s

चीनमा विद्यार्थी पठाउन फर्जी कागज

सुदीप कैनी

काठमाडौँ — नेपाल मेडिकल काउन्सिल र शैक्षिक परामर्श संघ (इक्यान) मा आबद्ध स्पिड इन्टरनेसनल कन्सल्टेन्सीले चीनस्थित डाली विश्वविद्यालयको एमबीबीएस भर्ना फाराममा फेरबदल गरी विद्यार्थीलाई पढ्न पठाएको पाइएको छ । विश्वविद्यालयको भर्ना फाराममा उल्लिखित प्रावधान फेरबदल गरी विद्यार्थी पठाउँदा सन् २०१५ देखि २०१९ ब्याचका एक सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन पूरा गर्न नपाएर बिचल्लीमा परेका छन् ।

पीडित विद्यार्थीले आफ्ना समस्याबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, शिक्षा मन्त्रालय, काउन्सिल र चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका छन् ।

डाली विश्वविद्यालयमा ५ वर्ष सैद्धान्तिक र १ वर्ष इन्टर्नसिप कोर्ससहित ६ वर्षमा एमबीबीएस पूरा हुने व्यवस्था छ । काउन्सिलले भने २०१५ देखि चीनमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्ष छुट्टै भाषाकक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो अवधिसमेत जोड्दा ७ वर्ष हुन्छ ।

विद्यार्थीका अनुसार विश्वविद्यालयले ६ वर्ष अवधिको भर्ना फाराम पठाए पनि काउन्सिलको गरेको व्यवस्थाअनुसार स्पिड इन्टरनेसनलले ६ वर्षको अवधि हटाएर आफुखूसी ७ वर्ष बनाएको हो । ‘५ वर्ष सैद्धान्तिक कक्षा पढ्यौं, त्यहीबीचमा भाषा कोर्स पनि पूरा गयौं, १ वर्षको इन्टर्नसिप मात्रै बाँकी छ,’ एक छात्रले भने, ‘सैद्धान्तिक कक्षाको ट्रान्सक्रिप्ट प्रमाणित गरेर इन्टनसिपमा सहभागी हुन काउन्सिलको सर्म्पकमा जाँदा सैद्धान्तिक पढाइको अवधि ६ वर्ष पुगेको छैन भनेर रोकियो ।’ त्यतिबेला बुझाएको भर्ना आवेदन फाराममा ७ वर्ष उल्लेख भएकाले काउन्सिलले रोकेको विद्यार्थीहरूको भनाइ छ ।

काउन्सिलले चीनमा पढ्न जान ७ वर्षको अवधि लागू गरेपछि विश्वविद्यालयको समन्वयबिनै भर्ना फाराममा ६ वर्षको अवधि हटाएर ७ वर्ष बनाउने काम कन्सल्टेन्सीले गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । ‘मेडिकल काउन्सिलले पनि कन्सल्टेन्सीले दिएको विवरणमा जाँच नगरी अनुमति दियो,’ ती छात्रले भने, ‘अहिले ७ वर्षे कोर्ष पढ्छु भनेर गएका थियौं, ६ वर्षमा नै प्रमाणपत्र दिन मिल्दैन भनेर रोकेर राखिएको छ ।’

२०१५ ब्याचका २० जना, २०१६ का २९, २०१८ का १३ र २०१९ ब्याचका ४० जना विद्यार्थीको यस्तो समस्या रहेको अनुमान गरिएको छ । विश्वविद्यालयले मापदण्डअनुसार अध्यापन गराएर २०१५ र २०१६ व्याचका विद्यार्थीको ट्रान्सक्रिप्ट पठाइसकेको छ । कान्तिपुरलाई प्राप्त एक छात्रको ट्रान्सक्रिप्टमा ५ वर्ष सैद्धान्तिक पठनपाठन र एक वर्ष इन्टर्नशिप मात्र उल्लेख छ ।

‘हामीले अध्ययन गर्नुपर्ने जति विषय गरिसक्यौं, पास पनि भयौं, तर काउन्सिलले तोकेजति समयावधी पुगेको छैन,’ प्रहरीमा उजुरी दिनेमध्येका एक विद्यार्थीले भने, ‘हामीले पाएको ट्रान्सक्रिप्ट मेडिकल काउन्सिलबाट मान्य नहुने भनिएको छ, त्यसो हुँदा हामी डाक्टरको लाइसेन्स परीक्षामा पनि सहभागी हुन नपाउने भयौं ।’ कन्सल्टेन्सीले जसरी पनि विद्यार्थी विबदेश पठाउन विश्वविद्यालयको मापदण्ड नै फेरबदल गरेर काउन्सिलबाट अनुमति लिएको विद्यार्थीहरूले बताए ।

