s

चिया कृषकलाई श्रमिककै समस्या

विप्लव भट्टराई

अन्तुका लक्ष्मण गौतमले चिया बगानमा काम गर्न चाहनेलाई खान बस्न सुविधादेखि राम्रो पारिश्रमिक दिन खोजेका छन् । तर, कोही पाएका छैनन । त्यसैले हरियो चियापत्ती टिप्न बिहान उज्यालोसँग निस्किएका श्रीमान्–श्रीमती अबेरसम्म त्यही काममा हुन्छन् ।

सामाजिक काममा जान नपाएकाले एक्लिँदै गएको उनको अनुभव छ । ‘नटिपौं बोटमा नै हुर्किएर जान्छ,’ उनले भने, ‘एक्लैले टिपेर सम्भवै छैन ।’
 
करिब २५ रोपनी बगान भएका गौतमले कोही परिवारसहित आए गासबासको व्यवस्था गर्दै आर्कषक पारिश्रमिक दिएर राख्ने योजना बनाएको धेरै भयो । तर, श्रमिक पाउन त्यति सजिलो छैन । घरका सदस्य र अर्मपर्मकै भरमा यहाँको चिया खेती चलेको छ ।
 
छिमेकी लालधन राईको अवस्था पनि उस्तै छ । घरबारी र पाखाभित्तामा पनि चियाले ढकाएर आम्दानी लिने सोच बनाएका उनलाई पछिल्लो समय श्रमिक अभावले साँच्चै सताएको छ । नियमित टिप्न नभ्याएर कतिपय उत्पादन त बोटमा नै मासिने गरेको उनको अनुभव छ । वर्षभरिको मेहनत र लगानी उठाउन पनि चिया टिपेर कारखाना पुर्‍याउनैपर्छ । तर, समयमा श्रमिक नपाउँदा कठिन छ ।
 
योपटक चियाको मूल्य पनि विगतको तुलनामा राम्रै छ । सूर्योदय नगरपालिकाले चियामा आचारसंहिता लागू गर्दै गुणस्तर सुधार गर्ने प्रयास गरेको छ । नगरपालिका क्षेत्रमा चियाको न्यूनतम मूल्य अनिवार्य दिनैपर्ने प्रावधान गरिएपछि कृषकलाई पनि फाइदा पुगेको हो । बाँच्ने प्रमुख आधार नै चिया खेती भए पनि विदेश पलायन हुने क्रम नरोकिँदा चिया श्रमिकको अभाव बढेको हो । मेची खोला तरेर सीमापारि चिया टिप्न गएको श्रीअन्तुका बासिन्दालाई अहिले जस्तो लाग्छ ।
 
घरको आर्थिक भार टार्नकै लागि दिनहुँ सीमापारि मिरिक र ओकाइटीका बगान धाउनु उनीहरूको नियमितता नै थियो । तर, अहिले ती दिन टरेका छन् । गाउँकै डाँडाकाँडा चियाले हराभरा भएपछि पारि जानेहरू आफ्नै बगानमा व्यस्त हुन थालेका हुन् । बरु चिया टिप्नकै लागि पारिकाहरू वारि आउने गर्छन् । तर, अन्तुको श्रमिक माग थेग्न पर्याप्त छैन ।
 
‘चिया बगानमा काम गर्ने दर्जनौंको आवश्यकता छ,’ अन्तुका केशव घिमिरेले भने, ‘तर, पाउनै सकिँदैन ।’ चियामा व्यस्त हुनुपरेपछि छरछिमेक आफन्त कहीँकतै पुग्न कठिन हुने उनको भनाइ छ ।
 
पछिल्लो समय चिया कारखाना खुल्ने क्रमसँगै कृषकले बगान पनि बढाएका छन् । यसका कारण पनि पर्याप्त श्रमिक पाउन कठिन छ । धेरै चिया उत्पादन हुने जिल्लाका अन्यत्र क्षेत्रमा पनि श्रमिक अभाव उस्तै छ । कन्याम, फिक्कल, साँखेजुङलगायत स्थानमा बगान स्यहार्न धौधौ परेका कृषकहरू परिवारसहित कोही आएर बसिदिए हुन्थ्यो भन्ने ठान्छन् ।
 
जिल्लाका करिब १५ हजार कृषक चियामा निर्भर छन् । चिया पलाएर दुई पात एक सुइरोमा नै टिप्दा गुणस्तरको हिसाबले राम्रो हुने भएकाले कारखानाले मूल्य पनि धेरै दिने गरेका छन् । तर, कामदारको अभावमा उचित समयमा टिप्न नपाउँदा छिप्पिएर गुणस्तरमा ह्रास आउने गरेको छ । ‘चिया बगान अधियाँ दिनुको विकल्प भेटिनँ,’ साँखेजुङका सविन बस्नेतले भने, ‘करिब २५ रोपनी चिया बगान अधियाँ दिएको छु । उत्पान र खर्च दुवै आधा ।’ कतिपयले त ठेक्का लिने या अधियाँ लिने मान्छे पनि भेटदैनन् ।
 
जनशक्ति अभावकै कारण चिया टिप्ने मेसिनको प्रयोग पनि बढदो छ । मेसिनको प्रयोग बाध्यकारी मात्र भएको कृषक बताउँछन् । एकैनाशको टिपाइ नहुने र पत्ती पनि केही ढिलो पलाउने कृषकको भनाइ छ । जिल्लाका निगमअन्तर्गत रहेका बगानमा पनि मजदुरको अभाव बढदो छ ।
 
पारिश्रमिक कम भएको भन्दै त्यहाँका मजदुर पनि वैकल्पिक पेसामा जाने गरेका छन् । धेरै मजदुर वैदेशिक रोजगारीमा पनि गएका छन् । चियाबारीमा काम गर्ने व्यक्तिको हाहाकार हुँदा पनि यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने लहर हटेको छैन ।
 
Published on: 4 August 2018 | Kantipur

Back to list

;