s

चिया मजदुरद्वारा धर्ना

श्रम ऐन कार्यान्यवनको माग राख्दै तीन सातादेखि आन्दोलित चिया श्रमिकले आइतबार सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा २ घण्टा धर्ना दिएका छन् । सभा आयोजना गर्दै उनीहरूले संघर्षका थप कार्यक्रम गरिने बताए ।
 
असोज ९ गते समन्वय समितिले गरेको निर्णयसमेत कार्यान्वयन नगरेको भन्दै उनीहरूले कार्यालय परिसरमै धर्ना दिए । श्रमिक नेता सीता सापकोटाले ९ महिना बित्दा पनि आश्वासन पूरा नभएकाले ध्यानाकर्षणका लागि धर्नामा बसेको बताइन् ।श्रमिक नेता दीपक तामाङका अनुसार सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटी श्रमिकका माग र श्रम ऐन कार्यान्वयनबारे छलफल गरिनेछ । श्रम ऐन लागू भएको दुई वर्ष बितिसक्दासमेत उद्यमीहरूले कार्यान्वयनमा चासो नदेखाएपछि श्रमिकहरू आन्दोलनमा उत्रिएका हुन् ।
 
२०७४ भदौ १९ गते जारी भएको श्रम ऐन अझै कार्यान्वयन हुन सकेको छैन । ‘हाम्रो माग उद्यमीले सरकारले तोकेको ऐन कार्यान्वयन गरुन् भन्ने हो,’ श्रमिक नेता भरत राईले भने, ‘कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहन्छ ।’श्रमिकका मागबारे चिया श्रमिकका प्रतिनिधि, चिया उद्योग व्यवस्थापन पक्ष र सरकारबीच सहमति हुन नसक्दा आन्दोलन लम्बिँदै गएको छ । आन्दोलनका कारण चियाको ‘फस्ट फ्लस’ टिपिएको छैन । जसका कारण १५ करोडभन्दा बढी नोक्सानी भएको छ ।
 
श्रम ऐनमा मजदुरको स्वास्थ्य बिमा र दुर्घटना बिमाको व्यवस्था रहेकाले दुर्घटना बिमाअन्तर्गत थप तीन लाखको बिमाको व्यवस्थापन सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्ने माग पनि श्रमिक नेताहरूको छ ।श्रम ऐनअनुसार वार्षिक एक लाखको स्वास्थ्य बिमा जसको बिमा शुल्क मजदुर र व्यवस्थापन पक्षले आधा–आधा व्यहोर्नुपर्ने तथा दुर्घटना बिमाअन्तर्गत सात लाखको बिमामा सबै बिमा शुल्क उद्योगी पक्षले व्यहोर्नुपर्ने व्यवस्था छ । अहिले २७८ रुपैयाँ दैनिक ज्याला बुझ्दै आएका मजदुरले श्रम ऐन कार्यान्वयन भए दैनिक करिब ४ सय रुपैयाँ ज्याला, थप १० प्रतिशत सञ्चय कोष र ८ दशमवल ३३ प्रतिशतको उपदान रकम पाउने व्यवस्था छ ।
 
त्यस्तै मजदुरले मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ पाउनुपर्ने व्यवस्था छ । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटाले चिया श्रमिकले कम ज्यालाका कारण धेरै जोखिम व्यहोर्नुपरिरहेको बताए । देशभर ५० हजार र झापामा करिब ३० हजार श्रमिक रहेको अनुमान छ ।
 
Published on: 22 April 2019 | Kantipur

Back to list

;