s

चीनबाट नेपाल फर्किन चाहनेको संख्या दुई सय हाराहारी

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा चीनमा अड्किएका करिब २ सय जना नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । बेइजिङस्थित नेपाली दूतावासले जुन ७ तारिखसम्मको समय सीमा दिएर यहाँका नेपालीहरूलाई फारम भर्न सूचित गरेको थियो ।

त्यसअवधिसम्म १ सय ७२ जनाले फारम भरेका थिए भने उडानको टुंगो नलागुञ्जेलसम्मका लागि अहिले पनि नामावली संकलन कार्यलाई निरन्तर राखिएको दूतावासले जनाएको छ ।

फर्किनेको सूचीमा सबैभन्दा बढी ११५ जना विद्यार्थीहरू छन्। जुन महिनामा ग्राजुएट हुने ८१ जना र जुलाईको मध्यतिर ग्राजुएट हुने ९१ जना विद्यार्थीहरू छन्। अतः छात्रवृत्ति र अध्ययनको काम सकिएपछि फर्किनैपर्ने बाध्यतामा अधिकांश विद्यार्थीहरू हुनेछन्। शाङ्हाई इन्टरनेश्नल स्टडिज युनिभर्सिटीमा ग्राजुएट भएर नेपाल फर्किने प्रतीक्षामा रहेका भक्तपुरका सन्देश देउजाले जुलाई १५ पछि भिसा अवधि र छात्रवृत्ति सकिने बताए। उनले भने, ‘भिसा अवधिपछि छात्रवृत्ति सकिएर छात्रावासबाट बाहिरिनुपरेमा छोटो समयका लागि कोठा पाउन मुश्किल हुनसक्छ। यस्तो समस्या ग्राजुएट हुँदै गरेका अन्य धेरै विद्यार्थीहरूलाई पर्नसक्नेछ ।’

नेपाली दूतावासका अनुसार विद्यार्थीबाहेक रोजगारी वा पर्यटनका सिलसिलामा चीनमा रहेका २६ जनाले फर्किनका लागि अनुरोध गरेका छन्। चीनको युन्नान प्रान्तमा हस्तकलाको काम गर्न आएका एक दर्जनभन्दा बढी कामदारका साथै व्यावसायिक र पर्यटकीय भिसामा आएका नेपालीहरू पनि फर्किन चाहन्छन् ।

कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार फर्किने विद्यार्थीहरूको समय एकै नभएकाले व्यवस्थापन असहज देखिन्छ। दूतावासले बेइजिङ र क्वाङ्चौ सहरबाट उडान गर्न पायक हुने भनेर आकांक्षीहरूलाई जानकारी गराएको छ। यात्रु संख्या थोरै भएमा विमान भाडा पनि महँगो पर्ने चिन्ता विद्यार्थीहरूको छ। लम्सालले भने, ‘यात्रु संख्या कति भन्ने विषय गौण भएपनि ग्राजुएन हुने विद्यार्थीहरूको समय मिलाउन अफ्ठ्यारो हुनसक्छ।’ 

फारम भर्ने बेलामा अधिकांश विद्यार्थीले जुन महिनामा हो भने क्वाङ्चौबाट उडान हुँदा सजिलो हुने बताएका छन्। तर चीनको राजधानीबाट उडान भएमा बेइजिङ भित्रिनुपर्ने नेपालीहरूलाई न्यूक्लिक टेस्टदेखि स्वास्थ्यसम्बन्धी विवरण संकलन गर्नुपर्ने हुन्छ। जुलाईमा बेइजिङबाट फर्किन चाहने विद्यार्थी अधिक हुनेछन् । 

कोभिड-१९ महामारीको अवधि भएकाले यसअघि नै भिसा अवधि सकिएका विद्यार्थी र अन्य विदेशीका लागि चीन सरकारले लचिलो नीति लिएर म्याद थप गरिदिएको छ। कतिपय नेपाली विद्यार्थीको अध्ययन सकिएपनि अन्य खर्च आफैंले बेहोर्ने गरी विश्वविद्यालयहरूले छात्रावासको सुविधा दिएका छन् ।

Published on: 12 June 2020 | Kantipur

Link

Back to list

;