s

चीनबाट विद्यार्थी फर्काउन चार निकायले बाँडे जिम्मेवारी

क्वारेन्टाइन खोज्दै सेना : रोजाइमा पाँचखालको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्र

चीनको हुबेई प्रान्तका ६ स्थानबाट १८० नागरिकलाई स्वदेश फिर्ता गरेदेखि दुई साता क्वारेन्टाइनमा राखेर घर फर्काउनेसम्मको कार्ययोजना तयार भएको छ । परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने÷बस्ने बन्दोबस्त हुन लागेको छ ।

पर्यटन मन्त्रालयले हुबेईको वुहानबाट नेपालीलाई विशेष जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा लिनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई लिन जहाजमा चिकित्सकको टोली पठाउनेदेखि स्वदेश ल्याएर स्वास्थ्योपचारसम्मको जिम्मा लिनेछ । गृह मन्त्रालयले उनीहरूको सुरक्षा र यातायातको जिम्मा लिनेछ । रक्षा मन्त्रालयले क्वारेन्टाइन, आइसोलेसन वार्ड, खानपिन र बन्दोबस्तीको जिम्मा लिनेछ ।

वुहानबाट ल्याइने सबैलाई सकभर एकै स्थानमा राख्ने तयारी छ । सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र रोजाइमा छन् । बुधबार थप अध्ययन गरेर एउटा ठाउँ टुंग्याउने सरकारी तयारी छ । त्यसपछि नेपाली नागरिक फिर्ता गर्ने कूटनीतिक प्रक्रिया सुरु हुनेछ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र, पर्यटन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयका अधिकारी तथा सुरक्षा निकायबीच स्वदेश फिर्ताको कार्ययोजनादेखि सुरक्षित स्थान, उपचारको जिम्मेवारीका विषयमा छलफल भएको थियो । उनीहरूलाई राखिने क्वारेन्टाइनबाहेक सबै विषयमा सरोकारवाला निकायबीच सहमति भएको हो ।

यो सबै प्रक्रियामा सहभागी अधिकारीका अनुसार क्वारेन्टाइनको टुंगो लागेपछि मन्त्रिपरिषद् बैठकले बजेटसहितका विषयमा औपचारिक निर्णय गर्नेछ । सरकारले औपचारिक निर्णय गरेर चीनलाई जानकारी दिएपछि नागरिक फिर्ता गर्ने प्रक्रिया पूरा गर्न कम्तीमा तीन दिन लाग्नेछ ।

स्रोतका अनुसार क्वारेन्टाइनका लागि सम्भावित स्थानबारे सेनाले मंगलबार जानकारी गराएको थियो । खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र, नगरकोटको खानेपानी तालिम केन्द्र, शिवपुरीस्थित स्टाफ कलेजको क्षमताबारे सैनिक अधिकारीले जानकारी दिएका थिए । खरिपाटीमा १९ कोठा उपलब्ध रहेको र तीनजनाका दरले ५७ जना मात्रै राख्न सकिने बताएका थिए । तर, कोठा खाली गराउँदा र बेड थप्दा सबैलाई राख्न सकिने विषयमा पनि छलफल भएको थियो । नगरकोटको खानेपानी तालिम केन्द्रमा नौ कोठा रहेको र १८ जनाभन्दा नअट्ने सेनाको निष्कर्ष थियो ।

सैनिक अधिकारीले वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखालमा आइसोलेसन वार्ड रहेको र त्यहाँ राख्न सकिने सम्भावनाबारे बुधबार विस्तृत जानकारी गराउने जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालले खटाउने टिमसहित दुई सयजनालाई कम्तीमा १४ दिन खाने बस्नेसहितको प्रबन्ध गर्ने र स्वास्थ्य टिमसमेत खटाउने सेनाले वचन दिएको छ । ‘यससम्बन्धी सरकारले निर्देशन दिएपछि सेनाले दु्रत गतिमा काम गर्छ, सेना तयारी अवस्थामा छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने ।

मंगलबारको छलफलमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विशेष विमान चार्टर्ड गरेबापतको बजेट मागेका थिए । उनले प्रतिघन्टा करिब १० हजार अमेरिकी डलर आवश्यक रहेको विवरण पेस गरे । स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले उपचार, स्वास्थ्य सामग्रीलगायतका लागि एक करोड ९० लाख बजेट चाहिने बताएका थिए । बुधबारको छलफलमा बाँकी निकायले बजेट मागेपछि मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने सरकारी तयारी छ ।

