s

चितवनबाट हिँडेरै कोहलपुर

प्रदेश ब्युरो

काठमाडौँ — कोही घाम तापेर निदाएका छन् । केटाकेटी चौरमा खेलिरहेका त युवा मोबाइलमा झुम्मिएका, महिला भने कपाल कोर्नमा व्यस्त । चितवनबाट १२ दिनको पैदल यात्रापछि बुधबार बाँकेको कोहलपुर आइपुगेका उनीहरू अहिले सामान्य दैनिकीमा फर्किन खोज्दै छन् । यद्यपि घरसम्म भने पुग्न पाएका छैनन् । ६६ जना भारतीय नागरिकको उक्त टोली अहिले कोहलपुर–१४, हवलदारपुरस्थित राम मावि मैदानको क्वारेन्टाइनमा बसिरहेका छन् । 

देशभर लकडाउनका कारण अत्यावश्यक सवारीसाधन मात्रै गुडेका थिए। पैदल यात्रा लामो र पीडादायी दुवै थियो तर हिम्मत हारेनन्। युवाले केटाकेटीलाई साइकलमा गुडाए। पाका महिला र पुरुषले सामान बोकेरै हिँडे। उनीहरूसित १० वटा साइकल थिए। ‘दिनमा ४० किलोमिटरसम्म साइकल पेल्थ्यौं,’ अनिल पत्थरकट्टाले भने, ‘१२ दिन नरोकिएर नेपालगन्ज आइपुगेका हौं।’ परिवारसहित प्लास्टिकको बाँटा बेच्न चितवन पुगेका उनीहरू दुई दिनमै लकडाउन सुरु भएपछि अलपत्र परे। एकातिर पेट पाल्नको पिर अर्कोतर्फ कोरोना भाइरस संक्रमणको जोखिम, यस्तोमा उनीहरूले घर फर्किनु नै उत्तम ठाने। ‘जति थकाइ लागे पनि हिँड्न छाडेनौं, रोगले उतै मरिने डरले हिँडेका हौं,’ ४० वर्षीया जयमुला पत्थरकट्टाले भनिन्, ‘आफ्नै घर जान चाहन्छौं, मरे पनि त्यहीँ मरौंला भनेर आयौं।’ 

खाना पकाउने भाँडाकुडा र बिस्तरा बोकेर हिँडेका थिए। अलिकति जुटाएको रासन सकिएपछि चाउचाउ र चिउरा खाएर भोक मेटाए। कति दिन भोकभोकै पनि हिँडे। ‘रोग सर्ने डरले होला बाटामा कसैले खाना पनि दिएनन्,’ काखमा पाँच महिनाको छोरो बोकेर आएकी इलाइची पत्थरकट्टाले भनिन्, ‘बाटाभरि फोटो खिच्ने र सोध्ने धेरै आए, खान दिने कोही भएनन्।’ एक दिन खाना खाएर दुई दिन यात्रा गरेको उनले बताइन्। कति गते र कुन बार हिँडेको भेउ नपाएको बताउने उनले कति दिन हिँडियो भन्ने चाहिँ बिर्सिएकी छैनन्। बुधबार साँझ कुसुमसम्म आएका उनीहरूलाई प्रहरीले केरकार गरेर क्वारेन्टाइनमा लगेको हो। 

पहिलो दिन सबैको शरीरको तापक्रम नापेर क्वारेन्टाइनमा राखिएका उनीहरूको रेखदेखका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छैन। स्कुलको एउटै कोठामा तीन जनाको परिवार सँगै सुतिरहेका छन्। आएको दिन सेनाले खानाको व्यवस्था गर्‍यो। बिहीबारदेखि भने आफैं खाना पकाएर खान थालेका छन्। ‘मासु अनि पिरो खान नपाएर छटपटाएका छौं,’ विमला पत्थरकट्टाले भनिन्, ‘चामल अनि दाल मात्र दिन्छन्। भोकै मेटिएजस्तो भएन।’ उक्त समूहका १४ महिला, २० पुरुष र ३२ बालबालिका गरी ६६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रहरी निरीक्षक इन्द्र बोगटीले बताए। 

‘१२ दिन हिँडेर आए पनि कोही बिरामी जस्ता देखिँदैनन्,’ उनले भने, ‘खाना पकाउँदै खाने मात्र गर्छन्, त्यसैले पनि खाद्यान्न पुर्‍याउन सकेका छैनौं।’ भारतको नानपारा घर भएका उनीहरूलाई भारतीय अधिकारीलाई जानकारी गराएर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न मुलुकभर लकडाउनको निर्णय गरेपछि राजधानी र सहरमा विकास निर्माणका काम रोकिए। त्यसको मारमा अधिकांश ज्यालादारी मजदुरहरू पनि परे। केही दिन काम पाइने आशामा बसेका उनीहरू लकडाउन अवधि थपिँदै गएपछि काठमाडौंमा भोकै बस्नुभन्दा गाउँ फर्किनु उचित ठानेर पैदल गन्तव्यतर्फ लम्किरहेका छन्। यिनैमध्येका एक हुन्, बाँकेको नेपालगन्जका शिवराज थारू। 

