s

‘चीनबाट आफ्ना नागरिक ल्याउने सरकार, हामीप्रति किन यति कठोर ?’

भगीरथ अवस्थी

 

बैतडी : जिल्लाको पुर्चौंडी नगरपालिका ८ की महाना जोशीले राम्रोसँग नसुतेको १५ दिनभन्दा बढी भइसक्यो । घरपरिवार चलाउन पैसा कमाएर घर आउँछु भनेका श्रीमान कोरोनाका कारण सीमामै अड्किएपछि महानालाई अहिले श्रीमानकै चिन्ता छ । 

उनलाई एकातिर कामको चटारो छ भने अर्कोतिर घरको मुख्य मान्छे भारतीय क्वारेन्टाइनमा दुःख गरेर बस्नु परेको पीडा छ।महानाले भनिन्, 'चुनावका बेला तपाईँको गाउँमा विकास ल्याउँछौं । बेरोजगारीलाई रोजगारी दिन्छौं भन्नेहरु ज्यालामजदुरी गरेर कमाएको पैसा सकिँदा समेत स्वदेश ल्याउन सोच्न पनि सक्दैनन,'उनले भनिन्। 

'क्वारेन्टाइनमा बसेको २० दिन भइसक्यो।अहिलेसम्म सीमाबाट ल्याउने कुनै पहल भएको छैन्,'उनले दुखेसो पोखिन। 

पुर्चौंडी ८ कै कृष्णा पाठक सरकारप्रति आक्रोश पोख्छिन्। 'क्वारेन्टाइनमा दुई हप्ता बस्नुपर्छ भन्यो । दुई हप्तापछि त स्वदेश ल्याउलान भन्ने आस थियो । तर क्वारेन्टाइनमा बसेको  २० दिन हुनै लाग्दा समेत श्रीमान घर आउने कुनै छाँटकाँट छैन, 'उनले भनिन्, 'अब गाउँमा गहुँ काट्ने, मकै छर्ने बेला भइसकेको छ । घरको काम कसरी चलाउने । भारतीय क्वारेन्टाइनमा बसेका श्रीमानले फोनबाट दुःखका कुरा सुन्दा खाना खाने मन लाग्दैन् ।' 

यी सीमापारी अलपत्र रहेका नेपालीका आफन्त उदाहरण मात्रै हुन् । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा बैतडी, बझाङ लगायत जिल्लाका अढाई सय बढी मजदुर क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्न निकै असहज भएको उनीहरुले फोन मार्फत जानकारी गराइरहेका छन्। 

तर पनि उनीहरु कहिले फर्किन्छन् भन्ने विषयमा अझै टुंगो लागेको छैन् । 'हामी धेरैजना एकै ठाउँमा बसिरहेका छौं । एकै ठाउँमा बस्दा कोरोनाभन्दा पनि अब अरु सरुवा रोगको हामीलाई डर छ । गर्मी बढ्दै गएको छ । खानेपानीको अभाव छ । कमाएको सानोतिनो खर्च पनि यतै सकिसकियो, 'दोगडाकेदार ७ का हरिशप्रकाश भट्टले भने, 'परिवार चलाउन केही कमाई गरेर घर फर्कुला सोचेको थिए तर हामी धेरै समस्यामा परेका छौं ।' 

भारतको झुलाघाट र धारचुलामा बैतडीका मात्रै ९ सय बढी मजदुर क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसिरहेका मजदुरका घरपरिवार अहिले निकै सकसमा छन् । बैतडीका पूर्णदेव भट्टले भने, ' यति बेला सरकार आफ्ना नागरिकको उचित व्यवस्थापनमा जाग्नुपर्छ।नागरिक समस्यामा छन् । सारा परिवार चिन्तामा छन् । उनीहरुको व्यवस्थापन सरकारले गर्नुपर्छ ?' 

सर्वोच्चको आदेश कार्यान्वयन हुने आशामा मजदुर 

सर्वोच्च अदालतले सीमामा फसेका नेपालीलाई स्वदेश फर्काउन आदेश दिएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन् । बिहीबार मात्रै सर्वोच्चले कोरोना प्रभावित क्षेत्रका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सरकारका नाममा आदेश जारी गरेको छ । 

न्यायालयले दिएको आदेश सरकारले पालना गर्ला कि भन्ने आश पलाएको नेपाली मजदुर लोकेन्द्र पार्कीले बताए । 'सर्वोच्चले आफ्ना नागरिक ल्याउ भनिसकेको छ । चीनबाट हवाईजहाजमा आफ्ना नागरिक ल्याउने सरकार हामीप्रति किन यति कठोर ?' 

उनले प्रश्न गर्दै भने, 'हामी एक छाक टार्न मुस्किल भएर परदेसिएका हौं । के हामीलाई हाम्रो माटो टेक्ने अधिकार छैन् । हामीलाई भेडाजस्तै कोठामा हुलेर सरकारले कस्तो महामारी रोक्न खोजेको हो ?' 

सर्वोच्चले समेत आदेश दिइसकेको अवस्थामा आफूहरुलाई स्वदेश फर्काउने पहल गरिदिन नेपाली मजदुर दीर्घराज जोशीले आग्रह गरे । उनले भने, 'हामी विदेशी भूमीमा अलपत्रकै अवस्थामा छौं । हाम्रो उद्धारका लागि सबैसँग आग्रह गर्छौं ।' 

सर्वोच्चले दिएको आदेश सरकारले यथाशीघ्र कार्यान्वयन गर्ने आसामा रहेको नेपाली मजदुर नबीन बोहराले बताए । उनले भने, 'हामी अहिले एउटा विद्यालयमा कोचिएर बसीरहेका छौं । खानपीनको ठेगान छैन् । अर्काको देशमा भोगेको दुःख कति भन्नुपर्ने हो । हामीलाई छिटो भन्दा छिटो नेपाल फर्काइयोस ।' 

सरुवा रोग संक्रमणको जोखिम मजदुर 

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुरमा सरुवा रोगको संक्रमण हुनसक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । गर्मीयामको समयमा सरसफाई, खानपीन र बसाईमा ध्यान दिन नसकिए भने विभिन्न स्वास्थ्य समस्या आउन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने, 'गर्मीको समय सुरु भएको छ । धेरै मानिस एकै ठाउँमा बस्दा छालासम्बन्धी , झाडापखाला र अन्य संक्रमणको डर हुन सक्छ । त्यसैले क्वारेन्टाइनमा बसेका नागरिकहरुको बसाई व्यवस्थित हुन जरुरी छ ।' 

मजदुरहरु राखिएका क्वारेन्टाइनमा एकै ठाउँमा ८० भन्दा धेरै जना छन् । बसोबासका लागि केही व्यवस्था नहुँदा आफैसँग भएको कपडाहरु बिछ्याएर लहरै सुत्नुपर्ने बाध्यता रहेको नेपाली मजदुर जोगे पार्कीले बताए ।

Published on: 17 April 2020 | Annapurna Post

 

Link

Back to list

;