s

छोरो इराकमा बित्यो, बुवा कतारमा मूर्छित

प्रदीप मेन्याङ्बो


रोजीरोटीको खोजीमा इराक पुगेको एकमात्र छोरो जीवन सुनुवार दुर्घटनामा परेर बितेको थाहा पाएपछि खाडीको कतारमा काम गरिरहेका बुवा वेदबहादुरले मन थाम्नै सकेनन् । कम्पनीबाट छुट्टी नपाएपछि तीन महिनाको तलब माया मार्दै घरपरिवारको शोकमा सामेल हुन गाउँ आइपुगेका छन् । 'गत चैत ४ गते बासरा भन्ने सहरमा कार दुर्घटनामा छोरो बितेको जानकारी आयो तर उसको शव कहिले आउने हो, अरू प्रक्रिया के रहने हो, केही जानकारी पाएका छैनौं,' घरको डिलमा बसिरहेका बुवा वेदबहादुरले भावुक मुद्रामा भने । गर्भवती श्रीमतीलाई छाडेर तीन वर्षअघि धन कमाउन इराक पुगेका श्रीमान जीवनको मृत्यु भएको खबरलाई २३ वषर्ीया श्रीमती गुना सुनुवारले अझै पत्याउन सकेकी छैनन् । पारिवारिक सम्बन्ध भएका एक दलाललाई अघि २ लाख ८० हजार रुपैयाँ बुझाएर इराक गएका थिए । 'श्रीमान इराक गएको दुई महिनामा यता छोरो जन्म्यो, म सासू-ससुराको आडमा बसेकी छु,' गुनाले भनिन्, 'अबको जीवन कसरी गुजारा गर्ने होला ?' छोरा जीवनको मृत्युको खबर सबैभन्दा पहिले उनका बुवा वेदबहादुरले कतारको एउटा स्टिल कम्पनीमा काम गरिरहेका बेला पाएका थिए । 'छोरासँग त्यो बिहानमात्रै फोनमा कुरा भएको थियो, त्यसबेला उसले भिसा लगाउन कुवेत बोर्डर बासरा सहर जाँदैछु भनेको थियो,' बुवा वेदबहादुरले भने । छोरासँग फोनमा कुरा गरेको तीन दिनपछि मात्रै छोराको इराकस्थित साथी निश्चल सुनुवारले 'जीवन अब यो संसारमा रहेन' भनेर खबर दिएको थियो । यो खबर सुन्नासाथ कम्पनीमा काम गरिरहेका बुवा त्यहीं मूर्छित बनेका थिए । जीवनलगायतका केही धराने युवालाई मुख्य एजेन्ट श्रीकुमार राईले इराक पुर्‍याएको सुनुवार परिवारले बताए । मृतक जीवनका बुवा वेदबहादुरका अनुसार धनकुटाका सहायक एजेन्ट बमबहादुर थापाले इराक लैजानेबारे चाँजोपाँजो मिलाएका थिए । श्रीकुमार त्यसबेला इराकमै कार्यरत रहेका थिए भने इराक जान लाग्ने झन्डै तीन लाख रुपैयाँ शुल्क राईका धरान बस्ने श्रीमती शान्ता राई -लिम्बू) लाई हातमा बुझाएका थिए । मासिक नौ सय डलर तलब पाइने लोभ देखाएर प्रतिबन्धित भूमिमा काम गर्न पुर्‍याएपछि जीवनसहित झन्डै ३ सय नेपाली एउटा कम्पनीमा मासिक २१ हजार रुपैयाँका तलब बुझेर निर्माण कम्पनीमा काम गर्न बाध्य बनेका थिए । धरानको गाउँबाट चर्को ब्याज उठाएर धन कमाउन इराक पुगेका जीवनले फर्केर घर आउन सक्ने अवस्था नरहेपछि स्थानीय नेपाली दलाललाई एक हजार डलर बुझाउँदै एउटा होटलमा वेटर काम गर्दै थिए । वेटर काममा भने उनले मासिक साढे चार सय डलर तलब लिने गरेका थिए । तीन वर्षसम्म काम गर्दा करिब ६ लाख ८० हजार रुपैयाँ कमाएर घरमा पठाए पनि आफूले लिएको ऋणको चर्को ब्याज र ब्याजको दोब्बर ब्याज तिर्नैमा त्यो पैसा खर्च भयो । 'पराइभूमिमा छोरो मरेको खबर सुनेलगत्तै यसबारे आधिकारिक निकायबाट खबर आउँछ होला भन्ने सोचेको थिएँ तर कतैबाट केही खबर आएको छैन । उसको शव कसरी, कहिलेसम्म आउने हो त्यो पनि थाहा हुन सकेको छैन,' उनले भने । छोरालाई इराक लैजाने मुख्य एजेन्ट जीवनको शव नेपाल पठाउन आफूले पनि सहयोग गर्ने भनेर इराकबाट फोनमा जानकारी दिएका छन् । जीवनसँगै कास्की, खिस्ती नाच्नेचौरका प्रकाशबहादुर खत्रीको पनि कार दुर्घटनामा परेर उपचार क्रममा रहँदै चैत ६ गते निधन भएको थियो । 

 

Published on:  31 March 2013 | Kantipur

 

 

Back to list

;