s

चेलीबेटी बेचबिखनका नयाँ रुट

चेलीबेटी बेचबिखनका दलालले पछिल्लो समय बर्दियाको सीमा–नाका बढी प्रयोग गर्ने गरेको पाइएको छ। जिल्लाका विभिन्न नाका चेलीबेटी भारत पुर्याबउने 'नयाँ रुट' का रूपमा प्रयोग गरिएका छन्। 

दुई साताअघि प्रहरीले भारततर्फ बेच्न लैजाँदै गरिएका ४ महिलालाई लौकाहीनजिकबाट उद्धार गरी सेवाकेन्द्र पठाएको थियो। तिनमा भक्तपुरका तीन र चितवनका एक महिला थिए। उनीहरूका साथमा प्रहरीले चेलीबेटी बेचबिखनमा सक्रिय कञ्चनपुरका प्रदीपकुमार भण्डारी र सिन्धुपाल्चोकका उत्तरबहादुर रावतलाई पक्रिएको थियो। 
प्रहरीप्रमुख वीरेन्द्रकुमार बस्याल बर्दियाको नाका हुँदै भारत लैजाँदै गरिएका महिलाको उद्धार र दलाल पक्राउ पर्ने क्रम दिनहुँ बढेको बताउँछन्। ‘महिला बेचबिखनमा संलग्न दलालले यहाँका सीमानाकालाई नयाँ रुट बनाइरहेका छन्,’ उनी भन्छन्।
गत सोमबार मात्रै प्रहरीले सीमास्थित टेपरी गाउँबाट बेच्न लैजाँदै गरिएका आठ महिलाको उद्धार गरेको छ। टेपरीका सीताराम थारू ८ महिला लिएर बोर्डर पुगेको थाहा पाएपछि प्रहरीले पिछा गरेको थियो। प्रहरीप्रमुख बस्यालले नागरिकसँग भने, ‘घरमा थुनेर राखिएको अवस्थामा महिलाको उद्धार गर्यौंप।' थारूलाई प्रहरीले होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।
छिमेकी जिल्लाका तुलनामा सुरक्षित हुने अनुमानमा दलालहरूले लौकाही नाका प्रयोग गरेको स्थानीय बताउँछन्। ‘स्थानीय सचेतनाका कारण अहिले नेपालगन्ज–जमुनाहा नाकामा कडाइ गरिएको छ,' उनीहरू भन्छन्, 'सीमावर्ती गाउँ भएकाले दलालले लौकाही नाकालाई सहज मानेका हुन सक्छन्।' 
बर्दियाको सीमाक्षेत्र ७८ किलोमिटर छ, जहाँ दुई दर्जनभन्दा बढी अवैध नाका छन्। सरकारले मान्यता नदिए पनि यहाँबाट निर्बाध आवतजावत भइरहन्छ। प्रहरीको उपस्थिति एकदमै पातलो हुन्छ। यस्ता नाकामा मानव बेचबिखनको जोखिम बढी हुने यससम्बन्धी क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि बताउँछन्। सीमास्थित जमुनी, लौकाही, निसानगाढालगायत नाका मानव बेचबिखनका हिसाबले उच्च जोखिममा रहेको देखिन्छ।

Published on: 13 February 2014 | Republica

 

Back to list

;