उनकामा लकडाउनको तीन दिनपछि नै चुलो बल्न छाडेको थियो तर तत्काल घर फर्किन गाडी चलेका थिएनन्। साथीभाइसित सापटी गरेर केही दिन यहीँ अल्झिए। तेस्रोपटक लकडाउनको समय थप भएपछि भने यहाँ बस्ने कुनै उपाय देखेनन्। ‘काठमाडौं बस्नलाई खर्च भएन,’ उनले भने, ‘त्यही पनि भारी बोक्न पाइन्छ कि भनेर टोखाको भित्री गल्लीमा हिँडे। पसल बन्द भएपछि भारी बोक्ने काम पनि नपाइने रहेछ।’ उनीजस्तै बेखर्ची बनेका बाँकेका मजदुरहरू भेला भए। पैदल घर पुग्ने भन्दै ३१ जनाको समूहले गत मंगलबार काठमाडौं छाड्यो। बाँकेको बैजापुर–४ का आशाराम चौधरीले आफ्नो समूह काठमाडौंको स्वयम्भू क्षेत्रमा भाडामा बस्ने गरेको सुनाए। उनीहरू दुई सातासम्म त अप्ठ्यारो सहेरै बसिरहेका थिए ‘तर स्थानीयले कोरोना सर्ने भन्दै घर जान दबाब दिए, अभावका बेला पनि हेला गरे। त्यसैले फर्किने सल्लाह गरेर हिँडेका हौं,’ उनले दुखेसो पोखे। मंगलबार थानकोटमा चिउरा र दालमोठ खाएर पैदलै नौबिसेसम्म आए। 

नौबिसेबाट केही दूरी ट्रकमा र बाँकी पैदल यात्रा गरेरै नारायणगढसम्म पुगे। बिहीबार पूर्वी नवलपरासीको कावासोतीसम्म पुग्दासम्म पनि उनीहरूले कुनै सवारीसाधनको सहयोग पाएनन्। ‘भोकै मर्नुभन्दा गाउँ पुगेपछि पैंचो मागेर भए पनि खाइन्छ,’ उनले भने, ‘बिरानो ठाउँमा सघाउने कोही भएन। पानी पिएर भए पनि घर पुगौंला भनेर हिँडियो।’ समूहमा हिँडेको भन्दै बाटामा प्रहरीको हप्की पनि सहनुपर्‍यो। दुई सय किलोमिटर यात्रा गरेकाले उनीहरूका खुट्टा सुन्निएका थिए। शरीर थकित देखिन्थ्यो। बाटामा खाना खाने होटल बन्द थिए। चिया पिउनसमेत पाएनन्। साथमा रहेको १०/२० रुपैयाँ जम्मा गरेर चाउचाउ र चिउराको भरमा यात्रा गरेको उनीहरूले बताए। रात परेपछि सडक किनारमा सुस्ताउँदै र हिँड्दै उनीहरू यहाँसम्म आइपुगेका हुन्। 

कावासोतीको स्थानीय एक पेट्रोल पम्पअगाडि सडकमा सुस्ताएको अवस्थामा उनीहरू भेटिएका थिए। उनीहरूको अवस्था देखेपछि नवलपुर जेसिजका अध्यक्ष नारायणप्रसाद न्यौपानेले खाना खुवाए। केही खाद्यान्न पनि दिएर पठाए। त्यहीबेला बुटवलसम्म आउने ट्रक फेला परेपछि न्यौपानेले ट्रक भाडा र खाजा खर्च पनि दिए। ‘घर पुग्न गर्मीमा पानी पनि पिउन नपाई पैदल हिँडेको देखेपछि सहयोग गर्न मन लाग्यो,’ न्यौपानेले भने, ‘हामी घरमा अन्न हुनेलाई यति अप्ठ्यारो परेको छ। लकडाउनका कारण मजदुरी गरेर छाक टार्ने परिवारलाई कति मार परेको होला?’ 

