s

चिया मजदूर बगान पसे

विनोद सापकोटा 

ईलामका ४ चिया बगान वाहेक मेची अन्चलका सवै चिया बगानमा मंगलवारदेखि काम गर्न चिया मजदूर बगान पसेका छन। नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदूरले ईलामका चार चिया बगान वाहेकमा आन्दोलन फिर्ता लिएर काम गर्न बगान पसेका हुन। ईलामको कन्याम चिया वगान, इलाम चिया बगान, सोक्तिम चिया बगान र चिलीमकोट चिया बगान वाहेक मेची अंचलका सवै चिया बगानमा आजदेखि मजदूर काममा फर्कीएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले सेतोपाटीलाई बताए।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदूर आन्दोलनमा उत्रिएका थिए। यस अघि सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदूरको विभिन्न संघ संगठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो। वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब २३१ रुपैयाँ, महंगी भत्ता १४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ, सबै चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने उल्लेख छ।

गत साउनदेखि नपाएको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदूरलाई भूक्तानी गरिसक्नुपर्ने सहमति गरिएको छ। यसैगरी, सहमतिको दोस्रो बुँदामा श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख छ। अन्तिम बुँदाको सहमतिमा गत चैत १७ गतेदेखि बन्द रहेका चिया बगान आजदेखि खुला गर्ने र मजदूर काममा फर्किने उल्लेख छ। सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरी तथा मजदूरका तर्फबाट अखिल नेपाल चिया मजदूर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भुपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन। चिया क्षेत्रमा कार्यरत ५० हजार मजदूर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै कठोर आन्दोलनमा थिए।

Published on: 14 May 2019 | Setopati

Back to list

;