थियो ।

Published: 17 August 2018 | Annapurna Post

Back to list

;