s

चीनबाट फर्केका नेपाली टेकु अस्पताल धाउँदै, कस्तो छ हाम्रो तयारी?

समिक्षा अधिकारी र विवेक राई

केही दिनयता टेकु अस्पतालको माहोल बदलिएको छ। अस्पताल छिर्नेबित्तिकै गेटको बायाँतर्फ ठूलो ब्यानर देखिन्छ। चीनमा नाेवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि यो ब्यानर थपिएको हो, जसमा रोगका लक्षण, सर्ने सम्भावना र सुरक्षित रहने उपाय सुझाइएका छन्।

अस्पताल भवनभित्र पनि ठाउँ-ठाउँमा कोरोना भाइरसबारे जानकारी दिइएका साना-ठूला ब्यानर देखिन्छन्।

भाइरस संक्रमणले मृत्यु संख्या बढ्न थालेपछि विभिन्न चिनियाँ सहरबाट फर्केका नेपाली टेकु अस्पताल धाउने क्रम बढ्दै छ। काठमाडौं विमानस्थलमा गरिने सामान्य ज्वरो परीक्षणले चित्त नबुझेर उनीहरू यहाँ आउँछन्। डाक्टरसँग जचाएर आफूलाई सल्केको छ कि छैन भनी ढुक्क हुन चाहन्छन्। यसले अस्पतालको धपेडी थपिएको छ।

यो धपेडी अझ बढ्नेछ, जब कोरोना भाइरसको उद्गम सहर मानिने चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई काठमाडौं ल्याइनेछ।

सरकारले चार्टर्ड जहाजबाट ती विद्यार्थी फर्काउने निर्णय गरिसकेको छ। यहाँ ल्याएपछि सिधै घर नपठाएर कम्तीमा दुई साता विभिन्न अस्पतालको 'आइसोलेसन वार्ड' मा राख्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैमध्ये टेकु अस्पताल एक हो।

के टेकु यसनिम्ति तयार भइसक्यो? फर्काएर ल्याइएका विद्यार्थीलाई अरू बिरामीबाट अलग्गै स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल सक्षम छ? के स्वास्थ्य मन्त्रालयले भनेजस्तो 'आइसोलेसन वार्ड' टेकुले बनाइसक्यो?

यिनै जिज्ञासा लिएर हामी आइतबार दिउँसो टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पुग्यौं, जसलाई सर्वसाधारण 'टेकु अस्पताल' भनेर बढ्ता चिन्छन्।

हामीले सबभन्दा पहिला अस्पताल परिसरमा भेटिएका केही नर्ससँग कुराकानी गर्न खोज्यौं। 'कोरोना भाइरस' भन्नासाथ उनीहरूले हातैले इसारा गरेर इमरजेन्सीतिर देखाए।

उनीहरूले हामीलाई नै संक्रमित ठाने कि भनेर आफ्नो परिचय दियौं। त्यसपछि बल्ल उनीहरू खुले।

‘डर त लागिरहेको छ। लागेर के गर्नू, अरूलाई रोग नै लागेको छ,’ एउटी नर्सले भनिन्।

‘घरपरिवारले साह्रै चिन्ता गर्नुभएको छ,' अर्की नर्सले भनिन्, 'बिरामीको नजिक जाँदा दुई-तीनवटा मास्क लगाउनू, सकभर बिरामीसँग नबोल्नू भनिरहनुहुन्छ।’

अहिलेसम्म यहाँ उपचार गर्न आएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाबाट रिपोर्ट आउनुअघि नै उनी डिस्चार्ज भइसकेका थिए। अस्पतालले सोधखोज गरेर निगरानीमा राखेको र अहिले निको भइसकेको जनाएको छ।

यसबाहेक अस्पतालको 'आइसोलेसन वार्ड' मै राखेर थप पाँच जना बिरामीलाई निरन्तर निगरानीमा राखियो। उनीहरूमा संक्रमण पुष्टि भएन। रिपोर्टमा देखिन्छ कि भनेर अनुगमनमा राखेको अस्पतालले जनाएको छ।

