s

चीनबाट ४४ युवती फर्काउन पहल

भनेअनुसार सुविधा नपाएको, धेरै समय काम लगाइएको र भोकभोकै बस्नुपरेको गुनासो

लक्ष्मी लम्साल

वैदेशिक रोजगारीका सिलसिलामा चीनको उत्तरपूर्वी ताङतोन सहरस्थित तानतोङ गार्मेन्टमा कष्टकर दिन गुजारिरहेका ४४ नेपाली युवतीलाई फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको छ ।

पूर्वसर्तअनुसार सेवासुविधा नदिइएको भन्दै ती युवतीले दूतावासमा गुनासो गरेका थिए । लगत्तै दूतावासका कर्मचारीले स्थलगत अध्ययन गरेपछि उनीहरूलाई फर्काउन पहल थालिएको हो । काठमाडौंको गौशाला पिंगलास्थानस्थित कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीमार्फत गत मे १२ तारिखमा ताङतोन पुगेका उनीहरूले भनेअनुसार सेवा–सुविधा नपाएको, धेरै समय काम लगाइएको र भोकभोकै बस्नुपरेको बताएका छन् । उनीहरूलाई फिर्ता पठाउनका लागि नेपालस्थित वैदेशिक रोजगार विभागलाई अनुरोध गरिएको र विभागले सम्बद्ध म्यानपावरलाई निर्देशन दिइसकेको दूतावासका मिनिस्टर सुशील लम्सालले बताए ।

ज्याकेट उत्पादन गर्ने उक्त गार्मेन्ट उद्योगले ४०० अमेरिकी डलर प्रतिमहिना दिने, ८ घण्टा काम गराउनेलगायत श्रम मान्यताअनुरूपका सबै प्रक्रिया पूरा गरेर दूतावासमार्फत ५० जना कामदारका लागि सम्पर्क गरेको थियो । सोहीबमोजिम कामदार पठाउने जिम्मेवारी पाएको कम्पासले सुरुमा कम्पनीले भनेअनुसारकै सुविधा पाइने बताएको तर अन्तिम समयमा अर्कै सम्झौतामा हस्ताक्षर गराएको पीडित युवतीले बताएका छन् । तानतोङ उत्तर कोरियाको सीमामा पर्छ । त्यहाँ काम गर्न अधिकांश उत्तर कोरियाली आउने गर्छन् ।

विदेशी कामदारलाई काम गराउन पाउने अनुमति उक्त कम्पनीलाई रहेको सम्बन्धित वेबसाइटमा उल्लेख छ । बिहीबार मात्रै दूतावासका अधिकारीसँग कुराकानी गर्दै म्यानपावर कम्पनीले इच्छुकहरूलाई फिर्ता गर्ने र बाँकीलाई निरन्तर काम गर्नका लागि वातावरण मिलाइदिने आश्वासन दिएको लम्सालले जानकारी दिए ।

मेनपावर कम्पनीले ५० जना पठाएकामा एकजना बिरामी भएर र ५ जनालाई भनेको काम नभएको भन्दै विरोध गरेका कारण कम्पनीले १५/१६ दिनमै विमानको टिकट काटेर नेपाल फर्काएको थियो । बाँकी ४४ जनाले भोकभोकै बस्नुपरेको र बाहिर निस्कनसमेत नदिइएकाले तत्काल फर्काइदिन आग्रह गरेका हुन् । ‘दिनको एक छाक खाना र एक कचौरा खोलेका भरमा काम गर्नुपरेको छ,’ काठमाडौंकी सुमित्रा बराइलीले भनिन्, ‘साहुको हप्कीदप्की खपिसाध्य छैन ।’ पारिश्रमिकबापत साहुले ५०/५० डलर मात्रै दिएको उनले बताइन् ।

म्यानपावर कम्पनीले ३ वर्षका लागि भन्दै प्रत्येकबाट एक लाख हाराहारी पैसा उठाएको थियो । ‘बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म काम गर्नुपर्छ, आफूले नजानेको सिलाइका काममा लगाइएको छ । पेटभर खान नपाएकाले शारीरिक कमजोरी भएको छ,’ वीच्याटमा कुरा गर्दै बराइलीले भनिन्, ‘२० मिनेटभित्र खाइसक्नुपर्छ, नत्र बीचैमा छोडेर काममा जानुपर्छ,’ उनले भनिन्, ‘ढिला गर्‍यो भने कराउँछन् र हात हालुँला जस्तो गर्छन् ।’

मोरङ पथरीकी जमुना विश्वकर्माले पेटभरि खान नपाएर बेला–बेला बेहोस भई ढल्ने गरेको बताइन् । उनलाई पहिला म्यानपावर कम्पनीले थाइल्यान्ड पठाउने भनेर पासपोर्ट लिएर पछि जबर्जस्ती चीन पठाएको थियो । ‘पढेलेखेको छैन, चीन जान्नँ भन्दा पनि ४० हजार तिर्नुपर्छ भनेर पासपोर्ट फिर्ता दिएन,’ उनले भनिन्, ‘मेडिकलबाहेक ७० हजार तिरेर यहाँ आएँ । फर्किन्छु भन्दा पैसा फिर्ता दिन्नँ, सक्छेस् भने मुद्दा लड् भनेर म्यानपावर कम्पनीले धम्क्याइरहेको छ ।’

ल्याउनिङस्थित तानतोङ गार्मेन्ट उद्योगले भने नेपालको म्यानपावर कम्पनीबाट पैसा नपाएसम्म फिर्ता पठाउन नसकिने अडान लिएको छ । भनिए भन्दा थोरै पैसा भएकाले केही कामदारले पैसा नलिएपछि गार्मेन्टले नेपालस्थित म्यानपावरलाई गुनासो गरेको थियो । म्यानपावरले आफूलाई झूटो बोलिदिन अनुरोधसहित च्याट गरेको गार्मेन्टका साहु वाङ छियानले बताए । काठमाडौंस्थित म्यानपावर कम्पनीले भने पीडितलाई नफर्किन, बरू यताउता मिलाउने आश्वासन दिएको छ । उनीहरूले नजानेको यस्तो काम निरन्तर गर्न इच्छुक नरहेको बताएका छन् ।

‘कसैलाई कामै आउँदैन त कसरी गर्ने ?’ उनीहरूले भने । आफूहरूलाई झुक्याइएको बताउने युवतीहरू काठमाडौं, झापा, मोरङ, सर्लाही, सप्तरी, मकवानपुरलगायत जिल्लाका छन् । म्यानपावर कम्पनीले पुलिस लगाउने, मुद्दा हाल्ने धम्की दिइरहेको र गार्मेन्टकै कम्पाउन्डभित्र थुनेर राख्न लगाउने गरेको गुनसो उनीहरूले गरे । ‘म्यानपावर कम्पनीले हामीमाथि ज्यादती गर्न लगाएको छ,’ बराइलीले भनिन्, ‘बिरामी हुँदा काम गर्न सकिँदैन । काम नगरे खान दिँदैन । बाहिर निस्किएर केही किन्न पनि दिँदैन ।’

उनले एउटा कोठाभित्र आठ/नौ जनालाई राख्ने गरिएको पनि जानकारी दिइन् । कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीका गिरिराज घिमिरे भन्ने व्यक्तिले गार्मेन्टलाई फकाएर अमानवीय व्यवहार गर्न उक्साएको उनको गुनासो छ ।

Published on: 28 June 2019 | Kantipur

Back to list

;