s

चीनको वुहानबाट नेपालीलाई यसरी फर्काइँदै छ

नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने चीनले जवाफ पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ ।

नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ । चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकलाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जाल ‘विच्याट’मार्फत प्रसार गरिएको छ । ‘चीनमा नोबेल कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा नेपाल सरकारले हुबेई प्रान्तमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । विशेष विमान ल्याउने योजनामा गृहकार्य भइरहेको छ, चाँडै नै यसबारे जानकारी दिनेछौँ,’ दूतावासको सूचनामा भनिएको छ ।

दूतावास उपनियोग प्रमुख सुशील लम्सालका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका एक सय ८८ नेपाली सम्पर्कमा आइसकेका छन् । अध्ययनरत विश्वविद्यालयमा उनीहरूको स्वास्थ्य जाँच गरेपछि कोरोना भाइरस संक्रमण नदेखिएकालाई विश्वविद्यालयका प्रतिनिधिको साथमा वुहानको विमानस्थल पठाउने तयारी छ । विमानस्थलमा उनीहरूको पुनः स्थास्थ्य जाँच गर्दा संक्रमण नदेखिए मात्रै स्वदेश फर्कन चीनले अनुमति दिनेछ ।

‘विभिन्न सहरबाट वुहानसम्म ल्याउन र स्वास्थ्य जाँचलगायतका प्रक्रिया पूरा गर्न केही दिन लाग्छ,’ लम्सालले भने, ‘अन्य सहरका नेपालीलाई वुहान ल्याउन बसको प्रबन्ध गर्दै छौँ ।’ यो प्रक्रिया पूरा गर्न केही दिन लाग्ने लम्सालले बताए ।

वुहानबाट कम्तीमा तीनदेखि आठ घन्टासम्मको यातायात दूरीमा नेपाली छन् । चीनको स्थानीय सरकारका अधिकारीले पनि नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिरहेको छ । अहिलेसम्म वुहानलगायत कुनै पनि सहरमा कुनै पनि नेपालीलाई नोबेल कोरोना भाइरसको संक्रमण भने देखिएको छैन ।

जहाज तयारी अवस्थामा राखेका छौ–निगम

नेपाल वायुसेवा निगमले चीनमा नेपाली उद्दार गर्नका लागि जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । ‘निगमले कति नेपालीलाई उद्दार गर्नुपर्ने हो त्यसको विवरण आउने वित्तिकै जहाजको विवरण चीनलाई दिने छौ,’ निगमका प्रवत्ता अर्चना खड्काले भनिन् । परराष्ट्र मन्त्रालयले यात्रुको अन्तिम सूची पठाउनासाथ उडानको विस्तृत विवरण तयार हुने प्रवक्ता खड्काले भनिन् । निगमसँग हाल २७४ सिटक्षमताका दुई वाइडबडी र १५६ सिटका दुई न्यारोबडी जहाज छन् । ‘परराष्ट्रले यात्रु संख्या तोक्ने वित्तिकै हामी कुन जहाज पठाउने निर्णय गर्ने छौ,’ खड्काले भनिन् ।

चीन आवत–जावत गर्ने उडान बन्द

नेपाल वायुसेवा निगमले आगामी २ चैतदेखि चीनको ग्वान्जाओमा गर्ने भनिएको उडान स्थागित हुने भएको छ । कोरोना महामारीका कारण तत्कालका लागि चीनको उडान स्थागित गर्न लागिएका निगम प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले सातामा तीन उडान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । निगम सञ्चालक समितिले चीन उडान सुरु गर्ने निर्णय २६ मंसिरमा गरेको थियो । ‘अहिले उडान गरिरहेका एयरलाइन्सले पनि उडान स्थागित गरिरहेका छन्, हाम्रो निर्णय नभए पनि सम्भवत स्थगित हुन्छ,’ खड्काले भनिन् ।

त्यस्तै, चीनका विभिन्न सहरबाट काठमाडौैं उडान गर्दै आएका एयरलाइन्स कम्पनीले पनि उडान रद्द गर्न थालेका छन् । चीनका पाँच सहरमा उडान गर्दै आएको हिमालय एयरलायन्सले १५ चैतसम्मका लागि सबै उडान स्थागन गर्ने निर्णय गरिसकेको छ । हिमालयले चीनका गुयाङ, चाङ्सा र सेन्जेन गरी तीन सहरको उडान रद्द गरेको छ ।

