s

चिया मजदुरका समस्यै समस्या

चन्द्र कार्की

‘अरू क्षेत्रको बढेको बढ्यै, हाम्रो पारिश्रमिक बढेन’

बाल्यकालमै चिया विस्तार आयोजना सोल्मामा काम गर्न थालेकी लालीगुराँस नगरपालिका ९ सन्सारी सोल्माकी विष्णुमाया सुवेदीले अहिलेसम्म सरकारले तोकेको ज्याला पाउन सकेकी छैनन् ।

झापाको टोकला चिया बगानमा पत्ती टिप्दै श्रमिक महिला । १३ वर्षको उमेरमा चिया मजदुरको रूपमा बगान छिरेकी उनी ४३ वर्ष पुगिसकिन् । बगानमा काम गर्दा गर्दै उमेर बूढो भएर केशसमेत फुल्न थालेको छ तर सेवा सुविधा भने धेरै पहिलेको भन्दा थोरै मात्र बढेको छ ।

चिया टिप्न बगान छिर्दा उनको दैनिक ज्याला ९ रुपैयाँ थियो । त्यस बेला महँगी पनि बढेको थिएन । अहिले उनको ज्याला बढेर दैनिक २ सय ५३ रुपैयाँ पुगेको छ, तर महँगी भने बढेर आकासै छुन लागेको छ । महिनाभर चियाको हरियो पत्ति टिपेर आउने ६ हजार ५ सय ७८ रुपैयाँ पैसाले महिनामा १५ दिनको घर खर्च टार्न पनि पुग्दैन । ‘मजस्ता चिया मजदुरको श्रम शोषण भइरहेको छ,’ बगानमा हरियो पत्ती टिप्दै गरेकी सुवेदीले भनिन्, ‘तोकेको ज्याला माग्दा माग्दा हैरान भैसक्यौं, अहिलेसम्म दिएको छैन् ।’ सोल्माकै केशव भण्डारी पनि ०५७ सालदेखि बगानमै चिया मजदुरको रूपमा काम गरिरहेका छन् । उनको पनि समस्या उस्तै छ । परिवार ठूलो छ । बगानमा महिनाभर काम गरेर आउने पारिश्रमिकबाट आधा महिना पनि घर खर्च चलाउन नपुग्ने उनले गुनासो गरे ।

छोराछोरी पढाउन, औषधि उपचार खर्च, घरमा चाहिने खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु खरिदसमेत गरेर महिनामा २५ हजार रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए । बाँकी रकम आफ्नै चिया खेती, गाईपालन र परिवारका अन्य सदस्यले अरूकोमा काम गरेर जुटाउने गरेको उनले दुखेसो सुनाए ।

२०४१ मा चिया विकास निगमले सुरु गरेको आयोजना ०४८ बाट राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सञ्चालन गर्दै आएको छ । आयोजनामा ७ जना स्थायी मजदुर कार्यरत छन् । मुना टिप्ने सिजनमा थप मजदुर आयोजनाले लगाउँदै आएको छ । तर, दैनिक ज्याला भने स्थायी र अस्थायी कामदारको समान छ । मुना टिप्ने सिजनमा दैनिक १० देखि २० जनासम्म मजदुर आउने गरेको चिया विस्तार आयोजना सोल्मा प्रमुख विजयकुमार मिश्रले जनाए । आयोजनामा काम गर्ने स्थायी कामदारलाई आयोजनाले थोरबहुत सेवा सुविधा थप गरिदिएको भए पनि अन्यको हकमा त्यो पनि नभएको अर्का चिया मजदुर कर्मप्रसाद पोखरेलले बताए ।

सरकारले चिया बगानमा काम गर्ने मजदुरको दैनिक ज्याला ३ सय २३ रुपैंया तोकिदिएको भए पनि आयोजनाले भने २ सय ५३ रुपैयाँ मात्र दिंदै आएको कामदार सूर्यमान समालले बताए । सरकारले श्रम ऐन २०७४ मा श्रमिकको मासिक पारिश्रमिक ९ हजार ४ सय रुपैयाँ तोकिदिएको छ । तर, चिया मजदुरले त्यो ज्याला नपाएको गुनासो गरेका छन् ।

नयाँ श्रम ऐनमा सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था पनि गरिएको छ । चिया मजदुरले यो सुविधा पनि पाएका छैनन् । बगानमा काम गर्ने चिया मजदुरले बिमाको सुविधा लामो समयदेखि माग गर्दै आएका छन् । तर, आयोजनाले कामदारलाई यो सुविधा पनि पाएका छैनन् । कामदारलाई आयोजनाले चिया टिप्ने समयमा माक्स, पञ्जा, प्लास्टिक जुत्तालगायतका सामान्य सामान भने दिइएको छ । मजदुरलाई आयोजनाले वर्षमा औषधि उपचार खर्चबापत ५ सय रुपैयाँ, एउटा छाता, दसैं खर्चका लागि १५ दिन बराबरको ज्याला र वर्षमा २० दिन बराबर बिदा सुविधा दिइँदै आएको छ ।

त्यसबाहेक ५८ वर्ष उमेर हद पूरा भए पनि आयोजना आफैंले कामदारलाई बिदा गर्दा एकमुष्ठ २० हजार रुपैयाँ उपदान सुविधा दिएर घर पठाउने गरेको छ । तर, अस्थायी र ज्यालादारी र करारका कामदारले यो सुविधा पनि नपाउने गरेको मजदुरको गुनासो छ ।

आयोजनाको बगानमा काम गर्ने मजदुरका लागि अलग्यै शौचालयसमेत छैन । कार्यस्थलमा आराम गर्ने ठाउँ, महिलाका लागि अलग्यै शौचालयजस्ता सुविधा नहुँदा पनि समस्या भएको उनीहरूको भनाइ छ । आयोजनामा काम गर्ने चिया मजदुरको सेवा सुविधा बढाउने विषयमा माथिल्लो निकायमा पटकपटक लेखी पठाएको तर कुनै सुनुवाइ नभएको आयोजना प्रमुख मिश्रले बताए । आयोजनाले १ सय २६ रोपनी क्षेत्रफल जमिनमा चिया खेती लगाएको छ ।

Published on: 8 May 2018 | Kantipur

Back to list

;