तीन दिन पेटभरि नखाएका उनीहरूको बिहीबार बिहान भने मुहारमा हाँसो देखियो। ‘बाटामा प्रहरीको हप्कीदप्की सहनुपर्‍यो,’ उक्त समूहमा आएका बाँकेका सञ्जय चौधरीले भने, ‘कोरोना सर्ने भन्दै सर्वसाधारणले पनि छिछि गरे।’ दिनमा असुरक्षित ठानेर रातिको समय धेरै हिँडेको उनले सुनाए। ‘धेरै दिनपछि पेटभरि खाइयो,’ उनले भने, ‘अब नेपालगन्ज पुग्ने आँट पलायो।’ आशारामका अनुसार कहीँ पैदल त कहीँ मालवाहक ट्रकमा चढेर घर पुगेका हुन्। ‘धेरै दु:ख झेलेर परिवार भेट्न पाउँदा थकाइ र भोक मेटिएको थियो,’ उनले फोनमा भने। 

ब्रुफिन खाएर यात्रा

१२ जनाको समूह कपिलवस्तुको बरइपुरमा निर्माणाधीन सडकमा मजदुरी गर्थे। कोरोना भाइरस संक्रमणको हल्लासँगै यातायात बन्द हुने सुनेका थिए तर यति लामो समयसम्म बन्द होला भन्ने उनीहरूले ठानेका थिएनन्। लकडाउन खुल्ने आशमा थिए। यही बेला मेसमा रहेको दाल, चामल सकियो। ‘पास बनाएर घर पुर्‍याउँछु भन्थे तर ठेकेदार सम्पर्कमा आएनन्,’ बर्दियाको बारबर्दिया नगरपालिका–४ का सुरज थारूले भने। उनका अनुसार ठेकदारले घर जानका लागि बस भाडा र खाने खर्चबापत जनही दुई हजार रुपैयाँ दिएका थिए। तेस्रोपटक लकडाउन थपियो। उनीहरूको धैर्यको बाँध टुट्यो। ‘काम नहुने भएपछि बोरामा कपडा कोच्यौं र मंगलबार हिँड्यौं,’ पदनाहाका सञ्जीव थारूले भने, ‘हिँड्ने बेलामा चाउचाउ किन्दा पसलेले टाढैबाट फ्याँके, साह्रै दु:ख लाग्यो।’ 

पहिलो दिन ५० किलोमिटर यात्रा गरेर कपिलवस्तु र दाङको सिमाना धानखोलासम्म पुगेको सञ्जीवले बताए। पहिलो दिनको जस्तो रफ्तार घट्दै गयो। खुट्टा दुख्न थाले। धानखोलाबाट भालुबाङ पुग्दा मध्यरात भइसकेको थियो। ‘खुट्टा सुन्निएको थियो,’ उनले भने, ‘त्यसपछि एक घण्टामा एक किलोमिटर पार गर्न समस्या हुन थाल्यो।’ कष्टसाथ यात्रा गरेको देखेपछि सडकमा तैनाथ प्रहरीले दया देखाएको उनले सम्झिए। ‘ती पुलिसले कुनै गाडी पाए सहयोग गर्छु भने,’ उनले सुनाए, ‘भोक र थकान खट्न सकेका थिएनौं। खानेकुरा केही थिएन। होटल बन्द थियो। मंगलबार किनेको चाउचाउ त्यसै साँझ सकिएको थियो। कुर्दाकुर्दै राति २ बजे एउटा बस आयो।’ २५ किलोमिटर टाढा लमहीसम्म आएका उनीहरूले जनही एक सय ५० रुपैयाँ भाडा तिरे। कृष्ण थारूले भने, ‘त्यसपछि ५० किलोमिटर फेरि हिँडेर अमेलियासम्म आयौं।’

खुट्टा सुन्निएर हिँड्ने अवस्था थिएन। ‘दु:खाइ कम गर्न ब्रुफिन खायौं,’ उनले भने, ‘केहीबेर कम भए पनि फेरि उस्तै हुन्थ्यो।’ बाटामा सहजै पानीसमेत खान नपाएको उनले बताए। बाँके पुगेपछि स्थानीय एक महिलाले हिँडेर आएको थाहा पाएपछि बिस्कुट र पानी दिएको उनले सुनाए। जंगलको बाटो राति हिँड्न डर थियो। हुल देखेपछि बुधबार राति प्रहरीले केरकार गरे। पीडा बताएपछि भने अमेलियाबाट कोहलपुर जाने बसमा उनीहरूले नै चढाइदिए। कोचाकोच ७० किलोमिटरको यात्रा, भाडा प्रतिव्यक्ति ६ सय रुपैयाँ। अरु बेला एक सय २५ रुपैयाँ भाडा लाग्ने सो खण्डमा पाँच गुणा महँगो त पर्‍यो तर जसरी पनि घर पुग्नुपर्ने भएकाले विवाद नगरेको उनी बताउँछन्। बिहीबार मध्यरात कोहलपुर आएपछि बैदी हुँदै बारबर्दियाको पदनाहास्थित घरसम्मै हिँडेरै पुगे। उनका अनुसार तीन रात तीन दिनपछि मात्रै उनीहरू घर पुगेका थिए।

