s

चीनबाट फर्काइँदै नेपाली

चन्द्रशेखर अधिकारी

दूतावासमा फारम बुझाउनुपर्ने

काठमाडौं : कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपे प्रान्तमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काइने भएको छ। बेइजिङस्थित नेपाली दूतावासले उनीहरूलाई फर्काउन प्रक्रिया अघि बढाएको छ। यसका लागि नेपालबाट विशेष जहाज पठाउने तयारी भएको दूतावासले जनाएको छ।

यस्तै, आइतबार बिहानसम्म फारम भर्न समय तोकिएको छ। सोहीअनुसार नेपालीले फारम भरेर दूतावासमा पठाउन थालेका छन्। स्वदेश फर्काउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सर्तसहित सहमतिपत्र तयार पारिएको हो। विमानबाट नेपाल ल्याउँदा खाना त्यहीं राख्ने, बसेको स्थानबाट अन्यत्र जान नदिने, परीक्षणपछि मात्र पठाइनेजस्ता उपाय अवलम्बन गरिनेछ। अन्य मुलुकले आफ्ना नागरिकलाई लैजाँदा पनि यस्तै नियम लगाएको जानकारी हुपेमा रहेका विद्यार्थीले दिएका छन्। त्यहाँ चिकित्सा शिक्षा अध्ययन गरिरहेकाहरूले यो विषयमा जोड दिएका हुन्।

हुपे प्रान्तभित्र भाइरसप्रभावित मुख्य क्षेत्र उहानसहित विभिन्न सहरमा रहेका नेपालीमा संक्रमण भने देखिएको छैन। कोरोना त्रासका कारण उनीहरूले त्यहाँ ‘बन्दी’ जीवन बिताइरहेका छन्। १२ दिनदेखि बन्दी अवस्थामा रहेको समाचार शनिबार अन्नपूर्णमा प्रकाशन भएपछि सरकारले उनीहरूको उद्धार गर्ने विषयमा निर्णय लिएको हो।

‘सरकारले फिर्ता लैजाने भनेको सुनियो। खुसी लागेको छ’, उहानमा रहेकी प्रमिला देवकोटाले अन्नपूर्णसँग भनिन्, ‘जतिसक्दो छिटो हामीलाई यहाँबाट लगियोस्।’ सोमबारसम्म सरकारले उनीहरूलाई स्वदेश ल्याउन सक्ने जनाइएको छ।

भाइरस संक्रमणको शंका भएकालाई चीनमै ‘अब्जरभेसन’मा राख्ने सर्त फारममा राखिएको छ। उहानबाट ल्याउने नेपाली पनि सरकारले तोकेको स्थानमा बस्नुपर्ने हुन्छ। तोकेको ‘क्वारेन्टाइन’मा बस्ने सर्तमा विद्यार्थीले हस्ताक्षर गरेर पठाउनुपर्ने र त्यसको हार्डकपी फर्किने दिन दिनुपर्ने दूतावासको सूचनामा उल्लेख छ। सरकारले भनेबमोजिम सतर्कता अपनाउन तयार रहेको नेपाली विद्यार्थीले बताएका छन्।

सरकारले तोकेको स्थानमा बस्नुपर्ने जानकारी दिएको देवकोटाले सुनाइन्। इमेल वा विच्याटमा दूतावासले पठाएको कागजातको सर्त मान्ने भन्दै हस्ताक्षर गरी नेपाली विद्यार्थीले दूतावास फिर्ता पठाइसकेका छन्। अन्य विदेशीलाई पठाउँदा पनि चीनले यस्तै प्रतिबद्धता खोजेको थियो। दूतावासको वेबसाइटमा आवेदन फारम राखेर नेपाली विद्यार्थीलाई भर्न आह्वान गरिएको छ।

जहाज तयारी अवस्थामा

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्‍त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन जहाज तयारी अवस्थामा राखिएको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा भएको छलफलमा मन्‍त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीलाई फिर्ता ल्याउन प्रक्रिया अघि बढाइएको जानकारी दिए।नेपाली विद्यार्थी चीनमा सुरक्षित रहेको जानकारी लिइरहेको पनि उनले सुनाए।

नेपालीको सुरक्षा ग्यारेन्टी गर्छौ : चिनियाँ दूतावास

चिनियाँ दूतावासले चीनमा रहेका नेपालीको सुरक्षामा चीन सरकारले कुनै कमी नगरेको बताएको छ। कोरोना भाइरसबाट जीवन रक्षा र उपचारको ग्यारेन्टी चीनले गरेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

‘उहान र आसपास सहरमा नेपाली विद्यार्थी रहेकाले उनीहरूको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ’, दूतावासकोे विज्ञप्ति लेखिएको छ, ‘यस्तो अवस्थामा अध्ययनरत नेपालीको अधिकार र इच्छाको रक्षा गर्न चीन सदैव तयार छ। त्यसमा पहलकदमी गरिरहेको छ। धेरै नआत्तिन र ढुक्क हुन हामी आग्रह गर्दछौं। चीनमा रहेका नेपालीको सुरक्षा र स्वास्थ्योपचारको सुनिश्चितता गर्छौं।’ दूतावासले संक्रमणका कारण नेपालको पर्यटनमा परिरहेको असरबारे चीन जानकार रहेको जनाएको छ। यो समस्यापछि अधिकतम चिनियाँ नेपाल आउने आश्वासन उसले दिएको छ।

Published on: 2 February 2020 | Annapurna Post

Link

Back to list

;