सरकारी अनुमान : वुहानबाट ल्याइने नेपालीमध्ये १० जना बिरामी हुन सक्छन्

सरकारले वुहानबाट ल्याइने नेपालीमध्ये कम्तीमा १० जना बिरामी हुन सक्ने अनुमान गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले मंगलबार नियमित पत्रकार सम्मेलन गर्दै चीनबाट आउनेमध्ये पाँचदेखि १० जना बिरामी हुन सक्ने बताए । ८–१० घन्टाको यात्रा अवधिमा केही बिरामी हुन सक्ने मन्त्रालयको अनुमान छ ।

वुहानबाट स्वास्थ्य जाँच गरेर आएकामध्ये कोही जहाजमै बिरामी परे जहाजको पछिल्लो सिटमा राखिनेछ । ‘जहाजको पछिल्लो सिटलाई आइसोलेसन वार्डजस्तो बनाउँछौँ, उनीहरूले बेग्लै शौचालय प्रयोग गर्नेछन्,’ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले भने, ‘चालक दल र स्वस्थ यात्रुहरूका लागि अलग्गै शौचालयको व्यवस्था हुनेछ ।’

यसअघि चीनबाट आएकामध्ये रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएका १४ जनालाई कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर, एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

चीनबाट उद्धार गरी ल्याइने सम्भावित बिरामीलाई लक्षित गरी मन्त्रालयले ४३ शøयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ । सरकारले आपत्कालीन अवस्थाका लागि भन्दै दुई हजारलाई पुग्ने कोरोना परीक्षण किट खरिद प्रक्रिया पनि अघि बढाएको छ । त्यसका लागि ९० लाख बजेट विनियोजन भएको छ ।

मापदण्ड पूरा गरेर नेपाली फिर्ता गरियोस् : चिनियाँ राजदूत

चिनियाँ राजदूत होउ यान्छीले चीनमा कोरोना भाइरसको महामारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर मात्रै चीनबाट नेपाली फिर्ता गर्न नेपाल सरकारलाई सुझाब दिएकी छन् । हुबेईको वुहानसहितका सहरमा रहेका नेपाली सुरक्षित रहेको र अहिलेसम्म संक्रमित भएको नदेखिएको पनि उनको भनाइ छ ।

‘नेपाल सरकारले नेपालीलाई उद्धार गर्ने योजना बनाएको विषयमा म जानकार छु । हामीले कूटनीतिक च्यानलमार्फत नेपालसँग समन्वय गरिरहेका छौँ । तर, यो महामारी फैलिनबाट रोक्नु हरेक देशको जिम्मेवारी हो,’ मंगलबार सञ्चारमाध्यमलाई प्रेषित प्रश्नोत्तरसहितको प्रेस नोटमा उनले भनेकी छिन्, ‘नेपाली पक्ष उनीहरूको उद्धार गर्न चाहन्छ भने यो रोगको महामारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समन्वय गरेर उनीहरूले भनेको उपयुक्त मापदण्ड पूरा गर्नुपर्छ भन्ने सल्लाह दिन चाहन्छौँ ।’ चीनमा नेपाली सुरक्षित रहेको र उनीहरूलाई आवश्यक सहयोग सरकारले गरिरहेको पनि उनले बताएकी छिन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई सन्देश पठाएर सहानुभूति व्यक्त गरेकोसमेत जानकारी दिएकी छन् । नेपालका सरकारी निकायलाई नियमित रूपमा सूचना प्रवाह गरिरहेको र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग पनि संवाद भइरहेको उनको भनाइ छ ।

‘हामीले देखेका छौँ कि नेपाली पक्षले विमानस्थलमा क्वारेन्टाइन सुविधा, चेकजाँचको व्यवस्था मिलाएको छ,’ राजदूत होउले भनेकी छन्, ‘शंकास्पद बिरामीका लागि उपचार गर्न नेपाल सरकारले काठमाडौं, चितवनसहितका ठाउँमा व्यवस्था गरेको छ ।’

Published on: 5 February 2020 | Naya Patrika

Link

Back to list

;