यो समस्यामा परेकामध्ये अधिकांश विद्यार्थी कोभिडका कारण नेपाल फर्केका हुन् । चीनमा रहेका विद्यार्थीको इन्टर्नसिप सुरु भइसके पनि यता आएकाको इन्टर्नसिप नै अनिश्चित छ । नेपाल फर्केकाहरूले इन्टर्नसिप यहीं पूरा गर्न पाउनुपर्नेसहित पढाइको समयावधि नपुगेको बारे छानबिन गर्न माग राखेका छन् । चीनबाट फर्केका विद्यार्थीलाई इन्टर्नसिप पूरा गर्न शिक्षा मन्त्रालयले सैद्धान्तिक प्रमाणपत्र मागेको छ । तर भर्ना आवेदन फाराम र ट्रान्सक्रिप्टमा अध्ययन अवधि फरक परेका विद्यार्थीले इन्टर्नसिप पाउने/नपाउने अनिश्चित छ ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले विद्यार्थीले जस्तो भर्ना आवेदन फाराम ल्याए त्यहीअनुसार २०१५ मा अनुमति दिइएको बताए । ‘६ वर्षका लागि हामीले अनुमति नै दिँदैनौं, त्यही भएर ७ वर्षको पत्र बनाएर ल्याए,’ उनले भने, ‘हामी कन्सल्टेन्सी चिन्दैनौं, सम्बन्धित विद्यार्थीलाई अनुमति दिने हो, विश्वविद्यालयको पत्र ल्याएपछि अनुमति दिएका हौं ।’ त्यतिबेला तोकिएको व्यवस्था पूरा गरेमात्रै विद्यार्थीले काउन्सिलबाट मान्यता पाउने उनले जनाए । ‘७ वर्ष पढ्छु भनेर अनुमति लिएर जाने, अहिले ५ वर्ष पछि आएर ६ वर्षमा कोर्स पूरा गरें भनेको कुरालाई कसरी मान्यता दिने ?’ उनले प्रश्न गरे ।

चीनको सरकारी मेडिकल कलेजमा अध्ययन गर्न जाने विद्यार्थीलाई १ वर्षको चिनियाँ भाषा अध्ययन अनिवार्य छ । त्यहाँ शिक्षणसंस्था अनुसार अंग्रेजी र चिनियाँ भाषामा मेडिकल शिक्षा पढाइ हुने गर्छ । पछिल्ला वर्षमा निजी मेडिकल कलेजमा अध्ययन गर्न जाने विद्यार्थीले पनि भाषा अध्ययन गर्नुपर्ने प्रबन्ध गरिएको छ । अंग्रेजीमा पढ्नेका लागि पनि इन्टर्नसिपमा सहज होस् भनेर भाषा पढाउने गरिएको हो । डाली युनान प्रान्तको निजी विश्वविद्यालय हो । काउन्सिलका पूर्वपदाधिकारीहरूले भने विश्वविद्यालयले दिएको पत्र जाँच नगरी अनुमति दिनु काउन्सिलको पनि कमजोरी रहेको जनाए । काउन्सिलको पत्रपछि मात्रै शिक्षा मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र दिने गर्छ ।

विश्वविद्यालयको पाठ्यक्रममा शैक्षिक अवधि ६ वर्ष रहेको तर कन्सल्टेन्सीले काउन्सिलको निर्णयअनुसार ७ वर्षका लागि पत्र दिएका कारण समयावधि फरक परेको हो । स्पिड इन्टरनेसनलका सञ्चालक मिलन ज्ञवालीले विश्वविद्यालयको भर्ना फारामलाई परिवर्तन गरी नक्कली बनाएको विद्यार्थीको आरोप छ । ‘कन्सल्टेन्सीले नक्कली पत्र बनाएर हामीले झुक्काएको रहेछ, काउन्सिलले पनि छानबिन नगरी सोहीअनुसार अनुमति दिएर लापरबाही गर्‍यो,’ कान्तिपुरको सम्पर्कमा आएका छात्रहरूले भने । मेडिकलतर्फको सैद्धान्तिक विषयको अध्ययन गर्दा नै चिनियाँ भाषा परीक्षा (एचएसके–फोर) पास गरेको उनीहरूले बताए ।

उक्त कन्सल्टेन्सीलाई इक्यानले स्पष्टीकरण सोधेको छ । विश्वविद्यालयको कागजात फेरबदल गर्न संलग्नता रहे/नरहेकोबारे खुलाई पठाउन निर्देशन उसले दिएको हो । स्पिड इन्टरनेसनलका सञ्चालक ज्ञवालीले विश्वविद्यालयको कागजात फेरबदल गर्न आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरे । ‘मेडिकल काउन्सिलले ७ वर्षको समयावधि खोजेपछि विश्वविद्यालयले नै त्यहीअनुसार डकुमेन्ट पठाएको हो,’ उनले कान्तिपुरसित भने, ‘अहिले विद्यार्थी अप्ठ्यारोमा परेपछि मिलाउन चीनस्थित विश्वविद्यालय र नेपालको शिक्षा मन्त्रालयमा कुरा गरिरहेका छौं ।’ सन् २०१४ का विद्यार्थीलाई जस्तै गरी ६ वर्षेर् ेकोर्स गरेका विद्यार्थीलाई काउन्सिलले मान्यता दिनुपर्ने उनको भनाइ छ । ‘यस्तो नियम नेपालमा बाहेक अन्त छैन, विद्यार्थीले भाषा पढेकै छन्, कोर्स पनि पूरा गरेका छन्, मान्यता दिँदा फरक पर्दैन,’ उनले भने ।

चीनमा एमबीबीएस पढेर सैद्धान्तिक कोर्स पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न शिक्षा मन्त्रालयले असोज २२ गतेसम्म आवेदन मागेको छ । सन् २०१४ का १ सय ६५ जनाले नेपालमा नै इन्टर्नसिप गर्न अनुमति पाएका छन् । २०१५ का लागि पनि अनुमति दिन आवेदन मागिएको हो ।

Published on: 7 October 2021 | Kantipur

Link

Back to list

;