s

‘छोराको मुख त हेर्न पाइएन, घरसम्म पुग्न पाए हुन्थ्यो’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बाँकेको कोहलपुरका शंकर कुँवर मजदुरीका लागि चार महिनाअघि भारत, हिमाचलको सिरमोर आइपुगे । सल्यानका एक ठेकेदारले उनलाई खयरका रूख काट्नुपर्ने र दैनिक ज्याला कम्तीमा एक हजार भारु पाइने लोभ देखाएका थिए । अरू चार जनालाई पनि यसै भनेर फोन गरेका थिए ।

यसअघि कुवेत र मलेसियामा पसिना चुहाएर आएका शंकरलाई प्रस्ताव राम्रै लाग्यो । सिरमोरको टिम्बी पुगेपछि उनीहरूलाई भारतीय ठेकेदारको जिम्मा लगाइयो । तर, नेपाली ठेकेदारले चुर्लुम्मै डुबाएछन् । काम भनिएभन्दा निकै गाह्रो, ज्याला भने कम । खयरको रूख जरैदेखि काटेर बोक्रा ताछी बचेको भाग लोड गर्नुपर्ने । ज्याला दिनको जम्मा तीन सय भारु । उनीहरूले ठेकेदारसँग चर्काचर्की गरे । ठेकेदारले उल्टै धम्की दिए– काम गर्ने भए गर, नभए जाऊ ।

करिब दुई महिनापछि काम छाडे । त्यसबीच सँगै गएका एक साथी निकै बिरामी परे । सबैले आफूसँग भएको पैसा खर्चेर उनलाई नेपाल पठाए । अब उनीहरू आफैंलाई खानबस्नकै समस्या पर्न थाल्यो । ठेकेदारसँग पहिलेकै ज्याला लिन बाँकी थियो । तर उनी कहिले नेपाली ठेकेदारलाई सोध्नुपर्ने त कहिले पछि दिउँला भन्दै बहाना बनाउँथे । हुँदाहुँदै एक दिन तिमीहरूको पैसा नेपाली ठेकेदारले लगिसक्यो भन्दै पन्छिए । उनीहरूले तत्काल नेपाली ठेकेदारलाई फोन लगाए । जवाफ आयो, ‘तिमीहरूको बाउले दिएको छ मलाई राख्न ?’

यही तनाबकै बीच अचानक ‘लकडाउन’ भइदियो । घर फर्कने उपाय पनि रहेन । ‘अब त भोकै मरिने हो कि भन्ने पो चिन्ता हुन थाल्यो,’ सँगै रहेका हरि वैरागीले भने । केही नलागेपछि ज्याला नदिए पनि कम्तीमा घर जाने व्यवस्था मिलाइदिन आग्रह गरे, ठेकेदारले सुनेनन् ।

उनीहरू हिँडेर जान नखोजेका होइनन् । तर, कोहलपुरसम्मको ७ सय किमि पार गर्न अलिअलि खर्च त जुटाउनै पर्‍यो । फेरि कामको खोजीमा लागे । बल्लतल्ल हरियो केराउ छोडाउने काम पाए, ज्याला दिनको दुई सय भारु । ‘बाटो खर्च जुटाउन त्यो पनि गर्नैपर्ने थियो,’ शंकरले भने । छटपटीसँगै कारोना सल्कने हो कि भन्ने त्रास पनि उत्तिकै थियो ।

धन्न, परिवारसँग दिनमा एकपटक भए पनि कुराकानी हुन्थ्यो । छोराहरूसँग बोल्न पाउँदा बेचैनी कम हुन्थ्यो । लकडाउन खुल्नासाथ आउँछु भनेर सान्त्वना दिन्थे । ‘मलाई पनि धेरै हल्का हुन्थ्यो, परिवारसँग कुरा गरेपछि,’ उनले भने ।

