s

छोरा मलेसियाको जेलमा, बाबु ऋण खोज्दै साहुको दैलोमा

राजविराज नगरपालिका १ सप्तरीका हरिनारायण दास र विन्दादेवी दासका तीनजना छोरा विदेशमा छन् । जेठो छोरा साउदी अरबमा, माइलो र कान्छो मलेसियामा ।
 
तीनै जना छोराहरुले कमाएर भविष्यमा सुख पाउला भन्ने उनीहरुको आशामाथि यतिबेला कुठाराघातजस्तै भएको छ । साउदी पुगेको जेठो छोरा आफ्नो परिवारसँग अलग्गै बस्न थाले, माहिलो छोरा मलेसिया पुगेको सातवर्ष भयो जीउदो मर्दाे के छ कुनै अत्तोपत्तो छैन, कान्छो छोरा पनि पाँच महिनादेखि मलेसियाको जेलमा छन् ।
 
यी दम्पती ऐलानी जग्गामा सानो छाप्रो बनाएर बसेका छन् । त्यसैमा चिया पकाएर बचेरे जीविकोपार्जन गरिरहेका छन् । हरिनारायण र विन्दादेवीका कान्छा छोरा २५ वर्षका नवीनकुमार दास मलेसियाको जेलमा छन । उनी कुनै ठुलो अपराध गरेर जेल परेका होइनन्, अवैधानिक भएको अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेको थियो । पक्राउ परे पछि मलेसियाको कानुनअनुसार उनले सजाय पाइसकेका छन । तर हवाई टिकट काट्ने रकम नहुँदा उनी जेलको छिडिमा दिन कटाइरहेका छन् ।
 
हरिनारायणले नविनलाई मलेसिया पठाउन करिब डेढ लाख रुपैयाँ ऋण खोजेका थिए । काठमाडौंको क्रोमो मेनपावरलाई चार वर्ष अगाडि एक लाख दश हजार रुपैयाँ बुझाएर नवीन मलेसिया आएका हुन् । नवीनले मलेसिया आएपछि केही समय पठाएकै कम्पनीमा काम गरे तर नेपालमा मेनपावरले भनेजस्तो नभएपछि उनी कम्पनी छाडेर अन्यन्त्र काम गर्न थाले ।
 
आफू आएको ऋण जसोतसो तिरे । अब कमाएर केही गर्छु है भन्ने बेलामा काम गरेको ठाउँमा अध्यागमनले छापा मार्दा उनी पक्राउ परे । नविन जेल परेको थाहा पाएपछि वुवाले उनलाई नेपाल ल्याउनको लागि निकै प्रयास गरे । गाउँको जान्ने बुझनेकोमा पुगे तर कतैबाट पनि भनेजस्तो सहयोग पाएनन् । ऋण खोजेर भए पनि छोरा झिकाउने प्रयास गरे तर कसैले पनि विश्वास गरेनन् । साहुले जग्गा बन्धकी नराखी ऋण दिन नमानेको उनी बताउँछन् ।
 
नवीनले जेलभित्रैबाट गाउँको साहुलाई फोन गरेर नवीनले फोन गरेर नेपाल फर्किएपछि बाबुछोराले नै साहुको काम गर्न बस्ने भनेपछि ऋण पाएका छन् । ‘छोरा आउछ भनी जे सर्त मान्न पनि तयार छौं’ ५५ वर्षका हरिनारायण भन्छन् ।
 
Published on: 19 June 2018 | Onlinekhabar

Back to list

;