s

चीनमा अलपत्र ४४ महिला काठमाडौं फर्किँदै

अजय अलौकिक

चीनमा अलपत्र परेका ४४ नेपाली महिला आइतबार काठमाडौं फर्किदै छन्। ग्वाङझौ (क्वानचौ), खुन्मिङको बाटो हुँदै आइतबार तीन फ्लाइटमार्फत् उनीहरु काठमाडौं फर्किन लागेका हुन्।

‘यहाँबाट मुक्त हुन पाउँदा एकदम खुसी छु’, नेपाल फर्किन काठमाडौं ट्रान्जिटमा भेटिएकी सुमित्राले भनिन्, ‘अब कहिल्यै विदेशमा काम गर्न जान्न। विदेशभन्दा घरपरिवारसँगै बसेर काम गर्नु राम्रो।’ अलपत्र परेका महिलालाई बेइजिङस्थित नेपाली दूतावासले पहल गरेको एक महिनापछि स्वदेश फर्काउन लागिएको हो।

चीनको उत्तरपूर्वी ल्याओनिङ प्रान्तको तानतोङ अवस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेलीलाई बिना तलब काम लगाइएको थियो। कुनै पनि काममा दक्षता नभएको भन्दै मालिकले तलब नदिएको उनीहरुको गुनासो छ। मे १२ र ३१ तारिख गरेर दुई लटमा चीन आएका उनीहरुको अवस्था सुरुदेखि नै असामान्य बनेको थियो।

काठमाडौंको गौशालास्थित कम्पास रिक्र्युटमेन्ट म्यानपावरले कपडा प्याकिङ गर्ने कामका साथै आकर्षक तलब पाइने भनेर उनीहरुलाई चीन पठाएको थियो। विभिन्न प्रलोभनमा चीन पठाइएका नेपाली चेलीले काम नै गर्न नसकेको पीडित संगीताको भनाइ छ। ‘म्यानपावरले एक वर्षको अनुभव पत्रसमेत बनाएर पठाएको रहेछ’, संगीताले भनिन्, ‘तलब पनि भनेको भन्दा आधामात्र रहेछ।’ सम्झौता अनुसारको काम र तलब नभएपछि उनीहरुले दूतावासमा सहयोगको आग्रह गरेका थिए।

१९ देखि ३५ वर्षसम्मका ती महिला झापा, मोरङ, धरान, धनकुटा, सर्लाही, सिन्धुपाल्चोक र काठमाडौंका छन्। चेलीहरुले दूतावासमा उजुरी गरेपछि म्यानपावरले नेपाल फर्किने हवाई टिकट उपलब्ध गराएको छ। दूतावासको पहलपछि म्यानपावरका प्रतिनिधि चीन पुगेका थिए।

हवाई टिकट आइसक्दा पनि नेपाली चेलीलाई स्वदेश फर्काउने तयारी नभएपछि बुधबार दूतावासले स्थानीय प्रहरीलाई पत्राचार गरेको थियो। बेइजिङस्थित नियोग उपप्रमुख सुशीलकुमार लम्सालले भने, ‘हवाई टिकट आइसकेको छ। तलब, सुविधा र क्षतिपूर्तिका विषयमा कुरा नमिल्दा प्रहरीको सहयोग मागरेका थियौँ।’
गत बिहीबार चिनियाँ प्रहरीले उक्त तानतोङ कम्पनीमा छापा मारेको थियो। चीनको श्रम ऐन अनुसार न्यून्तम वेतन भन्दा कम दिएमा कम्पनीलाई कारबाही हुन्छ। त्यस लगत्तै उक्त कम्पनीले बिहीबार नेपाली कामदार महिलालाई नेपाल फर्काउन आवश्यक कागजपत्र मिलाएको थियो।

‘प्रहरी आएपछि हामी ढुक्क भएका थियौं’, सुमित्राले भनिन्, ‘हाम्रो बसाइ गैरकानुनी भइसकेको रहेछ। अहिले सबै मिलिसकेको छ। तीनजना आइतबार बिहान क्वानचौबाट र बाँकी सबै दिउँसो खुन्मिङबाट नेपाल पुग्दै छन्।’ सुमित्राका अनुसार कतिपय कामदारले तलब पाएका छैनन्, मेनपावर तथा चिनियाँ र नेपालको एजेन्टका साथै गार्मेन्टबीच एकले अर्कालाई दोष दिँदै आएका छन्।

Published on: 27 July 2019 | Annapurna Post

Back to list

;