रोगको त्रास फैलिएपछि मौसमी रुघाखोकी लागेका बिरामीको घुइँचो लाग्न थालेको छ। खासगरी भर्खरै कुनै चिनियाँ सहरबाट आएकाहरू परीक्षण गरेर ढुक्क हुन चाहन्छन्। दिनको औसत १५ जना त्यस्ता व्यक्ति आइरहेको एक कर्मचारीले बताइन्।

काठमाडौंमै चिनियाँ नागरिकसँग संगत गरेकाहरू पनि भाइरस सल्कियो कि भनेर सोध्न आउँछन्। यसरी आउनेमा ट्रेकिङ गाइड बेसी छन्।

संक्रमण भएका व्यक्तिमा रोगको लक्षण देखिन दुई सातासम्म लाग्छ। त्यही भएर चीनबाट फर्केकाहरू सिधै घर जान डराउँछन्। उनीहरूले 'केही दिन होटलमै बस्ने' अस्पताललाई बताउने गरेका छन्।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, धेरै मान्छेमा रोग लाग्नेबित्तिकै मरिन्छ कि भन्ने भ्रम छ। के-कस्तो अवस्थामा संक्रमण हुन्छ र कस्ता लक्षण देखिन्छन् भन्नेबारे व्यापक जानकारी दिनुपर्ने खाँचो उनले औंल्याए।

‘हल्ला धेरै भइरहेको छ,' डा. पुनले भने, 'मानिसमा कोरोना भाइरसभन्दा फोबिया बढ्ता देखियो।’

आइतबार हामी पुग्दा पनि चीनबाट फर्किएका केही व्यक्ति उपचार गर्न आएका थिए। उनीहरूको अवस्था हेरेपछि डाक्टरले 'केही भएको छैन' भन्दै परीक्षण गर्नु नपर्ने जवाफ दिए। सँगसँगै, परिवारबाट छुट्टै बस्न र नियमित फलोअपमा रहन सुझाव पनि दिए।

'कोरोना लागेको छैन भन्छ, तर परिवारसँग घुलमिल भएर नबस्नू पनि भन्छ। के होला यो?' उपचार गर्न आएका व्यक्ति अलमलिए।

लक्षण देखिनुपूर्व नै भाइरस एकबाट अर्कोमा सर्न सक्छ भन्ने उनले सुनेका थिए। त्यही भएर संक्रमण भए-नभएको जचाएर ढुक्क हुन चाहन्थे। तर अस्पतालको फितलो प्रक्रियाका कारण निराश हुनुपरेको उनले बताए।

अस्पताल प्रशासनले भने कोही व्यक्तिलाई संक्रमणको शंका लागे भर्ना हुन सक्ने जनाएको छ। त्यस्ता बिरामीलाई 'आइसोलेसन वार्ड' मा राखेर उपचार गरिने अस्पतालका सिनियर कन्सलटेन्ट तथा प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए।

‘हामीले यहाँ आएका मानिसलाई केही शंका छ भने अस्पतालमै बस्नुस्, खानेबस्ने व्यवस्था छ, केही दिनमा लक्षण देखिए थप उपचार हुन्छ, लक्षण नदेखिए संक्रमण नभएको पुष्टि हुन्छ भनेका छौं,’ उनले भने।

तर लक्षण, कारण, उपचार, औषधि, विधि आदि नखुलेको अपरिचित रोग भएकाले अस्पताल आफैं सुरक्षित छ भनेर बिरामीहरू ढुक्क छैनन्।

उनका अनुसार, चीनबाट आएका व्यक्तिमा रूघाखोकी लागेको छ भने मात्र 'आइसोलेसन वार्ड' मा राखेर उपचार गरिन्छ। यहीँका मान्छेलाई रूघाखोकी लाग्दैमा डराउनुपर्दैन।

शंका लागेका कोही व्यक्ति आएपछि उनीहरूमा लक्षण छ कि छैन हेरिन्छ। लक्षण छ भने आइसोलेसन वार्डमा राखिन्छ। छैन भने घरै पठाइन्छ।

हामीले डा. बास्तोलासँग 'आइसोलेसन वार्ड' हेर्ने इच्छा राख्यौं। उनले परैबाट देखाउँदै भने, ‘यहाँबाट उता आइसोलेसन कक्ष हो। भित्र कोही जान पाउँदैन।’

