s

चार नेपाली १० महिनादेखि इन्डोनेसियाको जेलमा

छिस्ती-७ की सुविना परियार १० महिनादेखि पतिको बाटो हेरिरहेकी छन्। धन कमाउन अस्ट्रेलिया हिँडेका डम्बरबहादुर इन्डोनेसियामा पक्राउ परेपछि उनी न भोक न निद्रामा छिन्। पति जेल परेको लामो समयसम्म पनि नफर्किएपछि उनको चिन्ता बढेको छ। 

'अस्ट्रेलिया जाँदा इन्डोनेसियामा समातिनुभएछ,' उनले भनिन्, 'नेपाल फर्काइदिन सरकारसँग हारगुहार गर्दा पनि सुनुवाइ भएन।'

मलेसियाबाट प्रशस्त धन कमाउने आशमा गैरकानुनी ढंगले अस्ट्रेलिया हिँडेका चार युवा पोहोर कात्तिकमा इन्डोनेसियामा पक्राउ परेको आफन्तहरूले बताएका छन्। पक्राउ पर्नेमा बाग्लुङका परियारसहित नवलपरासी बर्दघाटका राजकुमार श्रेष्ठ, मोरङका लक्ष्मी सुनार र प्रकाश पुरी छन्।

धेरै पैसा कमाउने आशमा दलालको प्रलोभनमा परेर अस्ट्रेलिया जाँदा इन्डानेसियामा पक्राउ परेको राजकुमारकी दिदी मन्जु श्रेष्ठले बताइन्। 'दलालले गैरकानुनी बाटोबाट सात जनाको समूहलाई अस्ट्रेलिया हिँडाएको रहेछ,' उनले टेलिफोनमा भनिन्, 'नियमविपरीत जान लागेको थाहा पाएपछि समातेछ।' तीन जना भागेर फेरि मलेसिया फर्किए पनि भाइसहित चार जना इन्डोनेसियामा समातिएको उनले बताइन्।

रोजगारीका लागि मलेसिया पुगेका उनीहरू दलालले अस्ट्रेलिया पुर्याहउने आश्वासन दिएपछि पाँच-पाँच लाख तिरेर हिँडेका थिए। चार युवा विदेशको जेलमा भए पनि स्वदेश फर्काउन अहिलेसम्म सरकारले पहल नगरेको आफन्तको गुनासो छ।

'मलेसियामा काम गर्दागर्दै त्यहाँभन्दा धेरै कमाइ हुने भनेपछि जोखिम मोलेर अस्ट्रेलिया जान आँट्दा यस्तो अवस्था भयो,' सुविनाले भनिन्, 'मलेसियामा कमाएको रकम पनि सकियो। थप डेढ लाख घरबाट पठाएका हौं।'

गत कात्तिकमा जेल परेका उनीहरूले पटक-पटक उद्धार गर्न आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन्। धन कमाउन विदेशिएका आफन्त जेलमा परेपछि परिवार निकै चिन्तित छन्। पीडितका आफन्त प्रहरी, प्रशासन, परराष्ट्र धाउँदा हैरान छन्।

परराष्ट्र मन्त्रालयमा पटकपटक निवेदन दिए पनि अझै सुनुवाइ नभएको छिस्तीकी सुविनाले बताइन्। 'कस्टडीमा परेको खबर आएपछि गाविस, प्रशासनको निवेदन बनाएर परराष्ट्रमा निवेदन दिएका हौं,' उनले भनिन्, 'यत्रो महिनासम्म पनि पत्तोखबर छैन।'

मलेसियामा काम गर्ने डम्बरले श्रीमती सुविनालाई पनि मलेसिया बोलाएका थिए। तर बिरामी परेपछि ६ महिनापछि नै उनी फर्किएकी थिइन्। 'मलेसिया छँदा भिसा पठाएपछि ६ महिना मलेसियामा काम गरें,' उनले भनिन्, 'म बिरामी भएर नेपाल फर्किएँ।' श्रीमती फर्किएपछि आफूले कमाएको र थप डेढ लाख रुपैयाँ घरबाट पठाइदिएर पाँच लाख तिरेर उनका पति अस्ट्रेलिया हिँडेका थिए।

छोरो विदेशको जेलमा परेको खबरले बाबु धन बहादुर पनि आत्तिएका छन्। 'छोरो आउला भन्दाभन्दै एक वर्ष पुग्न लाग्यो,' उनले भने।

Published on: 29 August 2012 | Nagarik 

Back to list

;