s

चीनबाट केही दिनमै नेपाली विद्यार्थी ल्याइने

काठमाडौँ, माघ २८ गते । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तको बुहान सहरमा रहेका नेपालीलाई केही दिनभित्रै ल्याउने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी तथा सहसचिव सुरेश आचार्यले चीनबाट नेपालीलाई ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेपछिमात्र पर्यटन मन्त्रालयले विमानको व्यवस्था गर्ने जानकारी दिँदै अब केही दिनभित्र चीनमा रहेका विद्यार्थी ल्याइने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेईबाट ल्याइने १८० जना विद्यार्थीको स्वास्थ्य सुरक्षित बनाउन व्यवस्था गरिरहेको जानकारी दिएको छ । विमानस्थलमा ओर्लिदादेखि विद्यार्थीलाई राख्ने क्वारेन्टाइन स्थलसम्म जाने यातायातका साधनको व्यवस्था, त्यहाँ हुने स्वास्थ्यकर्मीदेखि एम्बुलेन्स चालकलगायतका व्यक्तिलाई समेत तालिम दिइसकेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले स्वास्थ्य क्षेत्रबाट गरिने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । प्राविधिक टोलीले स्वास्थ्यतर्फको सम्पूर्ण जिम्मेवारी पूरा गरिसकेको जानकारी दिँदै सहायक प्रवक्ता दाहालले अस्पतालको व्यवस्थालगायतका विषयमा सम्पूर्ण तयारी पूरा भएको उल्लेख गर्नुभयो ।

उहाँले चीनबाट ल्याइने विद्यार्थीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि खटिने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको बताउनुभयो । प्रशिक्षणमा चिकित्सक, नर्स र एम्बुलेन्स चालकको उपस्थिति थियो । उहाँले नेपाल ल्याउनुअघि विद्यार्थीको चीनमै स्वास्थ्य परीक्षण गरिने र उनीहरूमा लक्षण देखिए चीनमै आइसोलेसनमा राखी उपचार गरिने बताउनुभयो ।

नेपाल ल्याइने विद्यार्थी अवतरणपछि पुनः त्रिभुवन विमानस्थलमा परीक्षण गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा लक्षण नदेखिएका मात्र विमानस्थलबाट सीधै क्वारेन्टाइन लगिनेछ । लक्षण देखिएका विद्यार्थीलाई आइसोलेसन वार्डमा ल्याइनेछ । उहाँले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिका लागि विभिन्न छवटा हब अस्पताल र ३० वटा स्याटेलाइट अस्पतालको व्यवस्था भइसकेको बताउनुभयो ।
देशका ३६ अस्पतालमा १४७ आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले ४३ वटा मात्र आइसोलेसन वार्ड तयार गरेको थियो । स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, पाटन, शिक्षण अस्पताल, आर्मी अस्पताल र सिभिल, भक्तपुर अस्पताललाई हब अस्पतालका रूपमा विकास गरेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, स्टार अस्पताल, वयोधा, नेपाल मेडिकल कलेज, आयुर्वेद अस्पताल नरदेवीलगायतलाई स्याटलाइट अस्पतालका रूपमा विकास गरेको छ ।

Published on: 11 February 2020 | Gorkhapatra

Link

Back to list

;