s

छात्रवृत्तिको अवसर

कृष्ण ज्ञवाली

अस्ट्रेलिया पढन चाहनेका लागि छात्रवृत्ति पनि अर्को सहुलियत हो । विश्वका आकर्षक रोजाइमा परेका सरकारी हुन वा निजी, अस्ट्रेलियन विश्वविद्यालयले आअफ्नै शैलीमा छात्रवृत्ति उपलब्ध गराएका हुन्छन् । अवस्था हेरी यसरी छात्रवृत्ति पाउनेहरूले ट्युसन फी, जाने र त्यसपछि सेटल हुनका लागि लाग्ने खर्चदेखि स्वास्थ्य उपचारको खर्च पनि पाउँछन् । तर अस्ट्रेलियाको भिसा पाउने कुल विद्यार्थीमध्ये ५ प्रतिशतले पनि छात्रवृत्ति पाउने अवस्था नहुने परामर्शदाताहरू बताउँछन् ।

विभिन्न विश्वविद्यालयले आआफ्नै ढंगले छात्रवृत्ति उपलब्ध गराइरहेका हुन्छन् । जस्तो अस्ट्रेलियाको सनसाइन युनिभर्सिटीले क्रस कल्चरल स्कलरसिपको व्यवस्था गरेको छ । अन्य केही विश्वविद्यालयले विषय, क्षेत्र र विधाअनुसार कोटा छुट्याएका हुन्छन् त केहीले विभिन्न महादेशका विद्यार्थीलाई अनुपात मिलाएर आरक्षण गरेका हुन्छन् । तयारीमा रहेका विद्यार्थीले आफूलाई अद्यावधिक गरेर आवश्यक कागजातको तयारी गर्नुपर्ने परामर्शदाताको सल्लाह छ ।

'अस्ट्रेलिया इन्डेभोर अवार्ड' नामक छात्रवृत्ति विद्यार्थीले व्यावसायिक र प्राज्ञिक सबै तहमा त्यहाँको सरकारले वितरण गर्छ । 'यसमा पनि संसारभरका विद्यार्थीले आवेदन गर्न पाउँछन्,' उनले भने । त्यहाँको सरकारले नै 'अस्टेूलिया लिडरसिप अवार्ड' नामको छात्रवृत्ति पनि उपलब्ध गराउँछ । त्यसका लागि पनि विद्यार्थीले आवेदन गरेर प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धामा अब्बल निस्कने विद्यार्थीलाई सरकारले अस्ट्रेलिया आउने/जाने, खाने, बस्नेलगायत सम्पूर्ण खर्च बेहोर्छ । यस्तै यहाँका टास्मानिया, सिक्यु, चाल्र्स डार्बिन, सनसाइन कोस्टलगायत विश्वविद्यालयले मेरिट वा कल्चरल छात्रवृत्ति उपलब्ध गराउँछन् । सामान्यतया प्लस टु र ब्याचलरमा ७५ प्रतिशत अनि सीजीपीए प्रणालीमा भए तीनभन्दा माथि स्कोर गर्ने विद्यार्थी छात्रवृत्ति आवेदनका लागि योग्य मानिन्छ । जस्तो कि ट्जमेनिया युनिभर्सिटीले ब्याचलरमा ६० प्रतिशत ल्याउनेलाई २५ प्रतिशत छुट दिने गरेको छ । यस्तै डिप्लोमा स्तरमा पनि सोही हाराहारीमा छुट हुन्छ । नेपालमा प्लस टु गरेका तथा त्यो अनुसार अस्ट्रेलियामा ब्याचलरका लागि क्वालिफाइड नभएका कतिपय कोर्समा डिप्लोमा स्तरको कोर्ष अध्ययन गराउने गरिन्छ । त्यसपछि मात्रै विद्यार्थी ब्याचलरका लागि योग्य मानिन्छन् । पोस्ट ग्राजुएटका लागि केही फरक व्यवस्था छ । त्रिभुवन वा काठमाडौं विश्वविद्यालय हो भने फस्ट डिभिजन वा सीजीपीएमा तीन स्कोर गर्ने विद्यार्थीले करिब २५ प्रतिशत छात्रवृत्ति पाउँछन् । अरू विश्वविद्यालयका हकमा भने केही बढी स्कोर गर्नुपर्छ । पूर्वाञ्चलका लागि ३ दशमलव ५ वा ७० प्रतिशतको हाराहारीमा अंक ल्याएको हुनुपर्छ । प्रायः निजी विश्वविद्यालयहरूले आआफ्नो नीति,  तौरतरिका तथा मापदण्डअनुसार विद्यार्थीलाई छात्रवृत्तिको कोटा निर्धारण गरेका हुन्छन् । निजी विश्वविद्यालयहरूले बढी आंशिक छात्रवृत्तिलाई प्राथमिकतामा राखेका हुन्छन् । तुलनात्मक रूपमा सरकारी कोटा निकै राहतयोग्य मानिन्छ । गासबास र अन्य खर्चको पनि सुविधा भएका यस्ता छात्रवृत्ति पाए विद्यार्थीहरूले पढाइ अवधिभर जागिर पनि खोज्नुपर्दैन । तर सीमित संख्यामा हुने भएकाले यस्तो कोटामा नाम निकाल्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । केही वर्षअघिसम्म एमबीबीएस लगायत प्राविधिक क्षेत्रमा पनि छात्रवृत्तिको कोटा थियो । पढ्न जाने तर नर्फकने लगायत प्रवृत्तिले गर्दा केही कोटा भने पछिल्लो समयमा रद्द गरिएका छन् । सरकारीस्तरको राम्रो मानिनेमध्ये अस्ट्रेलिया अवार्डसका लागि सन् २०१२/१३ का लागि मात्रै करिब साढे तीन सय मिलिडन डलर छुट्याएको त्यसको आधिकारिक वेबसाइटमा उल्लेख छ । क्षेत्रीयस्तरमा कोटा निर्धारण हुने यो छात्रवृत्तिका लागि एसिया क्षेत्रका लागि ६१ प्रतिशत हिस्सा छ । आवेदन दिने नेपालीहरूले पनि यही कोटाअन्तर्गत नै प्रतिस्पर्धा गर्नुपर्छ । आवेदनका लागि अस्ट्रेलिया आवर्डसको वेबसाइटमा नै र्फम र गाइडबुक राखेको हुन्छ । त्यस्ता 'पोलिसी हेन्डबुक' ले आवश्यक योग्यता, विद्यार्थी छनोट प्रक्रिया, छनोट भइसकेका विद्यार्थीले पूरा गर्नुपर्ने सर्तलगायत विषयहरूबारे खुलाइएको हुन्छ । अनलाइनबाटै र्फम भर्ने सुविधा हुन्छ भने कतिपय देशको हार्डकपी मात्रै स्वीकार गर्ने सरकारी नीति हुन्छ । फ्याकल्टीअनुसार कोटा र सहुलियत फरक हुन्छ तर सामान्यतया ब्याचलरको तुलनामा पोस्ट ग्राजुएटका विद्यार्थीका लागि यस्ता छात्रवृत्तिका स्किमहरू बढी सञ्चालन गरिएका हुन्छन् ।

