s

चिया मजदूर न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित

यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् ।

न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् ।

नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ ।

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक २७८ बाट वृद्धि गरी ३८५ रुपैयाँ निर्धारण गरेको छ ।

सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए।

चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । “सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,” उनले भने ।

अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताए ।

अखिल नेपाल चिया मजदूर सङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताएका हुुन् । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारवाही गर्नुपर्ने उनको माग छ ।

Published On: 3 September 2018 | Setopati

Back to list

;