s

चिया मजदुरको आन्दोलन टुंगिएन

वार्षिक अढाई अर्ब रुपैयाँभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रमा कार्यरत मजदुरले सेवा सुविधा कम पाएको गुनासो गर्न छाडेका छैनन् ।

सेवा सुविधाको विषयमा पटकपटक विरोधमा उत्रने चिया मजदुरहरू पुन: आन्दोलनमा होमिएका छन् । ३ वर्षसम्म कुनै आन्दोलन नगरेका चिया मजदुरले यसपालि सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।

चिया क्षेत्रमा काम गर्ने श्रमिकहरूले अन्यसरह कुनै पनि सेवा सुविधा नपाएको र सरकारले राजपत्रमा तोकेको पनि कार्यान्वयन नहुँदा आन्दोलनमा जानुपरेको उनीहरूको भनाइ छ । इलाम, झापा, धनकुटालगायत चिया बढी उत्पादन हुने क्षेत्रका मजदुरहरू मारमा परेको भन्दै आन्दोलनमा लागेका हुन् ।

मुना धेरै पलाउने मुख्य सिजनमा हुने आन्दोलनले चियाको कुल उत्पादनमा नै असर पुर्‍याउने गर्छ । मजदुरहरूले भने माग पुर्‍याउन यही अवसर उपयुक्त भएको दाबी गर्ने गरेका छन् । सरकारले चिया क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सहयोग नगरे आफूहरूले मात्रै मजदुर समस्या समाधान गर्न नसक्ने उद्योगीहरूको भनाइ छ ।

राजपत्रमा उल्लेख गरेबमोजिम गर्न र श्रम ऐन २०७४ लागू गर्न दबाब दिँदै मजदुर संगठनहरूले भदौ १७ देखि आन्दोलन सुरु गरेका हुन् । बगान र कारखानालाई असर नपर्ने गरी उनीहरूले हालललाई आन्दोलनका कार्यक्रम ल्याएको जनाएका छन् ।

Published On: 12 September 2018 | Kantipur

Back to list

;