‘परिवार र खेतीको चिन्ताले हिँडायो’

बर्दियाका श्याम नेपालीले शुक्रबार कोहलपुर आएपछि एक किलो हरियो काँक्रो किने। १० रुपैयाँका हरियो खुर्सानी पनि ल्याए। प्लास्टिकको झोलामा पानी हालेर पखाले। थाकेर सडकमा लम्पसार परेका साथीहरूलाई खुर्सानी र काँक्रो बाँडे। खुर्सानीसँगै हरियो काँक्रो खाएपछि भने उनीहरूको मुहार केही तेजिलो भएको देखिन्थ्यो। त्यही चमक र ऊर्जाका साथ पाइला चाल्दै गए। 

यो यात्राको सुरुवात भने थिएन। एक साताअघि नुवाकोटबाट हिँडेका उनीहरू बाँके आइपुग्दा आफ्नै घर पुगे जस्तै अनुभूति भएको बताइरहेका थिए। ‘अब घर आइपुगियो, मरे पनि फिक्री छैन,’ श्यामले लामो श्वास फेर्दै भने। १४ जनाको यो समूह सडकमा मजदुरी गर्न नुवाकोट पुगेको थियो। लकडाउन भए पनि घर फर्किन सकेका थिएनन्। भाडामा बस्दै आएका उनीहरूको खाने खर्च सबै सकियो। स्थानीय सरकारले राहत त बाँड्यो तर उनीहरूका हातमा परेन। एकातिर खाने खर्च सकिँदै गयो, अर्कोतर्फ घरमा परिवारको चिन्ताले सताउन थाल्यो। त्यसमाथि खेती स्याहार्नु पनि छ। बर्दियाका सन्तोष नेपालीले बाली थन्क्याउन भए पनि हिँडेर घर आउनुपरेको सुनाए। उनको खुट्टामा फितावाला चप्पल छ। त्यो पनि हिँड्दाहिँड्दै चुँडिएर कपडाले बाँधेको। झोलामा सुक्खा चिउरा र चाउचाउ राखेका उनले खुला आकाशमुनि रात बिताएर दिनभर यात्रा गरिरहेको अनुभव सुनाए। 

बर्दियाका रामनय थारूको समूह १३ जनाको थियो। काठमाडौंदेखि पैदल यात्रा गरेका उनीहरूलाई नेपालगन्ज आउन पाँच दिन लाग्यो। यात्राका क्रममा सडकमा देखिएका केही गाडीले रोके भने धेरैले उनीहरूलाई पछि छाडेर गन्तव्यतिर लागे। कोरोना महामारीको त्रासमा गाडीमा मान्छे राख्न पनि हिचकिचाउने हुँदा उनीहरूले यात्राको धेरै हिस्सा हिँडेरै तय गरे। 

खुट्टा सुन्निएर सुत्न नसक्दा रामनयले थारू गीत गाएर सुनाउँथे। त्यही गीतमा स्वर थप्दै, थपडी मार्दै जुनेली रात बिताएको राजेश थारूले सम्झिए। ‘खुट्टा पोलेर निद्रा लाग्दैनथ्यो, गीत गाएर रात बिताउँथ्यौं,’ उनले भने, ‘काठमाडौंमा बस्न सकिएन, परिवार सम्झेर पैदलै हिँडेर आयौं।’ उनका अनुसार थानकोटको ओरालोदेखि नौबिसेसम्म उनीहरू गाडीमा आए। बीचमा पनि केही गाडीले सघाए तर मुग्लिनदेखि बाँकेसम्म भने उनीहरूलाई सुन्निएका खुट्टाले मात्रै साथ दियो। कुनै गाडीले रोकेनन्।

निर्मल चौधरी घरका हर्ताकर्ता हुन्। बूढा आमाबुबाले बाली स्याहार्न सक्दैनन। घरमा बाली स्याहार्ने बेला नभएको भए उनी यति दु:ख गरेर फर्किने थिएनन्। यतिबेला खेतालासमेत पाउन कठिन भएकाले उनलाई आफैं घर नआई सुख थिएन। ‘सरकारले गाडी खोल्छ भन्ने आशामा एक हप्ता काठमाडौंको सडकपेटीमै बिताएँ,’ उनले यात्रा थाल्नुको जरुरतबारे भने, ‘काठमाडौंमा घरपरिवारको शोकले सुत्न सकिनँ, हिँड्नुबाहेक विकल्प रहेन।’

Published on: 11 April 2020 | Kantipur

Link

Back to list

;