जनरल वार्डबाट अलिकति छुट्टयाएर राखिएको उक्त कक्षमा छ जनासम्म अटाउने उनले बताए। बिरामी चाप बढ्दै गए २२ जनासम्म राख्ने गरी व्यस्था गर्न सकिने जानकारी दिए।

अरू देशमा संक्रमण पुष्टि भएका बिरामी उपचार गर्न डाक्टर तथा नर्सले सुरक्षित पोसाक लगाउने गरेको देखिन्छ। यहाँ भने त्यस्तो सुविधा छैन भनी स्वास्थ्यकर्मीहरू नै गुनासो गर्छन्। यसबारे सोध्दा बास्तोलाले ठूलो स्वरमा भने, ‘हामीलाई हाम्रो स्वास्थ्यको चिन्ता छैन र! आफैं सुरक्षित नभई अरूलाई सुरक्षा दिन सम्भव नै छैन।’

उनले अगाडि थपे, ‘तपाईंहरूलाई पनि हाम्रो स्वास्थ्यको बारेमा चिन्ता रहेछ, खुसी लाग्यो। देशमा संक्रमणको हुरी चल्दा हामी पनि हात बाँधेर बसेका छैनौं। तयारी आ-आफ्नो ठाउँमा छ।’

हामीले कोरोना भाइरस पुष्टि गर्ने परीक्षणबारे पनि सोध्यौं। उनले जवाफमा भने, ‘नेपाल सरकारसँग कम खर्चमा एक दिनमै रिपोर्ट निकाल्न सक्ने संयन्त्र छ। आत्तिनु पर्दैन।’

डा. बास्तोलाको क्याबिनमा बसेर कुराकानी गर्दा गर्दै दुई जना युवा छिरे। तीमध्ये एक जना आफू चीनको सानिया प्रान्तबाट फर्किएको बताउँदै थिए। उनी जनवरी १३ मा नेपाल आएका रहेछन्।

'चीनबाट फर्कँदा रुघाखोकी र घाँटी दुख्ने समस्या थियो। नेपाल आएको एक सातापछि कोरोना भाइरसबारे थाहा पाएँ,' उनी भन्दै थिए, ‘सामाजिक सञ्जाल, टेलिभिजन, इन्टरनेट जताततै कोरोनाको बारेमा आइरहेको छ। अहिले पनि घाँटी दुख्ने, रुघा लाग्ने भइरहेकै छ। रोगबारे जति सुन्यो, त्यति गाह्रो भइरहेको महशुस हुन्छ।’

डा. बास्तोलाले उनका बारेमा थप केही सोधखोज गरे। र, 'भोलि आउनू' भनी फिर्ता पठाइदिए।

चीनमा होटल म्यानेजमेन्टको इन्टर्नसिप सकेर आएका ती युवकलाई डा. पुनले भनेजस्तै कोरोनाको भयले गाँजेको थियो। अचम्म त के भने, चीनबाट फर्केका र रुघाखोकीसमेत लागेका व्यक्ति सिधै प्रवक्ताको क्याबिनमा पुगे। र, उपचारै नगरी भोलिपल्ट आउने गरी यसै फर्किए पनि। यसले टेकु अस्पतालको तयारी र सतर्कतामाथि प्रश्न भने उठ्छ।

प्रधानमन्त्रीले आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा चीनबाट विद्यार्थी ल्याउने तयारी भइरहेको र उनीहरूलाई राख्ने छुट्टै कक्ष बनाइरहेको बताएका थिए। कोरोना भाइरसको 'फोबिया'मा नबस्न उनले पटक-पटक अनुरोध गरे।

टेकु अस्पताल पुग्दा भने 'आइसोलेसन वार्ड' भनेर केही शैया छुट्याउनुबाहेक संक्रमण फैलिन नदिन पूर्ण तयारी भइसकेको देखिएन।

वुहान सहरबाट सुरू नोवेल कोरोना भाइरस संक्रमणले आइतबार बेलुकीसम्म चीनमा तीन सयभन्दा बढीको ज्यान गएको छ। तीन हजारभन्दा बढी संक्रमित छन्। चीन लगायत १२ देशमा यो रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले 'स्वास्थ्य संकटकाल' घोषणा गरेको छ।

Published on: 3 February 2020 | Setopati

Link

Back to list

;