s

चारमा एकले मात्र तालिम लिए

कामको खोजीमा विदेशिने एक चांैथाई कामदारले मात्र अभिमुखीकरण तालिम लिने गरेका छन्। वैदेशिक रोजगारीका लागि पछिल्लो सात महिनामा २ लाख ६३ हजार गएकामा ६९ हजार ६ सय १० ले मात्र अभिमुखीकरण तालिम लिएको उल्लेख छ। पहिलो पटक विदेश जाने कामदारले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्छ।

विदेशको काम, ट्राफिक नियम, मौसमलगायत विभिन्न कानुन र नियमको बारेमा कामदारलाई जानकारी दिने उद्देश्यले तालिम दिइन्छ। वैदेशिक रोजगार विभागले प्रभावकारी अनुगमन नगर्दा ठूलो संख्यामा तालिम नै नलिई कामदार विदेशिएका हुन्।

विभागले भने एकचोटी आएर पुन विदेश जाने कामदारले तालिम लिनु नपर्ने भएकाले तथ्यांक मेल नखाएको जनाएको छ। विभागका शाखा अधिकृत उपेन्द्र न्यौपानेले अभिमुखीकरण तालिम पहिलो पटक विदेश जाने कामदारका लागि मात्र भएको बताए।

विभागको तथ्यांकमा सात महिनामा पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ९० हजार ९ सय ९१ छ। व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाने र पहिला श्रम स्वीकृती नलिई पछिल्लो पटक श्रम स्वीकृती लिने कामदार ४४ हजार ६ सय ८९ जना भएपनि विभागको तथ्यांकसँग मेल खाँदैन। विभागले धेरैले तालिम लिएर थोरै कामदार विदेश गएको हुन सक्ने भन्दै तालिम लिने सबै विदेश नजाने बताएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले विदेशबाट फर्केर पुनः जाने कामदारलाई थप अभिमुखीकरण तालिम दिँदा राम्रो हुने बताए। 'यहाँका अभिमुखिकरण संस्था प्रमाणपत्र मात्र बेच्ने गरेका छन्,' उनले भने, 'विभागले कुनै अनुगमन र कारवाही गर्दैन।' विभागको तथ्यांक मेल नखानुमा लापरवाही भएको वा अनुगमन नै नगरी अद्यावधिक गरिएको हुनसक्ने वाग्ले बताउँछन्।

अभिमुखीकरण तालिम दिने एक सय एक संस्था छन्। विभागले ७ महिनामा जम्मा २७ संस्थामा मात्र अनुगमन गरी २१ वटालाई स्पष्टीकरण सोधेको छ, १५ वटालाई निलम्बन गरेको छ।

Published on: 24 February 2014 | Nagarik

Back to list

;