शंकरले अघिल्लो बिहीबार बिहान नौ बजेतिर परिवारसँग एक घण्टा कुरा गरे । छोराहरू सुरेश र नरेशलाई घरबाहिर ननिस्किनू भनेर सम्झाए । तर त्यसको केही घण्टाभित्रै जेठो छोराको फोन आयो । शंकरको मनमा चिसो पस्यो, कुनै अनिष्टको संकेतजस्तो । नभन्दै छोराले सुनाए, ‘बुबा भाइ त पानीमा डुब्यो ।’ शंकरलाई आकाश खसेजस्तो भइहाल्यो ।

कान्छा छोरा नरेश बिहान खाना खाएर साथीहरूसँग बाख्रा चराउन गएछन् । त्यहीँ उनीहरू दहमा पौडी खेल्न थाले । औद्योगिक क्षेत्रले माटो निकालेर छाडेको खाल्डोको गहिराइ उनीहरूलाई अन्दाजै थिएन । तीनै जनाको डुबेर मृत्यु भयो । 

दश वर्षीय नरेशले बिहान मात्र बाबुसँग लाडिएर कुरा गरेका थिए । त्यही आवाज अहिले पनि शंकरको कानमा गुन्जिरहन्छ । ‘त्यसै पनि परदेशमा कष्ट भोगिरहेका बेला यो भन्दा ठूलो चोट हुन सक्छ ?’ उनले भने । नरेशले बुबालाई चाँडै आउन र हाते घडी ल्याइदिन भनेका रहेछन् । ‘बुबा स्कुल जाँदा समय हेर्नुपर्छ घडी ल्याइदिनू है भनेको थियो,’ शंकरले गला अवरुद्ध पार्दै भने ।

कलकलाउँदो छोरा गुमाएको पीडामा आमा त्यसै दिनदेखि अर्धचेत छिन् । शंकरले धेरैपटक पत्नीसँग फोनमा बोल्न कोसिस गरिसके । तर उनको बोली फुटेको छैन ।

छोराहरूको भविष्य उज्ज्वल बनाउनकै लागि भारत पसेका हुन् शंकर । त्यसअघि मलेसियामा चार वर्ष र कतारमा तीन वर्ष कमाएको पैसाले घरबार जोडे । छोराहरूलाई गाउँकै बोर्डिङमा पढाएका थिए । दुवैलाई आफ्नै खुट्टामा उभ्याउन चाहन्थे । तर, सपना अधुरै रह्यो । 

अन्तिम पटक भए पनि कान्छो छोराको मुहार हेर्ने धोको थियो शंकरलाई । लकडाउनले त्यो पनि पूरा हुन दिएन । उता जेठा छोरा फोनैपिच्छे ‘बुबा छिट्टै आउनुस्, सम्हाल्न गाह्रो भयो’ भनिरहन्छन् । सुनेर शंकरको मन हुँडलिन्छ ।

तत्काल नेपाल जान सम्भव नभएपछि चार दिनपछि (गत आइतबार) छोराको अन्तिम संस्कार गरियो । शंकर अहिले साथीहरूसँगै टिम्बीकै एउटा खाली घरमा बसेका छन् । त्यहीँ छोराको आशौच बारेका छन् । ‘के गर्नु जान नपाएपछि संस्कार त निभाउनै पर्‍यो, जहाँ भए पनि,’ उनले भने । 

यस्तो बेला परिवारलाई एक्लै छाड्नुपर्दा उनलाई खपिनसक्नु पीडा भएको छ । तर, हिँडेरै जान पनि सीमामा आउजाउ ठप्प पारिएको छ । सरकारले नै पहल नगरी उनले पस्न पाउनेछैनन् । ‘अरू बेला कहिले पो सरकारलाई गुहारेका छौं र ? यस्तै बेलामा त चाहिने हो सरकार,’ उनले थपे, ‘घर जान व्यवस्था मिलाइदिए सधैं सरकारको ऋणी हुने थिएँ ।’

Published on: 29 April 2020 | Kantipur

Link

Back to list

;