s

चीनले १० नेपालीलाई डाक्टरी पढाउने

 
काठमाडौं: चीनको सान्सीस्थित सियान मेडिकल युनिभर्सिटी र चिकित्सा शास्त्र विज्ञान प्रतिष्ठान (न्याम्स) बीच सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सियानमा हस्ताक्षरित सात बुँदे समझदारी अनुसार सियान युनिभर्सिटी र प्रतिष्ठानले संयुक्त रुपमा मिलेर अन्डर ग्राजुएट, पोस्ट ग्राजुएटसहित गरी चिकित्सा क्षेत्रमा दशजना विद्यार्थी उत्पादन गर्ने भएका छन् ।
 
ती दशजना विद्यार्थीले चीनको सियानस्थित चाइना—नेपाल फ्रेन्डपिस राजिव लेबोरेटोरीमा क्लिनिकल रिसर्च विषयमा इन्टर्नसिपको अवसर पाउने लेबोरेटोरीका नवनियुक्त निर्देशक डा.राजिव झाले अन्नपूर्णलाई टेलिफोनमा जानकारी दिए ।
 
डा.झाका अनुसार सियान युनिभर्सिटीले चिकित्सा शास्त्र विज्ञान प्रतिष्ठानलाई एकेडेमिक रिसर्चका लागि सहयोग गर्नेछ । त्यसैगरी युनिभर्सिटीले प्रतिष्ठानका लागि विज्ञ पठाएर चिकित्सा तालिमका अवसरका लागि व्यावहारिक मोडेलको खोजीका लागि पनि सहयोग गर्ने उक्त समझदारीमा उल्लेख छ ।
 
समझदारी अनुसार न्याम्सको सहमतिमा न्याम्सको आधुनिकिकरणका लागि समेत निर्माण उपकरण उपलब्ध गराएर सहयोग गर्ने भएको छ ।
 
‘युनिभर्सिटीले न्याम्सको सहकार्यमा स्थानीय तहमा प्राथमिक चिकित्सक र जनरल प्राक्टिसनर्सका लागि इन—सर्भिस ट्रेनिङ् प्रोग्राम सञ्चालन गर्नेछ' समझदारी पत्रको पाँचौ नम्बर बुँदामा उल्लेख छ ।
 
सियान मेडिकल युनिभर्सिटी र न्याम्स मिलेर नेपालमा प्राकृतिक औषधि विकास गरी चाइना—नेपाल फ्रेन्डपिस राजिव लेबोरेटोरीमा परीक्षण गर्ने समझदारी पनि भएको छ । गत अक्टोबर २६ मा युनिभर्सीटी र न्याम्सबीचमा न्याम्सको आधुनिकिकरणका विषयमा बृहत छलफल भएको थियो ।
 
डा. झालाई सियान मेडिकल युनिभर्सिटीअन्र्तगतको चाइना-नेपाल फ्रेन्डसिप राजिव लेबोरेटोरीको निर्देशकका रुपमा शुक्रबारै नियुक्ति दिइएको छ । ३६ वर्षीय डा. झा लामो समयदेखि उक्त युनिभर्सिटीमा अध्यापन गर्दै आएका थिए ।
 
Published on: 26 March 2016 | Kantipur

Back to list

;