s

चिसो रातमा पनि धर्नामा पाकिस्‍तानी शरणार्थीगोपाल गडतौला

नेपाल बस्‍दै आएका विदेशी शरणार्थीहरूले काठमाडौंस्‍थित संयुक्त राष्‍ट्रसंघीय शरणार्थीसम्बन्‍धी उच्च आयोगको कार्यालय अगाडि अनिश्‍चितकालीन धर्ना शुरु गरेका छन्। १८ मंसिर राति यूएनएचसीआरको काठमाडौंस्‍थित कार्यालय अगाडि धर्नामा बसेका ९ पाकिस्‍तानी । १७ मंसीरदेखि शुरु धर्नालाई १८ मंसीरदेखि अनिश्‍चितकालीन बनाइएको पाकिस्‍तानी शरणार्थी मन्‍सुर अहमदले बताए । १८ मंसीर राति ९ पाकिस्‍तानी शरणार्थी धर्नामा बसेका छन् । दिउँसो धर्नाकारीको संख्या ४० भन्‍दा बढी थियो । महिला र बालबालिका चिसोका कारण धर्नामा बस्‍न नसकेको अहमदले बताए ।

यूएनएचसीआरसँग नेपालबाट तेस्‍रो मुलुक जान सहजीकरण र यहाँ रहुन्‍जेल गाँस र बासको व्यवस्‍था गर्न माग गर्दै उनीहरू धर्ना बसेका हुन् । यूएनएचसीआरले शरणार्थीको परिचयपत्र दिएका उनीहरूलाई नेपाल सरकारले भने अवैध आप्रवासी मान्‍ने गरेको छ । भारतीय बाटो हुँदै स्‍थल मार्गबाट लुकिछिपी र पर्यटकका रूपमा हवाई मार्गबाट नेपाल आएका उनीहरूलाई अन्‍तर्राष्‍ट्रिय मान्‍यताका आधारमा शरणार्थीको परिचय दिइएको यूएनएचसीआरले जनाएको छ । नेपालले भने अवैध आप्रवासीलाई भिसा म्याद नियमित गर्न दैनिक ५ अमेरिकी डलर जरिवाना लिने गरेको छ ।

हाल ७१७ को संख्यामा रहेका त्यस्‍ता अवैध आप्रवासीमध्ये कतिपयले १० हजार अमेरिकी डलरसम्म जरिवाना तिरेर मात्र नेपालबाट अन्‍यत्र जान सक्छन् । अवैध आप्रवासीको एउटा मुख्य माग उनीहरूलाई त्यस्‍तो जरिवाना मुक्त गर्नु पनि छ ।

Published on: 4 December 2018 | Himalkhabar

Back to list

;