छेन्दुबाट काठमाडौं उडान भर्ने एयर चाइनाले आउने मंगलबारपछिका २४ उडान स्थगन गरेको सूचना पठाएको छ । ग्वान्जाओबाट काठमाडौं उडान भर्ने चाइना साउदर्नले १९ माघदेखि एक सातासम्मका उडान रद्द गरेको सूचना पठाएको छ । चाइना साउदर्नले १४ उडान रद्द गरेको जनाएको छ । तिब्बत एयरलायन्सले १८ माघपछिका उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरेको छ ।

‘चीनबाट नेपाल उडान गर्ने एयरलाइन्स कम्पनीले पत्रचाहिँ पठाइसकेका छैनन्, तर दुवैतर्फ यात्रुको अभाव भएपछि स्वतः स्थगित गर्छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले भने । चीन सरकारले पनि कडाइ गरेको र नेपालबाट पनि कोही जान नचाहेपछि यात्रु न्यून रहेकाले पनि एयरलाइन्सहरू दबाबमा रहेको केसीले बताए ।

चिनियाँ दूतावासले भन्यो– नेपाली सुरक्षित छन्, हामी संवेदनशील छौँ

चिनियाँ दूतावासले पनि वुहानमा रहेका नेपालीलाई चीन सरकारले मेडिकल केयरको ग्यारेन्टी गरेको जनाएको छ । शनिबार विज्ञप्ति जारी गरेर दूतावासले सबैको संरक्षण र बचाउका लागि चीन संवेदनशील रहेकोसमेत स्पष्ट पारेको छ ।

‘हामीले राम्रोसँग बुझेका छौँ कि विद्यार्थीलगायत केही नेपाली नागरिक वुहानमा छन् । उनीहरूको मेडिकल केयरको ग्यारेन्टी गरिएको छ । उनीहरूको बचाउको वैधानिक जिम्मेवारी चीन सरकारले लिनेछ,’ चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली पक्षले अपनाएको सावधानी तथा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयसँग भएको समन्वयको हामी प्रशंसा गर्छौँ ।’ दूतावासले थप आवश्यक सहयोग परे नेपाली पक्षले चिनियाँ दूतावास वा परराष्ट्र मन्त्रालयसँग सम्पर्क राख्न सक्नेसमेत स्पष्ट पारेको छ । चिनियाँ दूतावासले अहिलेको परिस्थितिका कारण नेपालमा चिनियाँ पर्यटक आगमन प्रभावित भएको उल्लेख गर्दै भनेको छ, ‘तर, यो महामारी नियन्त्रणमा आएलगत्तै नेपालमा चिनियाँ पर्यटकको आगमनका लागि हामी प्रोत्साहित गर्नेछौँ ।’

फिर्ता लगेका देशले आफ्ना नागरिक कहाँ राखेका छन् ?

भारतले वुहानबाट ३२४ नागरिकलाई शनिबार स्वदेश लगेको छ । एयर इन्डियाको जहाजबाट फर्काइएकामध्ये २२० जनालाई हरियाणाको मानेसरस्थित सेनाको तालिम केन्द्रमा राखिएको छ । अन्य एक सय चारजनालाई इन्डो तिब्बतियन बोर्डर पुलिस (आइटिबिपी)को चाबलास्थित ब्यारेकमा राखिएको छ । दोस्रो चरणको उद्धारका लागि भारतीय जहाज शनिबार दिउँसो फेरि वुहान गएको छ । बंगलादेश, श्रीलंका, टर्की, जोर्डनले पनि नागरिक फिर्ता लगेका छन् ।

अमेरिकाले वुहानबाट फिर्ता लगेका नागरिकलाई दक्षिण क्यालिफोर्नियाको मार्च एयर रिजर्भ मिलिटरी बेसमा तीन दिन राखेर डाक्टरहरूको निगरानीमा घर पठाएको छ । जापानले फर्काएका नागरिकमध्ये १२ जनाको उपचार अस्पतालमा भइरहेको छ ।