अस्ट्रेलियाको अर्को चर्चित इन्डेभर अवार्ड अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित छात्रवृत्ति हो । सरकारीस्तरबाट नै कोषको व्यवस्था गरी सञ्चालन गरिएको यो छात्रवृत्ति योजनाअन्तर्गत विभिन्न महादेशका विद्यार्थीले उच्च शिक्षाका लागि अवसर पाउँछन् । मेरिटका आधारमा विद्यार्थी छनोट गरिने परिपाटीअनुसार सन् २०१४ का लागि सोमबारदेखि जुनसम्मका लागि आवदेन खुला गरिएको छ । अनलाइनबाटै आवेदन दिन मिल्ने यो छात्रवृत्तिका लागि कम्तीमा १८ वर्षको हुनुपर्ने छ भने थप सर्त र मापदण्ड पूरा गरेको हुनुपर्छ । आवेदन दिनेले स्कोर र फ्याकल्टी उल्लेख भएको कागजात पेस गर्नुपर्छ । विभिन्न विधामा झन्डै पाँच सयको हाराहारीमा कोटा हुने यो छात्रवृत्ति पाएमा विद्यार्थी आफैंले भिसा शुल्क बेहोर्नुपर्छ । छात्रवृत्तिका लागि आवेदन दिनेहरूमा एउटा निश्चित खालको प्रवृत्ति देखिने गरेको जानकारहरू बताउँछन् । नेपालबाट एउटा क्षेत्रमा अध्ययन पूरा गरेको विद्यार्थीले अस्ट्रेलियामा त्यही दायरालाई फराकिलो पार्नुको साटो नयाँ विषय छान्न खोज्ने प्रवृत्ति छ । पीआरका लागि बढी अंक ल्याउन उनीहरूले त्यही अनुकुल हुने र सजिलै अंक आउन फ्याकल्टी रोज्न खोज्छन् । यसबाट उनीहरूले नेपालमा आर्जन गरेको ज्ञान उपयोगहीन भएको हुन्छ भने फेरि अर्को विषयमा सुरुदेखि नै अध्ययन गर्नुपर्ने झन्झट सुरु हुन्छ । केही राम्रा विश्वविद्यालयले आकर्षक छात्रवृत्ति राखे पनि त्यसमा प्रतिस्पर्धा गरेर जानुको साटो औसत विश्वविद्यालयमा भर्ना हुन खोज्ने परिपाटी ज्यादा छ । जसरी पनि सेटल हुने बाहनामा पूर्वाधार नै नभएका र भर्खरै खुलेका विश्वविद्यालयमा जाने परिपाटी ज्यादा छ । त्यसपछि पढाइ र कामको बोझले उनीहरू तनावमा हुन्छन् । किनकि अस्ट्रेलियामा न्यूनतम आवश्यकता परिपूर्ति गर्न कम्तीमा मासिक १८ हजार डलर खर्च लाग्ने आँकडा छ । नेपालीहरू भने आधाभन्दा कम खर्चमै पनि निर्वाह गर्न सक्छन् । आफ्नै खर्चमा पढ्न खोजे कम्तीमा वाषिर्क ३२/३५ लाखको हाराहारीमा खर्च लाग्ने परामर्शदाताहरू बताउँछन् । त्यसको साटो राम्रो अंक ल्याएकाहरूले प्रतिस्पर्धाबाट छात्रवृत्ति कोटामा आफूलाई पार्न सक्ने हो भने कामको तनावबाट मुक्त भई आरामले अध्ययन पूरा गर्न सक्छन् ।

Published on: 2 April 2013 | Kantipur

Back to list

;