s

चीनमा कोरोना आत‌ंक : उद्धारको पर्खाइमा नेपाली विद्यार्थी

अजय अलौकिक

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।

‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौं' नेपाली विद्यार्थीले भनेका छन्। उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन्। 'हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं।' उनीहरुले भनेका छन्। भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्।

सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्। ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्। कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा ऊहानका नेपाली छन्।

हालै अमेरिकाले ऊहानमा रहेको नियोग र आफ्ना नागरिकलाई स्वदेश लैजाने समाचार प्रकाशमा आएको छ। त्यसैगरी फ्रान्स र जापानले पनि चार्टड विमानबाट आफ्ना नागरिकको उद्धार गर्ने जनाएको छ। सबैभन्दा प्रभावित हुपै प्रान्तको ऊहान शहरमा हालसम्म कोही विदेशीमा भाइरस संक्रमण भएको समाचार पुष्टि भएको छैन।

हालसम्म यस भाइरसबाट मृत्यु हुनेहरु सबै ऊहान शहरका हुन् र चीनका अरू शहरमा र विदेशमा भेटिएका संक्रमितहरु पनि अधिकांश ऊहान शहरबाट गएका रहेको पाइएको छ। हाल चीनका अरू धेरै शहरमा पनि संक्रमण फैलिन नदिन यातायातमा प्रतिबन्ध लगाइको छ।

यसै बीच नेपाली दूतावासले ऊहानमा रहेका नेपालीलाई लक्षित गरी सूचना आदान-प्रदान गर्न विच्याटमा समूह निर्माण गरेको छ। नियोग उपप्रमुख सुशिल कुमार लम्सालले दूतावासले चीन सरकार, हुपै प्रान्तीय सरकार र ऊहान नगरपालिकासँग नियमित सम्पर्क गरिरहेको र नेपाल सरकारलाई यस बारेमा जानकारी गराइरहेको जानकारी दिए।

‘खोइ पहिला यति ठूलो रूप लिन्छ भन्ने थाहा थिएन सामान्य नै थियो।' ऊहानको सेन्ट्रल चाइना नर्मल यूनिभर्सिटीमा अध्ययनरत् प्रमिला देवकोटा भन्छिन्।‘हामी त जनवरी २०, २१ सम्म बिना मास्क नै हिँडदुल गरेका थियौं। त्यसकारण हामी सबै जोखिममा छौं भन्ने लाग्छ। कतै लक्षण देखिने हो कि भन्ने डर पनि छ।’

सतर्कता अपनाउन सुरूमा नै सूचना नपाएको प्रमिलाले बताइन्।छोरासहित परिवारसँगै बसिरहेकी प्रमिला भन्छिन्-'तीन चार दिन भइसक्यो घरबाट बाहिर गएका छैनौं, घरभित्र बस्दा पनि तनाव झनै बढेको छ,’। उनी जसरी पनि नेपाल फर्कन चाहेकी छिन्।त्यहाँ रहेका अरू नेपालीहरु पनि तनाबमा रहेको उनले बताइन्।

दूतावासले ऊहानमा रहेका १०० नेपाली विच्याट ग्रुपमा जोडिएको भने पनि हाल त्यहाँ ५०-५५ जना रहेको बुझिएको छ। कतिपय नेपालीहरू जनवरीको पहिलो हप्तातिर अध्ययन सत्रको समाप्तिसँगै नेपाल फर्केका थिए भने कतिपय चीनका अन्य शहर घुम्न निस्केका छन्। तर अहिले शहर सिल्ड गरिएकोले बाहिर रहेका पनि ऊहान फर्कन पाएका छैनन्।

ऊहानमा आवश्यक परेको खण्डमा जो कोही एपार्टमेन्ट बाहिर जान आउन सकिने र एपार्टमेन्ट, सुपरमार्केट ठाउँठाउँमा शरीरको तापक्रम परीक्षण गर्ने व्यवस्था गरिएको छ। सुपरमार्केटमा सागसब्जी, खाद्य सामग्री सुलभ रूपमा उपलब्ध रहेको बताइएको छ। निजी सवारी साधनमा समेत प्रतिबन्ध लगाइएको ऊहानमा हाल अत्यावश्यक र आपत्कालीन अवस्थाका लागि निशुल्क ट्याक्सीको व्यवस्था समेत गरिएको छ साथै सयौंको संख्यामा स्वयमसेवक पनि खटाएको छ।

अहिले चीनमावसन्त चाडको सात दिने लामो विदा छ। यो समय चिनियाँहरूको पारिवारिक पुर्नमिलनको समय हो । यस समय ठूलो संख्यामा चिनियाँहरु विदेश तथा स्वदेहका विभिन्न ठाउँ घुम्न निस्कने गर्छन्।भाइरस आतंकले चिनियाँहरूको वसन्त चाड र नयाँ वर्ष खल्लो बनेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसबाट प्रभाव नियन्त्रण गर्न स्वास्थ्यकर्मीसँगै सबै चिनियाँलाई युद्धस्तरमा लाग्न आह्वान गरेका छन्। चीनको वित्त मन्त्रालयले जनवरी २३ मा कोरोना भाइरस नियन्त्रणका लागि १४४ मिलियन डलर विनियोजन गरेको थियो।

भाइरसबाट २००० भन्दा बढी सङ्क्रमित भइसकेका छन्। हालसम्म सङ्क्रमित ५६ को मृत्यु भइसकेको छ। हालसम्म तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका बाकी सबै प्रान्त, शहर र प्रदेशहरूमा यस भाइरस सङ्क्रमितहरू भेटिएका छन्।

सन् २०१९ डिसम्बर ३१ मा पहिलो पटक ऊहानमा देखिएको यो भाइरसले २४ दिनमा १००० भन्दा बढीलाई सङ्क्रमित बनाएको थियो भने त्यसपछिको दुई दिनमा सङ्क्रमितको संख्या २००० नाघेको छ।

Published on: 26 January 2020 | Annapurna Post

Link

Back to list

;