बेलायतले फिर्ता लगेका नागरिकलाई इंग्ल्यान्डको उत्तरपूर्वी क्षेत्रमा अलग्गै राखेको छ । दक्षिण कोरियाले वुहानबाट लगेका नागरिकलाई आसान र जिन्चुअन सहरमा रहेका कर्मचारी तालिम केन्द्रमा राखेको छ । अस्ट्रेलियाले फिर्ता लगेका नागरिकलाई क्रिसमस आइल्यान्डमा राखेको छ । बंगलादेशले अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइसोलेसन केन्द्र बनाएर राखेको छ । इन्डोनेसियाले वुहानबाट फिर्ता भएकाहरूलाई नाटुना आइल्यान्डको सैन्य बेसमा राख्ने व्यवस्था मिलाएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा तयारी बैठक, संयोजन गर्न मुख्यसचिवलाई जिम्मेवारी

भारत, बंगलादेश, अमेरिका, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया, जापानलगायत देशले वुहानबाट नागरिक फिर्ता गरेर बेग्लै ठाउँ व्यवस्थापन गरी विशेष निगरानीमा राखेका छन् । तर, चीनबाट उद्धार गरेर ल्याएपछि नागरिकलाई घर पठाउने वा अलग्गै राख्ने भन्ने स्पष्ट छैन । चीनबाट नागरिक ल्याउने र उनीहरूको सुरक्षित व्यवस्थापन प्रबन्ध गर्ने प्रक्रियाको संयोजन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई जिम्मा दिइएको छ ।

नागरिक उद्धार र सुरक्षित व्यवस्थापनबारे छलफल गर्न शनिबार प्रधानमन्त्री केपी ओलीले सरोकारवाला मन्त्रालयका मन्त्री र अधिकारीहरूलाई बालुवाटार बोलाएका थिए । ‘वुहानमा भएका विद्यार्थी र तिनका अभिभावकको चिन्ता र चासो सम्बोधन गर्न प्रधानमन्त्रीले आज एक किसिमको आकस्मिक बैठक बोलाउनुभएको थियो । नेपाली विद्यार्थीलाई वुहानबाट फिर्ता ल्याउने भन्ने त स्पष्ट नै छ, तर तयारी के–कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो,’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने ।

वुहानबाट नागरिकलाई ल्याएपछि उनीहरूको क्वारेन्टाइन जाँच गर्ने, आइसोलेसनमा (अलग्गै) राख्ने, आवश्यक परेमा उपचारको व्यवस्था गर्ने विषयमा बैठकमा छलफल भएको सञ्चारमन्त्री बाँस्कोटाले बताए । ‘सरकारकै निर्देशनअनुसार बेइजिङस्थित दूतावासले वुहान र वरिपरिका विद्यार्थीको विवरण संकलन गर्दै छ । यसका लागि सूचना निकालेर फारम भर्न लगाइएको छ,’ उनले भने, ‘विद्यार्थीको स्वास्थ्य र अभिभावकको चिन्ताप्रति सरकार गम्भीर छ । आवश्यक सम्पूर्ण दायित्व पूरा गर्न सरकार प्रतिबद्ध छ । त्यसैको तयारीका लागि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रालय र विभागलाई स्पष्ट निर्देशन दिनुभएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस संक्रमित भेटिएको अवस्थामा उपचारका लागि काठमाडौंका पाँच अस्पताललाई जिम्मा दिएको छ । तर, संक्रमण नदेखिएका नागरिकलाई अलग्गै राख्ने वा घर पठाउने भन्ने टुंगो लागेको छैन । ‘हामी विभिन्न विकल्पसहितका छलफलमा छौँ, सम्बद्ध सरोकारवाला निकायको समन्वयमा चाँडै नै उपयुक्त व्यवस्था गर्छौँ,’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शनिबार साँझ नयाँ पत्रिकासँग भने ।

स्वास्थ्य, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षा मन्त्रालयबीच यसबारे छलफल भइरहेको छ । सुरक्षा निकायका तालिम केन्द्रमा राख्न सकिन्छ कि भनेर छलफल भए पनि निर्णय भने भएको छैन ।

कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पाँच र काठमाडौंबाहिर चार अस्पताललाई तयारी अवस्थामा राख्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएको छ । तर, चीनबाट ल्याइने सबैलाई अस्पताल भर्ना गरिनेछैन । ‘चीनबाट ल्याइनेमध्ये कसैलाई ज्वरो देखियो भने मात्रै तोकिएको अस्पतालमा भर्ना गर्छौँ,’ स्वास्थ्यसचिव खगराज बरालले भने ।

