s

छोराको शव कुर्दै परिवार

दुर्गालाल केसी

दाङ — पढ्ने र घरको आर्थिक अभाव मेटाउने उद्देश्यसहित एक वर्षअघि जापान उडेको छोराले एकाएक संसार छाडेको खबर पाएदेखि आमा हरिकला बुढाका आँखा ओभाएका छैनन् । ‘मेरो छोरो ल्याइदेऊ छिटो । एक पटक मुख त देखाइदेऊ,’ उनी एकोहोरो कराइरहन्छिन् ।

जापानको ओकिनवामा पढ्दै कमाउँदै गरेका २२ वर्षीय सुदीप बुढाको चैत १८ गते मृत्युको खबर आएपछि तुलसीपुर उपमहानगरपालिका–३ पैयाँखोरे गाउँ शोकाकुल भएको छ । आमा छिनमै बेहोस हुन्छिन्, उनी छोराको मुखसमेत देख्न नपाउने चिन्तामा छिन् । ‘ममी ! छोरा र ऋणको केही चिन्ता नगर्नुहोला । पढाइ पनि राम्रो छ । कमाइ पनि राम्रो छ भन्दै चैत १६ गते भिडियोमा बोलेको थियो,’ हरिकला भन्छिन्, ‘राति ८ बजे बा–आमालाई सम्झाउँदै १८ गते २ लाख रुपैयाँ पाठाइदिन्छु भन्दै फोन राखेको थियो । पैसा आएको खबर आउला भन्ने बेला छोरा नै नरहेको खबर आयो ।’

आइतबार बिहान ११ बजे सुदीप आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको खबर आयो । ऋण गरेर १९ लाख खर्चमा ८ चैत २०७८ मा उनी जापान उडेका थिए । छोराले एक वर्षमा कमाएर पठाएको १६ लाख रुपैयाँ ब्याज तिर्न ठिक्क भएको र ऋण तिर्न अझ बाँकी नै रहेको बुवा कर्णबहादुरले बताए । जापान जानुभन्दा एक वर्षअघि ऋण लिएको र कोभिडका कारण समयमै जान नपाउँदा ब्याज धेरै भएको उनको दुखेसो छ । कहिल्यै निराशाजनक कुरा नगर्ने सुदीपले आत्महत्या गरेकामा कर्णबहादुरलाई कत्ति पनि विश्वास छैन । ‘ऋणको कुनै टेन्सन नगर्नुस् भनेर सम्झाउने त्यही छोरा हो । कुनै बेला निराशाजनक कुरा गरेन,’ उनले भने, ‘एक्कासि मृत भेटिएको भन्ने खबरमा हामीलाई विश्वास छैन ।’

एकातिर छोराको मृत्युको खबरले विक्षिप्त बनाइरहेका बेला अर्कोतिर शव नेपाल ल्याउन थप २० लाख रुपैयाँ पठाउनुपर्ने खबरले उनीहरू थप पीडामा छन् । विद्यालयले नेपाल शव पठाउन २० लाख रुपैयाँ पठाउन बारम्बार दबाब दिइरहेको बुवा कर्णबहादुरले बताए । टीसीएलसी ओकिनवा जापानी भाषा स्कुलका सम्पर्क व्यक्ति बताउने नेपाली शिक्षक रामप्रसाद आचार्यले २० लाख पठाएर लास छिटो लैजान दबाब दिइरहेको उनको भनाइ छ । ‘पुरानै ऋण तिर्न बाँकी छ । थप २० लाख रुपैयाँ कसरी पठाउनू ?,’ कर्णबहादुरले भने, ‘सम्पत्तिका नाममा रहेको घरबास र एक कट्ठा खेत पनि छोरो पठाउँदा ल्याएको ऋणले बन्धकी छ ।’

आवश्यक पहलकदमीका लागि उनले चिनेका सबै राजनीतिक दलका नेतालाई आग्रह गरे तर कसैले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । ‘यो देशमा गरिबले अन्तिम संस्कार पनि गर्न नपाउने ?’ आमा हरिकलाले भनिन्, ‘एउटा गरिब परिवार छोराको शव पनि हेर्न नपाएर जिउँदै मर्नुपर्ने भयो ।’

Published on: 13 April 2023 | Kantipur

Link

Back to list

;