चीनबाट फिर्ता ल्याइने र स्वदेशमै रहेका कोरोना शंकास्पदको उपचारका लागि काठमाडौंमा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सिभिल सर्भिस अस्पताल तोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । काठमाडौंबाहिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भैरहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि तयारी राखिएको छ । टेकु अस्पतालले ३८ शड्ढया तयारी अवस्थामा राखेको छ । वीर अस्पतालका निर्देशक प्रा.डा. केदारप्रसाद सेन्चुरीले ६ शय्याको क्याबिन खाली गराएको बताए । त्यस्तै, दुई बेड इमर्जेन्सीमा र दुई बेड आइसियूमा राखिएको छ । पाटन अस्पतालले पाँच बेड आइसोलेसन तयारी गरेर राखेको निर्देशक प्रा.डा. विष्णु शर्माले बताए । शिक्षण अस्पताल र सिभिल अस्पतालले पनि आवश्यकताअनुसार बेड खाली गर्ने योजना बनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसारको आइसोलेसन वार्ड सुविधा यी कुनै पनि अस्पतालमा छैनन् । डब्लुएचओका अनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन छुट्टै ‘आइसोलेसन वार्ड’ स्थापना गरी उपचार गर्नुपर्छ । छुट्टै जुत्ता, लुगा, मास्क, पन्जा प्रयोगको सुविधा भएको हुनुपर्छ । बिरामी जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्ममिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरमात्र होइन, डाक्टरका लागि फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) लगायत उपकरण छुट्टै हुनुपर्छ । संगठनले नेपाललगायत विकासोन्मुख मुलुकमा हावा पास ‘हेपाफिल्टरसहितको’ आइसोलेसन वार्ड’ हुनुपर्छ भनेको छ । तर, यस्तो सुविधायुक्त आइसोलेसन वार्ड नेपालमै छैन ।

उपचारमा चाहिने किट र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सीमित

नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक किट र संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सीमित छ । भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले कोरोना परीक्षणका लागि दुई सय किट दिएको थियो । ५० वटा प्रयोग भइसकेको छ । स्वास्थ्यकर्मीले लगाउनुपर्ने ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’को समेत सीमित छ । सिएमडिएनले ५० जोर सहयोग गरेको छ । डब्लुएचओले पाँच जोर दिएको छ ।

सिएमडिएनका कार्यकारी निर्देशक डा. दिवेश कर्मचार्यले आवश्यक परे थप किट दिने बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि आवश्यक किट खरिदका लागि प्रक्रिया अघि बढेको जनाएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आपत्कालीन अवस्थामा पुग्ने मौज्दात रहेको भन्दै अरू किट खरिदका लागि सप्लायर्सले प्रक्रिया अघि बढाइसकेको बताइन् ।

नेपाल भित्रिएका चिनियाँ मास्क उतै फिर्ता

सामान्य अवस्थामा चीनबाट नेपालमा आयात भएका मास्क कोरोना भाइरस फैलिएसँगै चीनमै व्यापक माग भएको छ । अहिले नेपालबाट ठूलो परिमाणमा मास्क चीन जान थालेको छ । चिनियाँले हजारौँ पिस मास्क मागिरहेको, तर आफूले माग पूरा गर्न नसकेको नेपाली सप्लायर्स वसन्त श्रेष्ठले बताए ।

‘पहिले एन ९५’ मास्क किन्ने व्यक्ति खासै आउँदैनथे । कोरोना भाइरस फैलिएपछि एन ९५ मास्क खोज्ने बढेका छन्,’ मेड सेवा हेल्थ केयरका सञ्चालक श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पुराना मौज्दात सबै सकिएको छ ।’ नेपाली बजारमा थ्री एम ८२०१ मास्क पनि अभाव भएको छ । यी दुवै मास्क चीनमै बनेका हुन् । चीनमा सीमित मात्रै मास्क किन्न दिने भएकाले नेपालबाट मौज्दात राख्न पनि हजारौँ पिस लैजान थालेको श्रेष्ठले बताए ।

Published on: 2 February 2020 | Naya Patrika

Link

Back to list

;